बङ्गलादेशमा विपक्षी दलका नेता पक्राउ

bimbonline बिम्ब अनलाइन
२०८० कात्तिक १३ ०७:५९ बजे

बङ्गलादेशका प्रमुख प्रतिपक्षी दलका नेता आइतवार बिहान पक्राउ परेका छन् । तीन महिनापछि हुन लागेको चुनावअघि प्रधानमन्त्रीविरुद्ध आयोजित विशाल विरोध प्रदर्शनको एक दिनपछि उहाँलाई पक्राउ गरिएको हो । बङ्गलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मिर्जा फखरुल इस्लाम आलमगिरलाई प्रशासनका अधिकारीहरूले पक्राउ गरेका छन् । अस्ट्रेलियामा रहेकी आलमगिरकी छोरी शमारुह मिर्जाले एएफपीलाई भनिन्, ‘उहाँलाई प्रहरीले हिरासतमा राखेको छ ।’ढाका मेट्रोपोलिटन प्रहरीका प्रवक्ता फारुक हुसेनले उहाँको गिरफ्तारीबारे आफूलाई जानकारी नभएको बताउनुभयो ।

बीएनपीका अध्यक्ष एवम् दुई पटक प्रधानमन्त्री बन्नुभएकी खालिदा जियालाई पक्राउ गरेर जेल सजाय दिइएपछि र उहाँका छोरा बेलायतमा निर्वासनमा परेपछि बीएनपीका महासचिव ७५ वर्षीय आलमगिरले पार्टीको नेतृत्व गर्दै आउनुभएको छ । सन् २०२० मा १७ वर्षको जेल सजायबाट रिहा भएपछि जिया नजरबन्दमा बस्दै आउनुभएको छ । प्रदर्शन स्थलमा रहेका एएफपीका पत्रकारहरूका अनुसार बीएनपी र सबैभन्दा ठूलो इस्लामिक पार्टी जमात–ए–इस्लामीले शनिवार गरेको विरोध प्रदर्शन यस वर्षको अहिलेसम्मको ठूलो भएको बताएका छन् । साथै आउँदो जनवरीमा हुने आमचुनावभन्दा अघि भएको विरोध प्रदर्शन नयाँ चरण भएको बताइएको छ । 

बङ्गलादेशका दुई प्रमुख विपक्षी पार्टीका एक लाखभन्दा धेरै समर्थकले एउटा तटस्थ सरकार मातहत स्वतन्त्र र निष्पक्ष मतदानको अनुमति दिनका लागि प्रधानमन्त्री शेख हसिनालाई पदबाट राजीनामा दिन माग गर्दै विरोध प्रदर्शनमा भाग लिएका थिए । बङ्गलादेशका संस्थापक नेताकी छोरी हसिना १५ वर्षदेखि सत्तामा हुनुहुन्छ । उहाँले कुल गार्हस्थ्य उत्पादनको मामिलामा बङ्गलादेशमा तीव्रताका साथ आर्थिक विकास गर्नुभएको छ तर मुद्रास्फीति बढेको छ । उहाँको सरकारमाथि भ्रष्टाचार र मानव अधिकार उल्लङ्घनको आरोप लागेको छ । 

हिंसाको विरोधमा बीएनपी र जमात–ए–इस्लामी दुवै पार्टीले आइतवार देशव्यापी हडतालको आह्वान गरेका छन् । आइतवार राजधानी ढाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ तथा हजारौँ प्रहरी र अर्धसैनिक सीमा सुरक्षा फौजले सडकमा गस्ती गरिरहेका छन् ।एएफपी


२०८० कात्तिक १३ ०७:५९ बजे

प्रतिक्रिया