डडेलधुरा । स्थानीय कैनी समुदायका महिला, पुरुष दसैँखर्च जुटाउन निगालोबाट बनाइएका सामग्री बेच्न बजार हिँड्न थालेका छन् । अमरगढी नगरपालिका–७, तिलाडी गाउँका कैनी समुदायको परम्परागत पेसा निगालो तथा बाँसका सामग्री बनाउने हो ।
यस समुदायका महिला, पुरुष वर्षमा दुई पटक ठुलो मात्रामा निगालो र बाँसका सामग्री बनाई बेच्नका लागि जिल्लाको विभिन्न गाउँबस्तीमा पुग्ने गरेका छन् । दसैँअगाडि र नयाँ वर्ष (बिसु) पर्वमा यस समुदायका स्थानीय विभिन्न गाउँ गाउँ पुग्ने गरेका छन् । पहिला तराईका जिल्लाहरू कैलाली र कञ्चनपुरका विभिन्न गाउँ पुग्नेहरू हाल भने डोटी जिल्लाका गाउँ डुल्दै निगालो र बाँसका सामग्री बेच्ने गरेको स्थानीय लक्ष्मण कैनीले बताउनुभयो । बजारमा प्लास्टिकका सामग्री भित्रिएपछि खाद्यान्न भण्डारण र कृषि उपज, घाँस, मल ओसारपसार गर्न प्रयोग गरिने निगालो र बाँसका सामग्रीले बजार पाउन छोडेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार निगालोबाट खाद्यान्न भण्डारण गर्न डुरो (भकारी), अन्न केलाउन सुपो, रोटी राख्न छाप्रो, घाँस एवं मल ओसारपसार गर्न डोकोडालोको प्रयोग हुँदै आएको छ तर हिजोआज भने यी सामग्रीहरूको बजार खुम्चिँदै गएको बताइएको छ । कतिपय जिल्लामा यी सामग्रीको बजार नभए पनि छिमेछी डोटीका गाउँमा अझै यस्ता केही सामग्री बिक्री हुने गरेको बताइएको छ । डोकोडालो, छाप्रो, सुप्पो पाँच सयदेखि आठ सय रुपियाँ र डुरो तीन हजारदेखि चार हजार रुपियाँमा बेच्न सकिन्छ ।
परम्परागत रूपमा निगालोका सामग्री बनाउँदै आइरहेका कैनी समुदायले अहिले आफूले बनाएका सामग्री बेच्न गाडीमा लैजाने गरेका छन् । असार महिना यता बनाइएका सामग्री अहिले बेच्ने गरेको अर्का स्थानीय लोक कैनीले बताउनुभयो । अहिले बाली भित्याउने समय भएकाले पहिलेको तुलनामा थोरै भए पनि निगालोका सामग्री बेचिने गरेको उहाँले बताउनुभयो ।
यतिबेला यस्तै सामग्री बेचेर दसैँतिहारखर्चको जोहो गर्ने गरेको उहाँको भनाइ छ । बाँस, निगालोका सामग्री व्यावसायिक बन्न नसक्दा लोप हुने स्थितिमा पुगेको स्थानीय टीका पार्कीले बताउनुभयो । यस्तै मलखाद, घाँस, दाउरा, सोत्तर बोक्न बाँस, निगालोका डोको प्रयोग गरिन्छ । उहाँले भन्नुभयो, तर आजकाल प्लास्टिकका कट्टाको प्रयोग बढ्दो छ । तिलाडी गाउँका करिब दुई सय परिवारले पुर्खौंदेखि बाँस तथा निगालोका सामग्री बनाई गाउँघरमा बिक्री गरेर गुजारा गर्दै आइरहेका छन् । वनजङ्गलमा निगालो पाउन मुस्किल हुन्छ । स्थानीय नारायण कैनीले भन्नुभयो, यसको खेती पनि गर्न सकिएको छैन । बजारमा सहजै पाइने सिल्बर, स्टिल, जस्तापाता एवं प्लास्टिकका भाडाले यो पेसा सङ्कटमा पर्न थालेको छ ।
सरकारले स्थानीय उत्पादनलाई प्रवर्धन नगरेका कारण आफ्नो पेसा सङ्कटमा पर्न थालेको बुझाइ कैनी समुदायको छ । घर, कार्यालयमा आवश्यक सबै सामग्री बाँस, निगालो, बेतबाट बनाउन सकिन्छ । जुन वातावरणमंत्री पनि हुन्छन् । घरभित्र प्रयोग हुने सामग्रीको आयु वर्षौंसम्म हुन्छ, उहाँले भन्नुभयो ।
स्थानीयलगायत तीन तहका सरकारले यसको प्रवर्धनका लागि कुनै योजना नै बनाउँदैनन् । उत्पादित सामग्री पनि खरिद गर्दैनन् । यसले गर्दा पेसा सङ्कटमा पर्नुका साथै बेरोजगारी वृद्धि भइरहेको उहाँको भनाइ छ । वन जङ्गलमा प्रशस्त बाँस, निगालो, बेत रोपेर स्थानीयको परम्परागत सिपलाई आधुनिकीकरण गर्दै स्थानीय उत्पादनलाई उपयोग गर्न सके पेसा जोगिनुका साथै बेरोजगारी हट्ने स्थानीय अगुवाहरू बताउँछन् ।
घर तथा कार्यालयमा प्रयोग हुने कुर्सी, र्याक, दराज, टेबुल र अन्न भण्डारणका वस्तु, डस्टबिन, फोटो फ्रेम, हाइकिङ ट्रेकिङका लागि लौरीलगायत दैनिक जीवन उपयोगी सामग्रीहरू बाँस तथा निगालो र बेतबाट बनाउन सकिन्छ । गोरखापत्र अनलाइन
प्रतिक्रिया