हल गोरु पाल्ने किसानलाई जनही चार हजारका दरले पोषण अनुदान

bimbonline बिम्ब अनलाइन
२०८० कात्तिक ३ १९:४६ बजे

दमौली।तनहुँको म्याग्दे गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप पोषण अनुदान वितरण गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८० र ८१ को ‘हलगोरु पोषण अनुदान कार्यक्रम’अन्तर्गत हल गोरु पाल्ने किसानलाई अनुदान वितरण गरेको हो ।पालिकाले सातवटै वडाका किसानलाई एक हल गोरुबापत जनही चार हजारका दरले रकम वितरण गरेको पशु सेवा शाखा प्रमुख डा. विनय शाहले जानकारी दिए । उनका अनुसार सबै वडाका गरी तीन सय ६७ कृषकलाई रू १४ लाख ६८ हजार रकम वितरण गरिएको छ ।

वडा नं १ का एक सय चारलाई रू चार लाख १६ हजार, वडा नं २ का २९ लाई रू एक लाख १६ हजार, ३ का नौ जनालाई रू ३६ हजार, ४ का ४२ लाई रू एक लाख ६८ हजार, ५ का ५३ जनालाई रू दुई लाख १२ हजार, ६ नं वडाका ७१ लाई रू दुई लाख ८४ हजार र ७ नंका ५९ लाई रू दुई लाख ३६ हजार वितरण गरिएको शाहले जानकारी दिए । उनले भने, “वडाबाट प्राप्त विवरणको आधारमा वडागतरूपमा लाभान्वित हुने कृषकका लागि दसैँमा रकम प्रदान गर्ने योजनाबमोजिम उक्त रकम वितरण गरिएको हो ।”



२०८० कात्तिक ३ १९:४६ बजे

प्रतिक्रिया