बजारमा टिमुरको माग बढ्दै, जङ्गलमा खेर जाँदै

bimbonline बिम्ब अनलाइन
२०८० कात्तिक १७ १२:२५ बजे

बाजुरा । जिल्लाबाहिरका विभिन्न बजारमा टिमुरको माग बढ्दै गएको बेला बाजुराका अधिकांश जङ्गल वारीमा भने टिमुर त्यतिकै खेर जाने गरेको छ ।  यहाँका स्थानीयले टिमुरका बारेमा खासै चासो नदेखाउँदा विभिन्न वनजङ्गलमाआफैँ फलेको  वारीमा लगाएको टिमुरमा त्यत्तिकै खेर जाने गरेको हो । 

घरमा प्रयोग गर्नका लागि थोरै ल्याउने गरेको भए पनि बजार बिक्री गर्ने गरी टिमुर टिप्ने नगरेको छेडेदह गाउँपालिका–२, जयवागेश्वरीका स्थानीय बने रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा बिक्री हुँदैन । बाहिर लिएर बेच्न सकिँदैन । त्यसैले यता कसैले टिमुर नटिपेपछि त्यत्तिकै खेर जाने गरेको हो ।”बजारमा प्रतिकिलो दुई सयदेखि तीन सय रुपियाँ पर्ने टिमुरको मेहनत गरे अनुसार मूल्य नपाउँदा टिप्नै छोडेको रोकायाले बताउनुभयो । बाजुरामा टिमुरको मूल्य राम्रो नहुँदा यहाँका अधिकांश स्थानीयले सामान्य तरिकाले घरमा प्रयोग गर्न मात्र टिप्ने गर्दछन् । 

तर बजारमा बेच्नका लागि खासै नटिप्ने गरेको स्थानीय बताउँछन् । हिउँदको महिना रुघाखोकी लागेको बेला ताँतो पानीसँगै टिमुरको धुलो हालेर खाने गरेपछि रुघाखोकी निको हुने गर्छ । त्यति मात्र होइन अहिले प्रत्येक दिनमा खाना र चटनीमा पनि टिमुर प्रयोग हुँदै आएको छ । नेपालमा वार्षिक सरदर एक हजार दुई सय किलो टिमुरको तेल उत्पादन हुने अनुमान गरिएको छ । एक हेक्टर जग्गामा दुई हजारदेखि चार हजार किलो टिमुर फल्ने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ  ।गोरखापत्र अनलाइन


२०८० कात्तिक १७ १२:२५ बजे

प्रतिक्रिया