काठमाण्डौ।महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले केन्द्रीय समिति विस्तार गर्दै ३११ सदस्यीय बनाएको छ।यसरी अजंगको संगठन बनाउने क्रममा लोसपाले १६ जना महासचिव, १५ जना उपाध्यक्ष र ६३ जनालाई पदाधिकारी नै बनाएको छ।२०७९ मंसिरको चुनावमा राष्ट्रिय दलको हैसियत गुमाएको लोसपाको संगठन यति अजंगको छ कि तीन ठूला नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पनि भेट्टाउन सक्दैनन्।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा विवाद भएपछि खोलिएको नयाँ पार्टीले सोमबार गरेको संगठन विस्तारका क्रममा नेताहरुका नातागोतालाई समेत पदाधिकारी पद दिइएको छ। संगठन विस्तारका क्रममा अध्यक्ष ठाकुरले आफ्ना सम्धीसमेत रहेका नेता उमाकान्त झालाई वरिष्ठ उपाध्यक्ष बनाएका छन्। उता ठाकुरकै सम्धिनी एवम् पूर्वसांसद इन्दिरा झालाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ। ठाकुरले आफ्नी छोरी डा. मिनाक्षी ठाकुरलाई पनि केन्द्रीय समिति सदस्य बनाएका छन्।
उता वरिष्ठ नेता बनाइएका शरदसिंहकी छोरी पनि लोसपा नेतृत्वमा आएकी छन्। शरदसिंहकी छोरी सृष्टि सिंह भण्डारीलाई लोसपाले सचिव बनाएको छ।अर्कातिर तीन वरिष्ठ नेतामध्ये एक राजेन्द्र महतोका ज्वाइँ अनिल महासेठलाई महासचिव बनाइएको छ। महतोका भतिजा उपेन्द्र महतो पनि महासचिव बनाइएका छन्।
प्रतिक्रिया