दशै विदा सकिए पनि अधिकाश कर्मचारी अनुपस्थित, प्रशासनले स्पष्टीकरण माग्ने

bimbonline बिम्ब अनलाइन
२०८० कात्तिक १४ २०:१० बजे

डडेल्धुरा । दसैं बिदा सकिए पनि सरकारी कर्मचारी कार्यालयमा नआउने गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले मंगलबार छड्के अनुगमन गरेको छ ।जिल्लास्थित सरकारी कार्यालयमा मंगलबार प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेको निर्देशनमा छड्के अनुगमन गरिएको हो । प्रशासनले २९ कार्यालयमा छड्के अनुगमन गर्दा २९ कार्यालयका एक सय ७३ जना कर्मचारी अनुपस्थित रहेको पाइएको छ । ती मध्ये डडेल्धुरा अस्पतालका मात्रै ९२ जना रहेका छन । जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा चन्द्रबहादुर रोकायाका अनुसार अनुगमनका क्रममा नौ कार्यालयका कार्यालय प्रमुख समेत अनुपस्थित रहेको पाइएको छ ।

अनुपस्थित रहने कार्यालय प्रमुखमा यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख हर्ष रोका, स्वास्थ्य कार्यालयका प्रमुख केशरबहादुर साउँद, ग्रामीण उद्यम तथा आर्थिक करिडोर कार्यालयका प्रमुख द्रोण बुढाथोकी, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यालयका प्रमुख ध्रुवराज जोशी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख गणेशकुमार रोका, जिल्ला आयुर्वेद कार्यालयका प्रमुख निशान्त शर्मा, पूर्वाधार विकास कार्यालयका प्रमुख नवराज रावल, नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराका प्रमुख रमेश अवस्थी र प्रदेश कोलिनिकाका प्रमुख चेतराज जोशी रहेका छन ।

कार्यालयमा उपस्थित नभएका कर्मचारीलाई प्रशासनले अनुपस्थित हुनुको कारण सहित तीन दिन भित्र स्पष्टीकरण दिन भनेको छ । 


२०८० कात्तिक १४ २०:१० बजे

प्रतिक्रिया