सुनसरीमा लुटियो प्रहरीकै हतियार

bimbonline बिम्ब अनलाइन
२०८० भदौ २४ ०९:४९ बजे

सुनसरी । सुनसरीको दक्षिणी क्षेत्रमा अपराधिक गतिविधि हुने गुनासो बढेपछि सूचना संकलन गर्न गएका प्रहरीको हतियार लुटपाट भएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बर्जु गाउँपालिका – १ शुक्रबारेमा सादा पोसाकमा खटिएका प्रहरीहरुको हतियार गएराति लुटपाट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

अज्ञात समूहबाट लुटपाट हुने गुनासो आएपछि इलाका प्रहरी कार्यालय दुहबीले प्रहरी जवान विमन परियार र प्रेम चौधरीलाई विशेष अप्रेशनका लागि सो क्षेत्रमा खटाएको थियो । तर गएराति १२ बजेतिर अज्ञातसमूहले उनीहरुलाई आक्रमण गरि हतियारसमेत लुटेका हुन् 

लुटेराहरुले परियार र चौधरीमाथि चिर्पट प्रहार गरेर उनीहरुको साथमा भएको ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लगेका हुन् । लुटेराहरुको समूह ठूलो भएकाले प्रहरीहरु हतियार जोगाउन असफल भएको प्रहरीको भनाइ छ ।

प्रहरी र लुटेरा समूहबीच केही बेर घम्साघम्सीसमेत भएको बताइएको छ । चिर्पट प्रहारका कारण प्रहरीहरु घाइतेसमेत भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


२०८० भदौ २४ ०९:४९ बजे

प्रतिक्रिया