केन्द्रीय पुस्तकालयको चौबीसै घण्टा सेवा

bimbonline बिम्ब अनलाइन
२०८० कात्तिक १२ १९:५७ बजे

काठमाण्डौ। काठमाडौं र सार्वजनिक बिदाको दिन र साँझ बिहानको समयमा पुस्तकालय बन्द हुँदा अध्ययन गर्न नपाउने समस्यम भोगिरहनु भएको छ भने अब चिन्ता नगर्नुस् । सबैले जुनसुकै समयमा अध्ययन गर्न पाउने गरी त्रिभुवन विश्वविद्यालयले केन्द्रीय पुस्तकालय सातै दिन चौबीसै घण्टा सञ्चालन गर्न थालेको छ ।

सामाजिक सन्जालको बढ्दो प्रयोगका कारण पठन संस्कृति कम हुँदै गएको अवस्थामा त्रिविले गरेको यो व्यवस्थाले कामकाजी मानिसलाई सहयोग त पुग्ने छ नै, पाठकमा पुस्तकालय पुगेर अध्ययन गर्ने बानीको पनि विकास हुने विश्वास गरिएको छ ।पुस्तकालय ज्ञानको भण्डार हो । विद्यार्थीको ज्ञान, शिक्षा र अनुसन्धानमा थप वृद्धिका लागि पुस्तकालयले धेरै मद्दत गर्छ । तर, पछिल्लो समय विज्ञान प्रविधिको विकास र सामाजिक सञ्जालको बढ्दो प्रभावले मानिसमा पुस्तकालय गएर अध्ययन र खोजी गर्ने बानी घट्दै गएको छ ।

उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीमा पढ्ने बानी कम हुँदै जाँदा उत्तीर्ण प्रतिशतमा समेत असर पर्न थालेपछि त्रिभुवन विश्वविद्यालयले पठन संस्कृति र अनुसन्धानमा वृद्धि होस् भने उद्देश्यले केन्द्रीय पुस्तकालय सातै दिन चौबीसै घण्टा सञ्चालनमा ल्याएको छ ।बिदाको दिनसहित चौबीसै घण्टा पुस्तकालय खुल्न थालेपछि अध्ययन गर्न आउनेको संख्या पनि बढेको छ । अध्ययनका लागि अहिले दैनिक १ हजारको हाराहारीमा पुस्तकालय आउने गरेका छन् । साँझ र रातिको समयमा पनि पुस्तकालय खुल्दा सहयोग पुगेको विद्यार्थी बताउँछन् ।

त्रिवि केन्द्रीय क्याम्पस स्ववियुको पहलमा गरिएको यो व्यवस्थाले अनावश्यक रुपमा सामाजिक सञ्जालमा भुल्नुको सट्टा पुस्तकालय आइ अध्ययन गर्न तथा ज्ञान बढाउन सहयोग पुग्ने अपेक्षा छ ।पुस्तकालयमा विश्वविद्यालयमा अध्ययन हुने सबै विषयका पुस्तक र सन्दर्भ सामग्रीसहित बाह्य महत्वपूर्ण पुस्तक तथा ग्रन्थ गरी ४ लाख ३० हजार पुस्तक छन् । पुस्तकालयमा ९७ कर्माचारी दरबन्दी रहे पनि हाल ३० जना मात्र कार्यरत छन् ।


२०८० कात्तिक १२ १९:५७ बजे

प्रतिक्रिया