काठमाडौं । मुलुकमा यस वर्ष खाद्यान्न लगायत विभिन्न सामानको मूल्य अचाक्ली बढेको छ । दाल, चामल, तेल, तरकारी र लत्ताकपडा लगायतका सामानको भाउ गत वर्षको तुलनामा अचाक्ली बढेको छ । दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले निम्न तथा मध्यम वर्गीय परिवारलाई जीवन गुजार्नै मुश्किल हुन थालेको छ ।
गएको वर्ष प्रतिबोरा १७ सय रुपैयाँमा पाइने चामलको मूल्य अहिले २४ सय रुपैयाँ पुगेको छ । केही महिना अघिसम्म प्रतिकेजी २० देखि ५० रुपैयाँमा बिक्री भइरहेको गोलभेडाको मूल्य अहिले १ सय ४० रुपैयाँ छ । दाल लगायतका गेडागुडीको भाउ पनि गएको वर्ष भन्दा यस वर्ष किलोमा ३० देखि ५० रुपैयाँले बढेको छ । तर नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९ र ८० मा ७ दशमलव ७४ प्रतिशतले मूल्यवृद्धि भएको जनाएको छ । राष्ट्र बैंकले २२ समूहका ४ सय ९६ वस्तुको बजार सर्वेक्षण गरेर मूल्यवृद्धिको अवस्था निकाल्ने गर्छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवका लागि राखिएको मुद्रास्फीतिको वाञ्छित सीमा नाघेको देखिएको छ । गत आर्थिक वर्षका लागि सरकारले वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेकोमा ७ दशमलव ७४ प्रतिशत पुगेको देखिएको हो ।
अघिल्लो आर्थिक वर्षमा यस्तो मुद्रास्फीति छ दशमलव ३२ प्रतिशत थियो । अघिल्लो आवको तुलनामा आर्थिक वर्षमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेष्टुराँ तथा होटल उप–समूहको मूल्यवृद्धि १४ दशमलव ४२, मरमसलाको १२ दशमलव ५०, खाद्य तथा खाद्यजन्य पदार्थको १० दशमलव ७०, सुर्तीजन्य पदार्थको नौ दशमलव ८८ र दुग्ध पदार्थ तथा अण्डाको नौ दशमलव २३ प्रतिशत छ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको मूल्यवृद्धि १३ दशमलव ५०, मनोरञ्जन तथा संस्कृतिको १० दशमलव १८, स्वास्थ्यको १० दशमलव ०१, शिक्षाको आठ दशमलव ७९ र घरायसी उपयोगका वस्तुको ८ दशमलव ६५ प्रतिशत छ । गत आर्थिक वर्षमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६ दशमलव ६२ प्रतिशत छ ।
प्रतिक्रिया