रोल्पामा जनतासँग वडाध्यक्ष जनश्रमदान कार्यक्रम

bimbonline बिम्ब अनलाइन
२०८० भदौ १८ ०७:३६ बजे

रोल्पा । रोल्पाको एक वडाले जनता संग वडा अध्यक्ष जनश्रमदान भन्ने कार्यक्रम शुरु गरेको छ। रोल्पाको रुन्टिगढि गाउँपालिकाको वडा न. ५ को वडापालिकाले यस प्रकारको कार्यक्रम शुरु गरेको हो ।वडा अध्यक्ष गोबिन्द बहादुर डाँगीका अनुसार जनता संग जनप्रतिनिधिहरु साथमा छन् र आफ्नो गाउँ ठाँउको बिकास गर्नका लागी जनता र जनप्रतिनिधिहरुले पनि जनश्रमदान गर्नुपर्छ भन्ने बानीको विकास गराउनका लागि वडाले यस प्रकारको अभियान तथा कार्यको थालनी गरेको बताए ।

वडा अध्यक्ष डाँगीका अनुसार यस कार्यक्रम कम्तीमा आफ्नो कार्यकालभरि प्रत्येक शनिबार सञ्चालन हुने र जनश्रमदान कार्यक्रममा वडाका सबै जनप्रतिनिधि, विभिन्न आमा समुह, क्लब तथा आम जनताहरुको सहभागीता हुने बताउँदै कार्यक्रममा गाउँमा रहेका आम नागरिकहरुसंग प्रत्यक्ष रूपमा भेटघाट हुनेछ । जनताहरुको पिर मर्का तथा समस्या र गुनासोहरुको बारेमा जानकारी समेत हुने उनले बताए ।

जनश्रमदान कार्यक्रममा वडाका प्रत्येक टोल टोलमा सडक मर्मत, खानेपानी मुहान, सिचाइ कुलो सरसफाइ कार्यका अलावा जनश्रमदान बाट गर्न सकिने सानातिना विकास निर्माण तथा मर्मत सम्भारका कार्यहरु गरिने र यसरी गरिने जनश्रमदान कार्यमा वडाका सबै टोलहरुमा प्रत्येक शनिबार वडाका सबै जनप्रतिनिधिहरुको सहभागिता हुने र टोलहरुमा सम्बन्धित टोलका जनताहरु मात्र सहभागी हुने बताइएको छ ।

यस प्रकारको जनश्रमदान कार्यले आफ्नो गाउँ ठाँउको सानातिना बिकास निर्माण, मर्मत सम्भार तथा सरसफाइ जस्ता कार्यमा माथिल्लो निकायको मुख ताक्ने प्रवृत्तिको अन्त्य हुने र गाउँको बिकासमा स्थानीयहरुमा आफ्नो लगानी तथा कर्तव्यबोधको धारणाको बिकास हुने बताइएको छ। स्थानीय तह २०७९ को निर्वाचनमा उक्त वडामा नेकपा एमालेले जित हासिल गरेको थियो ।



२०८० भदौ १८ ०७:३६ बजे

प्रतिक्रिया