जी–२० को सम्मेलन भारतमा, अमेरिकी राष्ट्रपति आउने सी जिनपिङ नआउने

bimbonline बिम्ब अनलाइन
२०८० भदौ २० ०८:२० बजे

काठमाडौँ ।यतिबेला दिल्लीको चहलपहल बेग्लै छ। टल्किएका सडक, रंगीबिरंगी लाइट, सजाइएका आकासे पुल, अन्डरग्राउन्ड पर्खालमा सुन्दर पेन्टिङ, हराभरा गार्डन र सडक किनारका लगाइएका ठूलाठूला पोस्टर देख्न सकिन्छ। विमानस्थलदेखि सम्मेलनस्थलसम्म सबै सजधज छ।

आगामी शनिबार र आइतबार दिल्लीमा हुने जी–२० शिखर सम्मेलनको तयारी लगभग पूरा भएको भारतीय सञ्चारमाध्ममले उल्लेख गरेका छन्। यस सम्मेलनको थिम वसुधैव कुटुम्वकम् अर्थात ‘संसार एक परिवार’ रहेको छ।

जी–२० ग्रुपमा सामेल १९ देशका राष्ट्रप्रमुख, युरोपियन युनियनका प्रतिनिधि, ९ अतिथि देशका प्रधानमन्त्री एवं राष्ट्रपति दुई दिन दिल्लीमा हुनेछन्। भारतमा एकसाथ यति धेरै राष्ट्रप्रमुख भारत आउने यो पहिलोपटक हो। तर, यसमा नेपाल कहीँकतै सामेल छैन।

सम्मेलनमा आउने अतिथि बस्नका लागि दिल्लीमा करिब २५ पाँचतारे होटल बुक गरिएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेन आइटिसी मौर्याको सर्वाधिक महँगो सुइट चाणक्यमा बस्नुहुनेछ। यसको एक दिनको भाडा मात्रै ८ लाख भारु छ।

अहिले सर्वत्र चासो भनेको चिनियाँ राष्ट्रपति सी जिनपिङको जी–२० शिखर सम्मेलनमा किन आउनुहुन्न भन्नेमा छ। वर्षौंदेखि चीन–भारत सीमा विवाद र हालसालै चीनले जारी गरेको नयाँ नक्सामा भारतका केही भूभाग पनि समेटिएपछि भारतले त्यसको कडा विरोध गरेको छ। यही विवादका कारण पनि सी भारत नआउने अनुमान भएका छन्।

चीनको विदेश मन्त्रालयले सी जी–२० मा शिखर सम्मेलनमा नआउने तर उहाँको साटो प्रधानमन्त्री ली कियाङ आउने खबर भारतलाई दिएको छ। तर, सी भारत नआउनेबारेको कारण भने मन्त्रालयले बताएको छैन।यसैगरी रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि सम्मेलनमा सहभागी हुनुहुने छैन। उहाँले पहिले नै आफू सहभागी नहुने स्पष्ट पार्नुभएको छ।

भारत सरकारले जी–२० मा आउने अतिथिलाई कोदोजन्य परिकार पस्कनेछ। यसबाहेक मिश्रित खाना र स्ट्रिट फुड पनि भारतले चखाउनेछ।मोदी सरकारले अन्तर्राष्ट्रिय रुपमा कोदोजन्य खाद्यान्लाई बढावा दिने कोसिस गरिरहेको छ। संयुक्त राष्ट्र संघले सन् २०२३ लाई इन्टरनेसन मिलेट्स वर्ष घोषणा गरेको छ।



२०८० भदौ २० ०८:२० बजे

प्रतिक्रिया