अमेरिकाको प्रजातन्त्र लुटेरा र हत्याराहरूको प्रजातन्त्र

bimbonline कृष्णकुमार वैद्य
२०८० भदौ ३ १४:४४ बजे

काठमाण्डौ।   संरा अमेरिका संसारकै प्रजातन्त्रको ठेकेदारको रूपमा आफूलाई स्थापित गर्न चाहन्छ । संरा अमेरिकाको स्वार्थविपरीतका कुनै पनि काम कारबाही उनलाई सह्य हुँदैन । जसले संरा अमेरिकाको आदेश मान्दैन प्रजातन्त्र भजाएर त्यसलाई अनेक प्रकारले नष्ट गर्ने षड्यन्त्र रचिहाल्छ । स्वतन्त्र र सार्वभौम मुलुकभित्र आन्तरिक विद्रोह गराउने, युद्धमा फसाउने र हतियारको व्यापार गर्नेजस्ता सदियौँदेखिको नीतिलाई विश्वले ‘प्रजातन्त्र’ मानिदिनु पर्ने संरा अमेरिकाको कुतर्क हो । यही परिप्रेक्ष्यमा हेर्दा पत्रकार समाज, नेपालद्वारा प्रकाशित अमेरिकाको प्रजातन्त्र ? पुस्तक वर्तमान अवस्थामा झन् सान्दर्भिक हुनेछ ।

सन् २०२१ डिसेम्बर ९–१० मा र सन् २०२३ मार्च २९–३० मा दोस्रो प्रजातन्त्र सम्मेलन (डेमोक्रेसी समिट) संरा अमेरिकाका राष्ट्रपति जो बाइडेनको अग्रसरतामा भयो । अनलाइन माध्यमबाट भएको उक्त सम्मेलनमा एक सय देशका प्रतिनिधि, सयौँ नागरिक अभियान तथा व्यापारिक क्षेत्रका व्यक्तिहरूको सहभागिता रह्यो । भन्नलाई प्रजातन्त्रले सामना गरिरहेको चुनौती र अवसरबारे छलफल भनिए तापनि वास्तवमा अघिल्ला राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा खस्केको संरा अमेरिका र अन्तर्राष्ट्रिय सम्बन्ध सपार्नु थियो । संरा अमेरिका पुराना साथीहरू फकाउन र प्रतिस्पर्धीसँगको सम्बन्ध भत्काउनु नै सम्मेलनको लक्ष्य थियो । त्यसैको लागि पनि संरा अमेरिकाले ‘प्रजातन्त्र’ को मन्त्र जपेको प्रस्ट भएको विषय पुस्तकमा उल्लेख गरिएको छ । यसले संरा अमेरिकाले जप्ने ‘प्रजातन्त्र’ ब्वाँसोले ओढ्ने भेडाको खोल मात्र हो भन्ने पुष्टि हुन्छ ।

कोभिड महामारी, जलवायु परिवर्तन, आर्थिक मन्दीलगायतका चुनौतीहरूको सामना गर्न समृद्धशाली देशहरूबिच सहकार्य हुनुपर्ने बेला कतिपय देशलाई निषेध गरियो । ती देशहरूलाई विपरीत ध्रुवमा विभाजन गरेर संरा अमेरिकाले संसारलाई शीतयुद्धकालतिर धकेल्न खोजिएको छ । यसले पृथ्वीलाई फेरि पनि युद्ध, अशान्ति, ध्वंस, गरिबी र दुःखको दावानलमा परिणत गर्ने आशङ्का पुस्तकमा व्यक्त गरिएको छ ।

नेमकिपाका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पुस्तकको भूमिकामा संरा अमेरिकाको भूगोल, इतिहासलगायतका विषय सिलसिलाबद्ध र सरल भाषामा व्यक्त गर्नुभएको छ । यसमा चिया पार्टी, भिडन्त सुरु, सर्वोच्च कमान्डर जर्ज वासिङ्टन (सन् १७३२–१७९९), स्वाधीनताको घोषणा, बेलायती उपनिवेशवादको विरोधमा सशस्त्र सङ्घर्ष, अमेरिकी स्वतन्त्रताको विजय, गरिबहरूको किसान विद्रोह (सन् १७८६), जर्ज वासिङ्टन अमेरिकाका प्रथम राष्ट्रपति, बेलायती उपनिवेशवादको पराजय, संरा अमेरिका एक नयाँ पुँजीवादी राज्य, अमेरिकी पुँजीवादी शासनको विस्तारवादी चरित्र, मुनरो नीति के हो ?, एकपछि अर्को भूमिमा आक्रमण, दक्षिणमा संरा अमेरिकाको विस्तार, प्रशान्त र पनामामा आक्रमण, पश्चिमतिरको बसोबास र पुँजीवादको विकास, दक्षिणको खेती दासता, मजदुर शोषण र आन्दोलन, उत्तर र दक्षिणको अन्तरविरोध, जोन ब्राउनको विद्रोह ९१८५४–१८५६०, संरा अमेरिका एक साम्राज्यवादी शक्ति, अमेरिकीहरूको निम्ति हवाई सानो ‘स्वर्ग’ हो, क्युवामा अमेरिकी अपराध र संरा अमेरिकाको साम्राज्यवादी चाल शीर्षकमा पुस्तकको विषय प्रवेश गर्नुअघि बुझ्नुपर्ने महत्वपूर्ण नालीबेली पस्कनुभएको छ ।

विषय सूचीअनुसार पुस्तकमा चौध शीर्षकका लेखहरू छन् । प्रजातन्त्र क्षयीकरण भएको देश शीर्षकको लेखमा भनिएको छ, “संरा अमेरिका यस्तो देश हो जहाँ ‘अरू’ लाई उनीहरूको जातको आधारमा कुटपिट वा अपमान गर्नुलाई सामान्य मानिन्छ । संरा अमेरिका त्यस्तो देश हो जहाँ अधिनायकवादीहरू आफू सत्तामा नभए पनि दमनकारी अवस्था बनाइरहेका हुन्छन् ।”

‘प्रजातन्त्र सम्मेलन’ मा चर्चा नगरिने प्रजातन्त्रका कुरा शीर्षकको लेखमा प्रजातन्त्रबारे संरा अमेरिकाको कुरा कुनै टीभी विज्ञापनजस्तै एकोहोरो भएको उल्लेख छ । जहाँ अमेरिकी प्रजातन्त्रबारे राम्रो पक्षको मात्र चर्चा हुन्छ, नराम्रो पक्षको कुरै हुन्न । उसको कुराअनुसार अमेरिकी प्रजातन्त्र कहिल्यै पुरानो हुन्न । हिजो पनि त्यही प्रजातन्त्र चलेको थियो र सधैँ त्यही प्रजातन्त्र चल्नेछ । त्यसमा कुनै सुधार आवश्यक छैन । संरा अमेरिकाको यस्ता कुरा बेतुकको भएको यस लेखले बताएको छ ।

बाइडेनको प्रजातन्त्र सम्मेलनमा पोखिएको पाखण्ड शीर्षकको लेखमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टे र ब्राजिलका राष्ट्रपति जाएर बोल्सोनारो अमेरिकाले आयोजना गरेको प्रजातन्त्र सम्मेलनमा सामेल भए । यो कुनै ख्यालठट्टा नभएको उल्लेख गरिएको छ । लेखको अन्तमा भनिएको छ, “बाइडेन आफैँ पनि गलत दिशामा अघि बढिरहेका छन् । प्रजातन्त्र र तानाशाही शासनबिच कुनै विश्वव्यापी प्रतिस्पर्धा छैन । यो सङ्घर्ष पूर्णतः आन्तरिक हो र अन्यथा अभिनय गर्नु मूर्खता मात्र हो ।”

हाबर्ड केन्नेडी स्कूलको राजनीतिक प्रतिष्ठानले बुधबार संरा अमेरिकाका १८–२९ वर्षका युवाहरूबिच गरेको एक मत सर्वेक्षणको नतिजाले ७ प्रतिशत अमेरिकी युवाहरूमात्र आफ्नो देशमा स्वस्थ प्रजातन्त्र भएको विश्वास गर्ने र ५२ प्रतिशत युवाहरूले त्यहाँ लोकतन्त्र या त समस्यामा रहेको अथवा असफल भएको मत राख्ने गरेको देखाएको अमेरिकी प्रजातन्त्र र युवाहरूको भावना शीर्षकको लेखमा बताइएको छ । लेखका अनुसार आफू हुर्केको परिवेशप्रति दिक्क बनेका ती युवाहरू संरा अमेरिकी व्यवस्था र देशभित्र तथा बाहिरको अमेरिकी नीति मन पराउँदैनन् ।

पीडित अफगान परिवारलाई प्रजातन्त्र शिखर सम्मेलनमा बोल्न दिने साहस छ ? शीर्षकको लेखमा अमेरिकी सेनाले अफगानिस्तानका निर्दोष नागरिकहरूको अन्धाधुन्ध हत्या गरेको र अमेरिकी राजनीतिज्ञहरूले पीडित अफगान परिवारलाई प्रजातन्त्र शिखर सम्मेलनमा बोल्न दिने साहस गर्छन् कि गर्दैनन् भन्ने विश्वका मानिसहरूको प्रश्न भएको उल्लेख छ ।

विश्वमा फेरि एकचोटि प्रजातन्त्रबारे बहस तीव्र बन्दै छ । प्रजातन्त्रको अवधारणाबारे प्रस्ट पार्ने तथा प्रजातन्त्रबारे विशेषगरी संरा अमेरिकी सरकारले फैलाउन खोजेको भ्रम चिर्ने उद्देश्यले २०७८ मङ्सिर २७ गते नेपाल मजदुर किसान पार्टी, चिनियाँ कम्युनिस्ट पार्टीलगायत विश्वका १४० देशका ३५५ राजनीतिक दल, सामाजिक सङ्घसंस्था तथा बुद्धिजीवीहरूको तर्फबाट संयुक्त वक्तव्य जारी गरिएको ‘प्रजातन्त्रबारे संरा अमेरिकी भ्रमविरूद्ध १४० देशका ३५५ दल एक ठाउँमा’ शीर्षकको लेखमा बताइएको छ ।

‘प्रजातन्त्रको परिभाषा र विभेद गर्ने अधिकार संरा अमेरिकालाई छैन’ शीर्षकको लेखमा संरा अमेरिकाले आयोजना गर्ने गरेको कथित ‘प्रजातन्त्र सम्मेलनझ लाई धेरैले राजनीतिक मूल्यको आधारमा चीन र रूसलाई एक्ल्याउने संरा अमेरिकी योजनाको रूपमा लिएको बताइएको छ ।

निराशाजनक समस्याहरूले थलिएको र शासन एवम् व्यवस्थापनमा पटक–पटक विपत्तिजनक असफलताले भरिएको तथ्यबिच अमेरिकाले आफूलाई ‘लोकतन्त्रको दीपस्तम्भ’ भएको दाबी गर्दै आएको ‘अमेरिकी लोकतन्त्रको रटान प्रभुत्व जमाउने चाल’ शीर्षकको लेखमा उल्लेख छ ।

‘प्रजातन्त्र  मानवजातिको साझा मूल्य’ शीर्षकको लेखमा प्रजातन्त्र सम्पूर्ण मानवजातिको साझा मूल्यमान्यता हो, कुनै एक देशको पेवा होइन । प्रजातन्त्र भनेको कुनै सजावटको वस्तु होइन त्यसलाई प्रदर्शनीका लागि राख्ने पनि होइन भनिएको छ ।

प्रजातन्त्र सबै मानव जातिको साझा मूल्य हो । त्यो सबै राष्ट्रको अधिकार हो, केही देशको विशेषाधिकार होइन । प्रजातन्त्रले विविध रूप लिन्छ र त्यसको कुनै एकै आकारको निश्चित ढाँचा छैन । संसारका विविध राजनीतिक व्यवस्थालाई एउटै फित्ताले नाप्नु वा विभिन्न राजनीतिक सभ्यतालाई एकै कोणबाट नाप्नु पूर्णतः अप्रजातान्त्रिक हुनेछ । कुनै पनि देशको राजनीतिक व्यवस्था त्यही देशका जनताले स्वतन्त्ररूपमा स्थापना र सञ्चालन गर्नुपर्ने संरा अमेरिकामा प्रजातन्त्रको अवस्था शीर्षकको लेखमा प्रस्ट्याइएको छ ।

‘अमेरिकी प्रजातन्त्रको सीमा र कमजोरी’ शीर्षकको लेखमा मानिसले आफूलाई मुक्त बनाउने र स्वतन्त्रता हासिल गर्ने सिलसिलामा प्राप्त गरेको व्यवस्था हो – प्रजातन्त्र, उल्लेख गरिएको छ । हजारौँ वर्षदेखि संसारभरका सरकार र राष्ट्रहरूले प्रजातान्त्रिक अभ्यासको विकासका लागि कष्टसाध्य सङ्घर्ष गरे । त्यस्तो सङ्घर्ष देशअनुसार फरक – फरक छन् भनिएको छ ।

‘संरा अमेरिकी शैलीको लोकतन्त्र’ को पाखण्ड शीर्षकको लेखमा संरा अमेरिकाले आफूले आफैँलाई सधँ लोकतन्त्रको ‘प्रकाशस्तम्भ’ मान्छ भनिएको छ । पैसामुखी राजनीतिले संरा अमेरिकी लोकतन्त्रको पाखण्ड उजागर गरेको लेखमा उल्लेख छ ।

मुनरो सिद्धान्तका पक्षपातीहरू सिङ्गो पश्चिमी गोलाद्र्ध र भर्खर स्वतन्त्र भएका गणराज्यहरूमाथि नियन्त्रण जमाएर मात्र संरा अमेरिकाले आफूलाई बलियो बनाउन सक्थ्यो र विस्तार गर्न सक्थ्यो तथा युरोपेली साम्राज्यहरूको खतरा पन्छाउन सक्थ्यो भन्ने सोच्थे भनेर ‘मुनरो सिद्धान्तका दुई सय वर्ष’ शीर्षकमा बताइएको छ ।

विश्वमा सैन्य हस्तक्षेप र आक्रमणको तथ्याङ्क शीर्षकमा अमेरिकी साम्राज्यवादले सन् १७९८ यता ४६९ वटा सैन्य हस्तक्षेप गरेको र सन् १९९१ यता २५१ वटा सैन्य हस्तक्षेप गरेको संरा अमेरिकाको ‘संसदीय अनुसन्धान सेवा’को प्रतिवेदनअनुसार तथ्याङ्क तयार गरिएको उल्लेख गरिएको छ ।

१६० पृष्ठको पुस्तकमा सान्दर्भिक तस्बिर, नक्सा, कार्टुनहरूले अध्ययनका लागि सहज बनाएको छ । मूल्य रु२०० समय सापेक्ष नै मान्नु पर्दछ । प्रकाशक पत्रकार समाज, नेपाल, भूमिकाका लागि नेमकिपाका अध्यक्ष श्रद्धेय नारायणमान बिजुक्छेँ (रोहित), आवरण सज्जाका लागि दामोदर सुवाललगायत सम्पूर्ण सहयोगीहरूमा अभिवादन छ।



२०८० भदौ ३ १४:४४ बजे

प्रतिक्रिया