तिङ्करमा बीओपी स्थापना गर्न भारतीय एसएसबीको अवरोध जनप्रतिनिधि सहभागी हुन पाएन्न

bimbonline बिम्ब अनलाइन
२०८० भदौ २१ ०८:४३ बजे

दार्चुला । दार्चुलाको व्यास गाउँपालिकाको वडा १ तिंकरमा सशस्त्र प्रहरीको बीओपी स्थापना लागि  गएका जनप्रतिनिधिलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले  बाटोमै रोकेको छ ।

भारतीय बाटो हुँदै कार्यक्रममा सहभागी हुन गएका महाकाली नगरपालिकाका मेयर नरसिंह चैसिर, व्यास गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी र विद्यार्थी नेता दीपक सिंह खातीलाई भारतीय सीमा सुरक्षाबलले बाटोमै रोकेको हो ।

भारतीय सुरक्षाकर्मी एसएसबीले तिगरम पुलघाट नजिक रौगती भन्ने ठाउँमा तीनै जनालाई जाँच गरी माथि जान नदिएको बताइएको छ । भारतीय सुरक्षाकर्मीले तपाईँहरुलाई अगाडि जान अनुमति छैन भन्दै बाटोमै रोकेको टोलीमा गएका एकजना स्थानीयले बताएका छन्। व्यास गाउँपालिकाको तिङ्करमा आज सशस्त्र प्रहरीको बीओपी स्थापना गरिँदै छ ।

कार्यक्रममा सँगै रहेका सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल, प्रमुख जिल्ला अधिकारी किरन जोशी, सशस्त्रका एसपी डम्बरबहादुर विष्टसहितको टोलीलाई भने भारतीय मोटरमार्ग हुँदै एसएसबीले तिङ्कर जान दिएको उहाँले बताउनु भयो । दार्चुलाको व्यास क्षेत्रमा नेपालको भूगोल भएर आवतजावत गर्ने बाटो नभएकाले भारतीय बाटोकै प्रयोग गर्नु पर्ने बाध्यता रहेको छ । यस क्षेत्रमा जाने नेपाली स्थानीयहरूले भारतीय सुरक्षाकर्मीहरुबाट यस्ता व्यवहार  बेलाबेला खेप्दै आएका छन्।

नेपालीमाथि बारम्बार भारतीय पक्षले ज्यादती गर्दा पनि नेपाल सरकार भने मुकदर्शक बन्ने गरेको छ । भारतीय अतिक्रमित लिपुलेक, लिम्पियाधुरा समेटेर नक्सा जारी गरेपछि भारतीय पक्षले पछिल्लो समय सीमा क्षेत्रमा जाँच तथा आवतजावतमा कडाइ गर्नुका साथै बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी खटाएको स्थानीय बताउँछन्। 


२०८० भदौ २१ ०८:४३ बजे

प्रतिक्रिया