बुढी आइमाई र झण्डाको खिस्सा

bimbonline रोशन जनकपुरी
२०८० असोज २७ ०९:१३ बजे

जनकपुर।  जाडो याममा शहिद दिवस ।दिनभरी भाषण भीषण । शहिदले यो गरे, शहिदले त्यो गरे । शहिद महान । ‘आज देश जहाँ छ, तिनै शहिदहरुको बलिदानको कारण हो ।’‘।।फलाना, चिलाना, ढिस्काना‘।।

स्वतन्त्रता र समृद्धिको सपना । नेताजीको महानता । गाडी र कार्यकर्ताको जुलूस । सडकहरु गुँजीरहे दिनभरी, मन्त्रीजी, जो नेतापनि छन्, उनको जयजयकार र संगसंगै शहिदहरुको नाराबाट ।

भव्य मञ्चमा बिराजमान मन्त्रीजी, तल सामू बसेका मानिसहरुलाई हेरेर एकनासले मुस्काई रहेका थिए । तल बसेका मानिसहरुलाई मन्त्रीजी उनिहरुलाई नै हेरेर मुस्काईको लाग्थ्यो, त्यसैले उनिहरुले पनि आ–आफ्ना किसिमले अभिवादन, सलाम र नमस्कार गरिरहेका थिए । मञ्चमा बस्नुको यति फाइदा त छ, तपाँईले जता हेरेपनि, तल मञ्च सामू बसेकाहरुलाई तपाँई उनिहरुतिर हेरेको लाग्छ । भीडमा पसेका मन्त्रीजीका स्थानीय कारिन्दाहरु बीच बीचमा नारा लगाई रहेका थिए —“मन्त्रीजी जिन्दाबाद ।” र उत्साहित भीडले दोहोर्याउँथ्यो —“जिन्दाबाद । जिन्दाबाद ।।”

दिनभरी चल्यो कार्यक्रम । चौबाटोमा मन्त्रीजीले विशाल झन्डा फहराए । चीसो हावाको झोँकाले झन्डा फर्फराउन थाल्यो —‘फरर’ । सबैको अनुहारमा गर्वभाव थियो । मन्त्रीदेखी सन्तरीसम्मले झन्डालाई सलामी दिए — ‘सतर्क । गोडा फार । सलामी दे । ’

देश जिन्दाबाद । शहिद अमर रहुन । मन्त्रीजी जिन्दाबाद ।

तक्मा बाँडियो । मिठाई बाँडिए ।

मानिसहरुको भीडभन्दा केही परबाट एकजना बुढी आइमाई एकनासले झन्डालाई हेरिरहेकी थिइन् । विशाल आकारको झन्डा, सारा घर नै ढाक्ने जस्तो । ठिहिरिँदो चीसो हावासंग जुध्दै फर्फराई रहेको झन्डालाई हेरेर, त्यस बुढी आइमाईको आँखामा खुशी भाव थियो । त्यसैबेला कसैले उसको हातमा एउटा लड्डू राखि दियो—“लिनु बुढी आमा, लडडू १”

यस्ता सडकछाप बुढा–बुढीहरु, बुढा–बुढी मात्र हुँदैनन् । यिनीहरु राष्ट्रिय अवसर र समारोहहरुमा, सरकार, मन्त्री, घरेलु नेता र उनका कार्यकर्ताहरुको निम्ति सहृदयता देखाएर ठुलो पल्टने साधनपनि हुन्छिन् । यस्ता अवसरहरुमा यी सडकछाप बुढा–बुढीहरुको तस्वीर मन्त्री र नेताहरुसंग पत्रपत्रिका र टीभीमा छापिन्छ । यतिभएपछि मन्त्रीजी बडो दयालु, सुहृदयी र जनप्रिय छन् भनेर जनतामा प्रभाव पर्छ ।

मन्त्रीजीको धुँआधार भाषणको बीचमै पच्छिममा सूर्य अस्तायो । शहिद दिवस सकियो । मानिसहरु आ–आफ्ना गाउँ–ठाउँतिर फर्किए । चौबाटो क्रमशः शान्त हुँदै गयो । अब छिप्पिँदो रातसंगै चीसोपनि छिप्पिँदै गैरहेको थियो ।

कहिलकाँही निस्तब्धता भङ्ग गर्दै हुँइकिएको गाडीको स्वर । होइन भने, निस्तब्ध चौबाटो, हाडलाई भित्रैसम्म ठिहिर्याउँदो जाडो, ती बुढी आइमाई र फर्फर आवाज गरिरहेको झन्डा मात्र थियो त्यहाँ ।

बुढी आइमाई चौबाटोको पूर्वतर्फको तलाउको डीलमा रहेको बर्साती (पोखरीको डीलमा बनाइएको आश्रयस्थल)मा बस्थिन् । गर्मीमा त यस बर्सातीमा थुप्रै मानिसहरु सुत्ने गर्थे, तर जाडो याममा धेरैजसो ती बुढी आइमाई एक्लै हुन्थिन् । अत्यधिक चीसोले गर्दा बुढी आइमाईलाई ठिहिरिएर मुटु नै फुटने हो कि जस्तो भै रहेको थियो । उनले यताउताबाट केही प्लास्टिक र केही दाउराका साना टुक्राहरु जम्मा पारिन । कम्मरबाट सलाई झिकेर झ्वार्र पारिन् । आगो बल्यो । तातोपनाले उसलाई केही सन्तोष भयो । समयको हन्डर खाएर पातलिएको फाटेको गदेल्ला (लुगाफाटो हालेर सिइएको डसना) आधा ओछ्याएर, आधा ओढेर उनी बर्सातीमा पस्रिइन । न्यानोको आसमा एउटा कुकुरपनि सरेर उनको छेउमा आएर बस्यो ।

यो आगो धेरैबेर टिक्दैन भनेर उनलाई थाहा थियो । न्यानो मधुरो हुँदैगएसंगै जाडोले फेरी उनको मुटु कमाउन थाल्यो । उनले सडकमा यता–उता परपरसम्म राम्ररी चियाइन । दुबैतिर परपरसम्म सुनसान थियो, कोही थिएन । उनी चौबाटोमा पुगिन । चक्कुले झन्डाको डोरी काटीदिइन । झन्डा भुइँमा झर्यो । उनले झन्डा खोलेर आफुसंगै लिएर आइन् ।

तीन दोब्बर पट्याएपनि, ठुलै थियो झन्डा । बुढीआइमाई त्यसैमा गदेल्ला बेरेर ओढिन र भुइँमा ढलिन । अब आगो कतिबेर टिक्छ भनेर उनलाई मतलब थिएन । गदेल्ला र झन्डा मिसाएपछि पाएको न्यानो मस्तको थियो । बुढी आइमाई आज छिटै मस्त निदाइन ।

एकाबिहानै चौबाटोमा हंगामा । झन्डा गायब ।

रातीको डिउटीबाला हबल्दार, मातहतको प्रहरीजवानमाथी खनियो —“साला, गयो मेरो जागीर ? मा‘स्साला खोज । भेट्टाएपछि सालेलाई झन्डा नबनाए कहाँ छाड्छु म ?”

‘कुनै आतंकवादी थियो कि रु’ ‘कुनै पृथकतावादी थियो कि रु’ चारैतिर फोन बज्न थाल्यो । बीच चौबाटोबाट झन्डा कसरी चोरियो रु रिपोर्ट तलबाट माथी गयो । तत्कालै माथीबाट तलसम्म आदेश जारी भयो । ‘जसरी भएपनि झन्डा पत्ता लगाइयोस । झन्डाचोरमाथी राज्यद्रोहको मुद्दा चलाइयोस । कस्को लापर्वाही थियो रु त्यसलाईपनि नछाडियोस ?’

हबल्दारले प्रहरीलाई आमाचकारी गर्यो —“साला, तँ कहाँ थिइन ? अब गयो तेरो र मेरो जागीर ?”

झन्डा चोरिएको रात, धेरै चिसोभएर डिउटीको प्रहरी सामुन्नेको मन्दिरमा भित्तामा अडेस लगाएर केही बेरलाई निदाएको थियो । प्रहरी जवानको दोष यत्ति थियो ।

अकस्मात कसैले भन्यो —“झन्डा ओढेर त एकजना बर्सातीमा सुतेको छ ।”

हबल्दार, प्रहरी र अरु मानिसहरु बर्सातीतिर दौडिए । हो रहेछ ?

हबल्दारले लट्ठीले घोच्यो —“उठ् मा‘।।”

बुढी आइमाई धेरै दिनपछि यसरी आरामसाथ मस्त निदाउन पाएकी थिइन् । लट्ठीले तीनपटक घोचेपछि मात्रै ब्युँझिन् । गदेल्लाबाट मुख उघारेपछि उनले आफूलाई चारैतिर प्रहरी र अन्य मानिसहरु घेरेर उभिएको हेरिन् ।

झन्डामुनिबाट बुढी आइमाई निस्केको देखेर झन्डाचोरलाई ‘झन्डा’ बनाउने हबल्दारको मनसुबा त्यसै सेलायो । रिसले मुर्मुरिएर हबल्दारले सडकमा लट्ठी बजार्यो — “हैट, साला ।” यो बुढी आइमाईलाई उसले कसरी ‘झन्डा’ बनाउनु ? तरपनि कडकेर उसले भन्यो —“ झन्डा ओढने बेला डर लागेन ? लगाउँ चार डन्डा ?”

“धेरै जाडो थियो हल्दार साहेब ”— बुढी आइमाईले निरीह स्वरमा भनिन ।

हबल्दारको मुखाकृति हेर्न लायक थियो । उसले आफ्नो कपाल लुछोस, कि टाउको फुटाओस  माथी रिपोर्ट गरियो । पक्रेर हाजिर गराउने आदेश आयो 

सिडियो र एसपी सामू बुढी आइमाईलाई हाजिर गराइयो ।

“झन्डा खोल्ने बेला डर लागेन तिमीलाई ?”— सिडियोले कडकेर सोध्यो ।

“जाडो धेरै थियो हजूर  अनि झन्डाको कपडा धेरै बाक्लो थियो । र मसंग कुनै न्यानो लुगापनि छैन ? बस्ने घरपनि छैन ।‘सडकमा धेरै जाडो हुन्छ हजूर ”— बुढी आइमाईले लामै जबाब दिइन् ।

“त्यसो भए झन्डा नै खोलेर ओढने हो त ?—सिडियो रिसायो ।

“के गर्नु त हजूर । जाडोले मुटु ठिहिरेर मन थाम्नै सकिन ”—बुढी आइमाईले विवशता व्यक्त गरिन् ।

“राष्ट्रिय झन्डालाई सम्मान गर्नुपर्छ भन्ने तँलाई था’छैन ? कानून लाग्छ ।”— दिक्दार स्वरमा सिडियोले भन्यो ।

“जाडो धेरै थियो हजूर ?”— बुढी आइमाईले सिडियोलाई परिस्थिति बुझाउने प्रयत्न गरिरहेकी थिइन् ।

“यिनी निरक्षर, गँवारले के जान्नु सम्मान र कानुन ? भो, छाडनुस ”— एसपीले सिडियोलाई सम्झाउन खोज्यो —“यस्ती बुढीलाई पनि सजाय पनि के दिनु ”

बुढी आइमाईको इच्छा थियो, कसैले उसलाई सोधोस —‘बस्ने घर किन छैन ? सडकमा किन बस्छौ ? सडकमा कसरी आयौ ?’ तर सिडियो–एसपीहरुलाई यस्तो प्रश्नहरुसंग के को मतलब हुनु । उनीहरु त कानुनका रक्षकहरु हुन् । कानुनको रक्षा गर्छन् । र, त्यसैले उनीहरुले बुढी आइमाईसंग यस्तो केही सोधेनन् ।

बुढी आइमाईलाई छाडियो । तर उसको झन्डा खोसियो । दयालु सिडियोले आफ्नो पैसाबाट किनेर उसलाई एउटा ओढने च्यादर दियो । तर यो झन्डाभन्दा सानो थियो । झन्डा ठूलो थियो । तीनदोब्बर पट्याएरपनि ओढन सकिन्थ्यो । उसको झन्डा खोसिएकोमा बुढी आइमाई दुःखी थिइन् । त्यस झन्डामा गदेल्ला बेरेपछि त क्या मस्तको न्यानो हुने । झन्डा सम्झेर उसको मन धेरै दुखेको थियो ।

अर्को वर्ष । फेरी जाडोयाम आयो । फेरी शहिद दिवस मनाइयो । फेरी मन्त्रीजीको भाषण–भीषण भयो । जयजयकार भए । मिठाई बाँडिए । झन्डा फहराइयो ।

यस पटकपनि बुढी आइमाई चौबाटोमै उभिएकी थिइन् । ठिहिरिने हावामा फर्फराई रहेको झन्डालाई, यसपल्टपनि उनी हेरिरहेकी थिइन् । हाड कमाउने जाडोले उनलाई यसपटकपनि बेचैन बनाइरहेको थियो । तर यस पटक भने, झन्डा देखेर उनको आँखामा कुनै अपेक्षा र भाव थिएन । यो झन्डा चीसो हावामा फर्फराउँदै, हावाको थपेडा सहँदै, धुजाधुजा भएर उडन सक्छ, तर कसैलाई न्यानो दिन सक्दैन, भन्ने कुरा उनले थाहा पाईसकेकी थिइन् । बुढी आइमाईले अब केही अर्कै सोँची रहेकी थिइन् । यस्तो, जस्मा बेरिएर न्यानो पाएर निश्चित हुन सकियोस । बुढी आइमाईले मनमनै सोँचिन् —“यो पनि कुनै झन्डा हो ? झन्डा त त्यो हो, जस्लाई ओढेर न्यानो पाउन सकियोस, र फहराउन सकियोस ”




२०८० असोज २७ ०९:१३ बजे

प्रतिक्रिया