प्रभु साहकी पत्नीको पद गुम्यो

bimbonline बिम्ब अनलाइन
२०८० असोज ३० १३:०६ बजे

रौतहट।रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहको पद गएको छ । निर्वाचन आयोगले आज सार्वजनिक सूचना निकालेर उनको पद रिक्त भएको जानकारी दिएको हो । साहले गत स्थानीय तहको निर्वाचनमा एमालेबाट चुनाव जितेकी थिइन् । तर,उनले सो पार्टी परित्याग गरी प्रभु साह नेतृत्वको आम जनता पार्टीको सदस्यता लिएको पाइएपछि राजनीतिक दलसम्बन्धी नियमावली, २०७४  नियम २२ को उपनियम (२) बमोजिम उनी निर्वाचित भएको पद स्वतः रिक्त भएको आयोगले जनाएको छ । 

सूचनामा भनिएको छ, ‘रौतहट मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनाकुमारी साह अन्य दलमा प्रवेश गरेको भनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) नामक राजनीतिक दलको केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी प्राप्त हुन आएकोले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम निज निर्वाचित भएको पद स्वतः रिक्त भएको जानकारी गराइन्छ ।’

रिनाकुमारी माओवादी हुँदै एमाले बनेका र हाल आम जनता पार्टीको अध्यक्ष रहेका प्रभु साहकी पत्नी हुन् । प्रर्भु शाहले संघीय चुनावमा एमालेबाट बिद्रोह गरी स्वतन्त्र उठेर सांसद जितेका थिए ।


२०८० असोज ३० १३:०६ बजे

प्रतिक्रिया