नयाँ जनवादी क्रान्तिको आधार तयारपार्न सँयुक्तमोर्चाको आवश्यकता - सन्तवहादुर नेपाली महासचिव नेकपा(मशाल)

देश अब युवायुवतीहरू विदेश पैठारी गर्ने कारखानामा परिणत भएको छ

bimbonline बिम्ब अनलाइन
२०८० असोज २१ ०८:०८ बजे

काठमाण्डौ। क्रान्तिकारी सयुक्त मोर्चाले २०८० असोज १९ गते काठमाण्डौमा आयोजना गरेको  आन्दोलनका लागी सयुक्त मोर्चा विषयक अन्यक्रिया कार्यक्रममा नेकपा(मशाल)का महासचिव सन्तवहादुर नेपाली प्रस्तुत गरेको कार्यपत्रको सम्पादित अँशहरु।

कार्यपत्रमा भनिएको छ अहिलेको  राज्यसत्ता आज दलाल तथा नोकरशाही पुँजीपति वर्गको हातमा रहेको छ । देश नवऔपनिवेशिकरणको दिशामा अगाडि बढेको छ । प्राकृतिक स्रोतसाधन विदेशी शक्तिहरूको हातमा गइसकेकोछ । असमान सन्धि सम्झौताले राष्ट्रिय स्वाधीनता कमजोर भएको छ । राष्ट्रिय उद्योग धन्दाहरूको निजीकरण भएको छ ।देशमा उदार अर्थतन्त्रले गर्दा स्वदेशी उत्पादन ठप्प छ । आयातमुखी अर्थतन्त्रले गर्दा व्यापार घाटा बढेको छ । भूमण्डलीकरणले गर्दा नेपाली बजारमा साम्राज्यवादी शक्तिहरूको वर्चश्व बढिरहेको छ । विदेशी ऋणको बोझ बढेको छ । दलाल शासकहरू आफै मानव तस्करी, अवैध सुन ओसारपसार, सरकारी जग्गा कब्जा, भ्रष्टाचार, कमिशनखोरी, राज्यका हरेक क्षेत्रमा माफियागिरी गरेर देशलाई संसार कै दरिद्रतम देशको स्तरमा पुर्‍याएका छन्। लाखौँको तादादमा बौद्धिक तथा श्रमिक युवाहरूको विदेश पलायन भएको छ । 

गाउँ रित्तिएको छ । देश अब युवायुवतीहरू विदेश पैठारी गर्ने कारखानामा परिणत भएको छ । दुध, तरकारी, फलफूल, अण्डा, मासु, गेडागुडी, धान, मकै, कोदो, फापरदेखि जीरा, धनियाँ, प्याज, लसुन, खुर्सानी, फूल लगायतका वस्तुअन्य देशबाट आयात गर्नु परेको छ । भ्रष्टाचार, घुस, कमिशन त केन्द्रीय सरकारसम्म मात्र होइन अदालत, शिक्षा, बैङ्क लगायत स्थानीय सरकारसम्म पुगेको छ । कार्यालयहरूमा घुस विना सामान्य सिफारिस पनि बन्दैन । बैङ्कहरूले गाउँसम्मका जनतालाई चर्को व्याज लिएर लुटिरहेका छन् । लघुवित्त तथा मिटर व्याजी साहु महाजनहरूले गरिब निमुखा जनतासित सामन्तीकालभन्दा पनि अमानवीय तरिकाले शोषण गर्दै जनतालाई उठिवास लगाई रहेका छन् । विडम्बना त के छ भने यो दलाल पुँजीवादी सरकारलेतिनै साहु महाजनहरूको पक्षमा कानुन बनाएको छ । जसले गर्दा जनताको निम्ति न्यायको ढोका नै बन्द हुँदै गएको छ ।

अमेरिकी साम्राज्यवादले इण्डोप्यासिफिक रणनीति लागु गराउन जबरजस्ती एमसीसी सम्झौता गराएको छ । विभिन्न बाहानामा अमेरिकी सेना देशमा प्रवेश गराएको छ । भारतले लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र आफ्नो नक्सामा सामेल गराएको छ । छिमेकी मित्र राष्ट्र चीनले त्यसलाई कुटनीतिक ढङ्गबाट समर्थन गरेको छ । तर दलाल सरकार त्यसबारे बोल्दैन । सुस्ता लगायत तराईका कैयौँ भूभागहरू तथा पूर्वदेखि कञ्चनपुरसम्ममा जङ्गे पिलर सारेर अतिक्रमण गरेको छ । वर्षौँ पुराना सन्धि सम्झौताहरू खारेज गरिदैन । पुनरावलोकन पनि गरिंदैन । दलाल पुँजीवादी सरकार यी तमाम विषयमा जनताले आवाज उठाउँदा पनि आफ्नो देशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता तथा भूअखण्डताका निम्ति एक रत्ति चिन्ता गरेको पाइँदैन । नागरिकतासम्बन्धी सही र स्थायी नीति नभएका कारणले एकातिर नागरिकहरू देशभित्रै अनागरिक हुनुपर्ने अवस्था छ भने अर्कोतिर राष्ट्रियता र जनसांख्यिक अतिक्रमणको समस्या पनि बारम्बार बल्झिँदैछ । त्यसले गर्दा देश अब केही वर्ष मै फिजीकरण वा सिक्किमीकरण हुने त होइन ? भन्ने शङ्का गर्नुपर्ने अवस्था छ । नेपालको अस्तित्व नै मेटिने सम्भावना छ । देशमा देशी विदेशी प्रतिक्रियावादीहरूले जातीय तथा धार्मिक द्वन्द्व खडा गरेर नेपालीहरूलाई आपसमा लडाउन शुरु गरेका छन्। नेपालीहरूलाई जातीयता र धर्मको नाममा आपसमा लड्न उक्साइदैछं । बजेटको ठूलो रकम केन्द, प्रदेश र स्थानीय सरकारसम्मका मन्त्रीदेखि वार्ड सदस्यसम्म तलव भत्तामा गइरहेको छ । देश र जनताको विकास,समृद्धि हवाई कल्पना मात्र सावित भएको छ। देशका यी समस्याले के बताउँछ भने क्रान्तिका लागि वस्तुगत अधार तयार छ । तर कम्युनिस्ट आन्दोलनका लागि आत्मगत आधार तयार रहेको छैन  भनि कार्यपत्रमा उल्लेख गरिएको छ।

अबको बाटो- संयुक्त आन्दोलन 

जनताले अब के गर्ने ? भन्ने प्रश्न गम्भीर प्रश्न खडा भएको छ । पुराना संसदवादी पार्टीहरू प्रति जनताको विश्वास गुमिसकेको छ । त्यो स्वभाविक पनि हो । किनकि उनीहरू साम्राज्यवादको दलालमा परिणत भइसकेका वा सम्झौतापरस्त भइसकेका छन् । त्यही अवसरलाई आफ्नो पक्षमा पार्नका निम्ति केही नयाँ पार्टीहरू सतहमा देखिएका छन्। उनीहरू पनि दलाल पार्टीहरूको पदचिन्हलाई पछ्याउँदै झन ठूला भरपर्दो दलाल बन्ने सम्भावना छ । निकै छोटो समयमा जनताले उनीहरूको योजनालाई पनि पहिचान गरिसकेका छन्। ठूला राजनीतिक दलहरू नयाँ नयाँ प्रकारका नारा बनाएर जनतालाई भ्रम दिन फेरि जनताबीच जाँदैछन्। एकले अर्कोलाई दोष दिने र आफू चोखो बन्ने पुरानै अभ्यासलाई दोहोराइरहेका छन्। यही मौकालाई राजावादी, पृथकतावादी र साम्राज्यवादीहरूले सत्ता कब्जाको साधन बनाउन खोजिरहेका छन्। त्यसका लागि उनीहरू एक्लै सम्भव नदेखेमा दुई वा तीन पक्ष आपसमा मिलेर पनि अहिलेको प्राप्त उपलब्धिलाई उल्टयाउन सक्छन्र क्रान्तिको प्रवाहलाई समेत रोक्न सक्छन् । यदि यी मध्ये एउटा पक्ष पनि सफल भयो भने देश अनन्तकालका लागि गृहयुद्धमा फस्ने, अधिनायकवाद लाद्ने र देशको अस्तित्व पनि मेटिने खतरा छ । त्यसैले अबको समस्या भनेको साम्राज्यवादी हस्तक्षेप र प्रतिक्रान्तिलाई कसरी रोक्ने र नयाँ जनवादी वा समाजवादी आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने प्रश्न हाम्रो अगाडि उभिएको छ । 

नेपालको सन्दर्भमा कम्युनिस्ट आन्दोलन प्रति जनताको व्यापक समर्थन छ । तर त्यसको उपयोग दक्षिणपन्थी संशोधनवादीहरूले गरिरहेका छन्। ती संशोधनवादीहरू पनि साम्राज्यवादीहरूको दलाली गर्ने, राष्ट्रघात गर्ने र जनताको अधिकार, हित तथा स्वतन्त्रता प्रति उपेक्षा गर्ने गरेपछि वामपन्थी जनमतले कम्युनिस्ट पार्टीहरूप्रति नै वितृष्णा जनाउन र नयाँ अनुहार खोज्न थालेकोछ । त्यसको फाइदा पनि नयाँ जातीय, क्षेत्रीय, धार्मिक र सिद्धान्तहीन, विचारहीन पार्टीहरूले लिन थालेका छन्। यो अवस्थामा देशका सच्चा देशभक्त, जनवादी तथा वामपन्थी पार्टी तथा सङ्गठनहरूको दायित्व के हुने ? आफ्नो नीतिको सर्वोच्चताको  प्रति सन्तोष गरेर बस्ने वा व्यवहारमा नै पहलकदमी गर्ने ? यो अह्म सवाल हाम्रो अगाडि आएको छ । देशका सच्चा देशभक्त, जनवादी तथा वामपन्थी शक्तिहरू कम्युनिस्ट नामका पुँजीवादी संशोधनवादीहरूका विरुद्ध विद्रोह गरेर आएका हुनाले विभिन्न समूह, संस्थाहरू, स्वतन्त्र व्यक्तिको रूपमा वा साना पार्टीको रूपमा निरन्तर जनताको बीचमा रहेर राष्ट्रिय स्वाधीनता र जनताको स्वतन्त्रता र अधिकारका निम्ति अहिले पनि अलग अलग रूपमा काम गरिरहेका छौँ । हाम्रा बीचमा थुप्रै मतभेदहरू छन्। ती विचारहरूको बारेमा कसैसित सम्झौता वा सहमति गर्न एक अर्कालाई दवाव दिने गर्दैनौँ  भनि कार्यपत्रमा भनिएको छ। 

 कार्यपत्रमा अगाडी भनिएको छ कि क. माओले चीनको “क्रान्तिकारी युद्धको रणनीति विषयक समस्याहरू” आलेखमा भन्नु भएको थियो, “युद्धको युद्धबाट विरोध गरिनुपर्छ, प्रतिक्रान्तिकारी युद्धको क्रान्तिकारी युद्धबाट विरोध गरिनुपर्छ, तथा प्रतिक्रान्तिकारी वर्गयुद्धको क्रान्तिकारी वर्गयुद्धद्वारा विरोध गरिनुपर्छ ।” आजको बाटो प्रतिक्रान्तिलाई रोक्नु मात्र होइन, यस प्रकारको प्रतिक्रान्तिलाई सदाको लागि रोक्ने र संसदीय व्यवस्थाको विकल्पमा झनै उच्च, विकसित र वैज्ञानिक व्यवस्था नयाँ जनवाद वा समाजवादका लागि आधार तयार पार्ने हुनुपर्छ । संयुक्त आन्दोलनका लागि संयुक्त मोर्चा त्यसका लागि आवश्यक छ । 

अहिलेको सन्दर्भमा देशको बिङ्ग्रदो अवस्थालाई सही दिशा दिनका निम्ति माक्र्सवादी–लेनिनवादी शक्तिहरूले नै नेतृत्वको पहलकदमी लिनु पर्दछ । त्यसका लागि समान विचार र राजनीति भएका कम्युनिस्ट पार्टीबीच पार्टी एकताको सम्भव भएसम्म त्यसका लागि पहल गर्नुपर्छ, सम्भव नभए देशका जल्दाबल्दा साझा विषयमा कार्यगत एकता, संयुक्त मोर्चा बनाएर जानुपर्छ । संयुक्त मोर्चा, विषयगत मात्र होइन, अपेक्षाकृत लामो समयका लागि कार्यनीतिक संयुक्त मोर्चा बनाउन सकिन्छ । तर गैर संसदवादी पार्टीहरूबीच पनि केही सङ्कीर्णता, केही आशङ्का, केही भ्रम, केही अस्पष्टता आदि पनि विद्यमान छन्। त्यसबारे छलफल गर्दै जानुपर्छ, सत्यको नजिक पुग्ने प्रयत्न गर्नुपर्छ । त्यो तत्काल सुधार हुने कुरा होइन, त्यो अवस्थामा कार्यनीतिक मोर्चा आजको एउटा उपयुक्त बाटो हुन सक्छ । अहिलेकोअवस्था र वर्तमान जटिल परिस्थितिको आङ्कलन गर्दै हामी केही पार्टी, सङ्गठन, समूह, संस्था र व्यक्तित्वहरूको पहलकदमीमा राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको हालै गठन गरेका छौँ । त्यो मोर्चा त्यसमा रहेका घटकहरूको मात्र मोर्चा होइन, त्यो सबै देशभक्त, जनवादी तथा वामपन्थी शक्तिहरूको साझा मोर्चा भएको हुनाले त्यसलाई विस्तार गर्न वा विचारका आधारमा त्यही प्रकारको अझै विशाल मोर्चा बनाउन सकेमा कम्युनिस्ट आन्दोलनप्रति आशाको किरण जगाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ । 

अहिलेको आवश्यकता साम्राज्यवादी हस्तक्षेप र प्रतिक्रान्तिलाई रोक्नु, राष्ट्रिय स्वाधीनताको रक्षा गर्नु, जनअधिकार र स्वतन्त्रताका लागि सङ्घर्ष गर्दै नयाँ जनवादी आन्दोलन वा समाजवादी आन्दोलनका लागि आधार तयार पार्नु हो । त्यसका लागि अलगअलग रहेका हामी क्रान्तिकारी कम्युनिस्टहरू, वामपन्थी र देशभक्तहरू गोलबन्द हुँदै गएर आन्दोलनको नेतृत्व गर्न तयार हुनैपर्छ । आदर्श र विचारको कुरा गरेर मात्र यी सबै कठिनाईमाथि विजय प्राप्तगर्न सकिदैन । कुनै एक वा दुई पार्टीले मात्र पनि आन्दोलन गरेर विजय प्राप्त गर्न सकिंदैन । अहिले ठीक समय आएको छ । हामीले जति विलम्व गर्छौं, त्यति नै समयले नेटो काटिसकेको हुनेछ । आफ्ना विचारहरू कसैबाट स्वीकृतिका लागि आशा गरेर होइन, घनीभूत छलफल, बहस, अन्तक्र्रिया गरेर सत्यको नजिक पुग्ने प्रयास हुनुपर्छ । यो नै अहिलेको वस्तुगत अवस्था हो । यही नै संयुक्त आन्दोलनको मर्म र भावना हुन सक्छ  भनि कार्यपत्रमा उल्लेख गरेका छन। 


२०८० असोज २१ ०८:०८ बजे

प्रतिक्रिया