कति घातक छ टाटु

bimbonline बिम्ब अनलाइन
२०८० कात्तिक ९ ०८:३२ बजे

काठमाडौं। विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित देशका युवामाझ प्रचलित टाटुको लोकप्रियता न्यून आय भएका देशका सबै वर्गमा समेत विस्तार भएको छ तर लोकप्रिय टाटु कतिको सुरक्षित छ ?

धेरैजसो मानिस के ठान्छन् भने टाटुमा  प्रयोग गरिने रङ वनस्पतिबाट बनाइएकाले त्यसबाट स्वास्थ्यमा असर पर्दैन तर सत्य फरक छ, टाटुमा प्रयोग भइरहेको अधिकांश रङ कृत्रिम हुन्छ । केहीलाई गह्रौँ धातु त केहीलाई प्लास्टिकले बनाइन्छ । रङ मिसाइने वस्तु अर्थात् द्रवको मुख्य आधार प्रायः पानी भए पनि त्यसमा इथाइल अल्कोहल हालिएको हुन्छ । यस  रसायनले स्नायु प्रणालीमा असर पार्छ । यसले बच्चामा बौद्धिक क्षमता घट्ने र व्यावहारिक समस्या आउने तथा वयस्कमा स्मरण ह्रास, कलेजोको रोग र क्यान्सरको खतरा देखिएको छ ।

यसै गरी रङ घोलिने द्रव अन्य घातक रसायन मिथायल अल्कोहल, आइसोप्रोपेल अल्कोहल, इथेलिन ग्लाइकोल, मेथानोल, फर्मेल्डिहाइड, डेनाट्युरेड अल्कोहल आदि मिसाइन्छ । यी सबै रसायनको सम्बन्ध गम्भीरस्वास्थ्य विकाससँग हुने गर्छ ।मिथाइल अल्कोहल बारम्बार सम्पर्कमा आए छाला फुट्ने र सुक्खा हुने, कलेजो विकृत हुने, टाउको दुख्ने, आलस्यता तथा मृत्युसम्मको खतरा हुन्छ । यसै गरी मेथनोलले स्नायु प्रणालीमा असर पार्न सक्छ ।

आइसोप्रोपेल अल्कोहलका कारण छाला चिलाउने तथा आँखा, नाक, घाँटीमा समस्या आउने र टाउको दुख्ने र आलस्यता जस्ता समस्या देखिन्छ । फर्मेल्डिहाइडले गर्दा आँखा रसाइरहने तथा आँखा, छाला, नाक, घाँटी पोल्ने, सिँगान बग्ने, वाकवाकी लाग्ने लगायत क्यान्सरको खतरा औँल्याइएको छ ।अमेरिकामा खाद्य तथा औषधी व्यवस्थापन प्रशासनले कुनै पनि खालको रङलाई छालामा प्रत्यारोपित गर्न अनुमति दिएको छैन । तापनि छालामा  टाटुको माध्यमबाट रङ हाल्ने काम भइरहेको छ ।

त्यहाँको क्यालिफोर्निया राज्यमा त टाटु कलाकारले आफ्नो ग्राहकलाई टाटुको रङमा घातक गह्रौँ धातु मिसिएको हुन  सक्ने र त्यसले क्यान्सर उत्पन्न गर्ने भनी सचेत पार्नुपर्ने कानुनी प्रावधान नै राखिएको छ ।अचम्मको कुरा के छ भने टाटुको रङ राखिएको भाँडामा त्यसमा प्रयोग गरिएका रसायनको बारेमा उल्लेख गर्नुपर्ने अनिवार्यता देखिँदैन । त्यसैले ती रङमा क्यान्सरसम्म गराउन सक्ने तत्व रहेको जानकारी टाटु कलाकारलाई  पनि  थाहा हुँदैन ।

टाटुको रङमा मात्र समस्या छैन । टाटु बनाउन प्रयोग गरिने सुईले एचआइभी, हेपाटाइटिसलगायतका रोग सर्ने खतरा पनि उत्तिकै हुन्छ ।टाटुको मेसिनले प्रतिमिनेट तीन हजार पटक छाला गोद्ने गर्छ । सिउने मेसिनसरह नै टाटु मेसिनले काम गरेर गोदेर प्वाल परेको स्थानमा रङ भर्दै जान्छ । यसले परेको घाउ प्रायः चाँडै निको हुने भए पनि सङ्व्रमणको खतरा टरेको हुँदैन ।टाटु बनाउने बेला त घातक रसायनले रगतमा प्रवेश पाउने खतरा रहन्छ नै टाटु हटाउँदा ती रसायन सोझै  रगतमा पुग्ने भएकाले एक पटक टाटु बनाइहाल्नुभएको छ भने त्यसलाई त्यत्तिकै छाड्दा  राम्रो हुन्छ ।

टाटुको रङ बनाउन प्रयोग गरिने घातक धातुमा पारो, लेड, बेरिलियम, क्याडमियम, आर्सेनिक तथा एन्टिमनी, आइरन अक्साइड, कोबाल्ट, निकेल, आल्मुनियम आदि हुन् । यिनीहरूको सम्बन्ध मधुमेह, मुटुको रोग, स्नायु प्रणालीमा समस्या, हर्मोन असन्तुलन, क्यान्सर, उच्च रक्तचाप, सास बढ्ने लगायतका खतरनाक विकारसँग देखिएको छ । 


२०८० कात्तिक ९ ०८:३२ बजे

प्रतिक्रिया