गौराः पर्वको सुदूरपश्चिममा दुइ दिन सार्वजनिक बिदा

bimbonline बिम्ब अनलाइन
२०८० भदौ ७ ०७:१७ बजे

धनगढी । सुदूरपश्चिम प्रदेशमा आज र भोलि दुइ दिन सार्वजनिक बिदा दिइएको छ ।सुदूरपश्चिमेलीको धार्मिक, सांस्कृतिक एवं मौलिक चाड गौरा पर्वका अवसरमा प्रदेश सरकारले भदौ ७ र ८ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

यो सँगै दुई दिन प्रदेशका सबै सरकारी कार्यालय, वित्तीय क्षेत्र, शैक्षिक संस्था लगायतका बन्द रहनेछन् । गौरा पर्व सुदूरपश्चिमको पहाडी समुदायले मनाउने सबैभन्दा ठुलो र महत्त्वपूर्ण पर्व हो ।

गौरा पर्व शुक्ल पञ्चमीका दिन पाँच प्रकारका गेडागुडी भिजाएर तामाको भाँडोमा राखेसँगै विधिवत् रूपमा सुरु हुन्छ । यसलाई बिरुँडा राखेको भन्ने गरिन्छ ।यो पर्वमा विशेष गरी गौरीदेवी र भगवान शिवशङ्करको उपासना गरिन्छ । पौराणिक कालमा हिमालय पुत्री गौरीले कठोर व्रत बसेर भगवान शिवशङ्करलाई पतिका रूपमा पाएको धार्मिक मान्यता रहेकाले गौरा पर्वमा महिलाहरू सौभाग्य प्राप्तिका लागी निराहार व्रत बस्ने गर्दछन् ।

उनीहरूले पाँच प्रकारका वनस्पति जोडेर गौरीदेवीको प्रतिमा बनाएर अष्टमीका दिन गौरा घर वा गौरा मन्दिर भित्राएर पूजा अर्चना गरी सेलाउने प्रचलन रहेको छ ।त्यसै दिन विरुडालाई गौरादेवीको प्रसादका रूपमा बाडेर खाने गरिन्छ । गौरा पर्वमा दैवी गाथा गाउने गरिन्छ भने देउडा खेलेर मनोरञ्जन गर्ने सामाजिक परम्परा रहेको छ ।

यो वर्ष भने सुदूरपश्चिममा गौरा पर्वलाई लिएर केही विवाद समेत सिर्जना भएको छ । जसका कारण केही स्थानमा आज पर्व भएपनि केहीले  यहि २१ गते मनाउने तयारी गरेका छन् ।


२०८० भदौ ७ ०७:१७ बजे

प्रतिक्रिया