थुनावा महिलामाथि २ पटक बलात्कार, कसैलाई भने २० वर्ष सडाइदिने धम्की

डिएसपी दीपककुमार रायलाई ‘दोषी’ देखाएको छन

bimbonline बिम्ब अनलाइन
२०८० भदौ २४ १४:५० बजे

काठमाडौं– सप्तरीको कञ्चनपुर इलाका प्रहरी कार्यालयको हिरासतमा रहेकी महिलामाथि बलात्कारको घटनामा भएको स्थलगत अध्ययनले डिएसपी दीपककुमार रायलाई ‘दोषी’ देखाएको छ। कर्तव्य जान मुद्दामा प्रहरी हिरासतमा रहेकी ३५ वर्षीया महिलामाथि प्रहरी कर्मचारीबाटै बलात्कार भएको घटना सार्वजनिक भएपछि मानव अधिकारवादी संघसंस्थाहरुले स्थलगत अध्ययन गरेका थिए। 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत मानव अधिकारवादी संघसंस्थाहरुले गरेको स्थलगत अध्ययनअनुसार डीएसपी रायले थुनुवा महिलामाथि २ पटक बलात्कार गरेको पाइएको छ। बलात्कारको कुरा कसैलाई भनेमा २० वर्षसम्म जेलमा सडाइदिने भन्दै डीएसपीले धम्की समेत दिएको अध्ययन प्रतिवेदनमा दाबी गरिएको छ। 

‘मुख थुनी बोल्न कराउन नदिइ जबर्जस्ती करणी गरिएको र पुनः हिरासत कक्षबाट बाहिर कार्यकक्षमा लगेर बलात्कार गरेपश्चात बलात्कार गरेको कुरा कसैलाई भनेमा २० वर्षसम्म जेलमा सडाई दिने भनेर धम्की दिएको  देखिन्छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ। स्थलगत अध्ययन गरेको इन्सेकले घटनाबारे बिस्तृत रूपमा छानबिन गर्न माग समेत गरेको छ। 

कर्तव्य ज्यान मुद्दामा इलाका प्रहरी कार्यालय, कञ्चनपुरको हिरासतमा रहेकी ३५ वर्षीया महिलालाई सोही कार्यालयका डिएसपी दीपककुमार रायले ०७९ चैत ६ गते राती बयानका लागि आफ्नो कार्यकक्षमा बोलाएका थिए। आफ्नो कार्यकक्षमा बोलाएर डीएसपीले २ पटक बलात्कार गरेको देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।  वैशाख १२ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका लागि लगिएका बेला थुनुवा महिलाले आफूमाथि हिरासतमा भएको हिंसाबारे स्वास्थ्यकर्मीहरूलाई बताएपछि  उक्त घटना सार्वजनिक भएको थियो। 

प्रतिवेदन सार्वजनिक गर्दै इन्सेकले प्रहरी हिरासत भित्रै महिला थुनुवा बलात्कृत हुनु गम्भीर प्रकृतिको घटना भएकाले देशभरका सबै प्रहरी कार्यालयअन्तर्गत रहेका महिला थुनुवा कक्षको सुरक्षामा महिला प्रहरी खटाउन समेत माग गरेको छ।




२०८० भदौ २४ १४:५० बजे

प्रतिक्रिया