काठमाण्डौ। नेपाली जनता र राष्ट्रका आधारभूत समस्या के हुन् र नेपाली जनता कुन समस्याका बिरुद्ध लड्दै आजको स्थितिसम्म आइपुगे भन्ने कुराको अध्ययनले आजको मूलभूत अन्तरबिरोध के हो र निराकरण हुनुपर्ने समस्या के हुन् भन्ने कुराको निर्धाण गर्दछ । नेपालमा कम्युनिष्ट पार्टी गठन हुँदा नेपाल र नेपाली जनताका आधारभूत समस्याको रुपमा अर्थात् अधारभूत दुश्मनको रुपमा देशीय सामन्तबाद , भारतीय एकाधिकार पूँजीवाद अर्थात् विस्तारवाद र बिश्व साम्राज्यबाद अर्थात् एंग्लो–अमेरिकी साम्राज्यबादलाई किटान गरिएको थियो । साथै, जबसम्म तिनको निराकरण हुँदैन, तबसम्म नेपालमाथि लादिएको देशी-बिदेशी शोषण दमन र अन्याय अत्याचारको अन्त्य हुँदैन र देशले नयाँ दिशा र गतिमा समुन्नत प्रगतिको बाटो लिन सक्तैन भनिएको थियो । त्यो सही बिश्लेषण थियो भनेर मान्नेहरुले त्यसयताका नेपाली क्रान्तिकारी आन्दोलनहरुले नेपाली जनता र राष्ट्रका ती समस्या हल गर्न सके वा त्यस दिशामा के कति सही बाटो पक्रिए, के कति भड्काउहरु आए र अहिले हामी कुन धरातलमा कहाँ खडा हुन पुगेका छौ भन्ने कुरामा आधारित भएर समस्या केलाउनु र निष्कर्ष निकाल्नु पर्दछ ।
यस आधारमा हेर्दा नेपाल र नेपाली जनताले गरेका आन्दोलनले आंशिकरुपमा केही समस्या हल गरे पनि मूलभूतरुपमा समस्या हल नभएको यथार्थ चित्र नै प्रष्टरुपमा देख्न सकिन्छ । नेपाली परिवर्तनकारी आन्दोलनमा आएका उग्र, मध्य र दक्षिणपन्थी भड्काउहरुमध्ये मुख्यतः दक्षिणपन्थी भड्कावले नै यसलाई सही दिशा दिनबाट रोकेकोले एक वा अर्को किसिमले दिग्भ्रमित भएर नेपालको परिस्थिति कचपचिएर यथास्थितिमा अल्मलिदै अझ जटील बन्दैगएको अबस्थाबाट हामी गुज्रिरहेको स्थिति छ
यस परिप्रेक्षमा सर्सरी हेर्दा अहिले नेपालमा आफ्नो गुमेको सत्ता–शक्ति, सुख–सुविधा र शौख–सयल पुनर्प्राप्तिको लागि कथित राष्ट्रवादी शक्ति र विचार–सिद्धान्तविहीन दलाल पुँजीवादका अरौट–भरौटे तथा पुराना संसदवादी दलाल र गद्दार कथित वामपन्थी शक्तिहरु आफ्नो न्वारानदेखिको बल लगाएर उठ्ने, जुट्ने र डट्ने गरिरहेका छन् । यसको आवश्यकता र औचित्य पुष्टि गर्नको निम्ति उनीहरुले हाल देशमा भ्रष्टाचार, बेथिति, कुशासन, महङ्गी, तस्करी, अस्थिरता र अराजकता आदि बढेको अनि राष्ट्र र राष्ट्रियता संकटमा परेको भनेर आफूहरुले विगतमा गरेका र भविष्यमा पनि गर्न सक्ने यिनै वा यस्तै कुकृत्यहरु ओझेल पार्ने कुचेष्टा गरेका छन् । यसनिम्ति उनीहरुले आआफ्ना घोषित विचार–सिद्धान्त, मूल्य–मान्यता, नीति–नैतिकता र वर्गीय पक्षधरता आदि सबै परित्याग गरेर आपसी साँठगाँठ, सम्झौता र समर्पण गरेका छन् र अझ अघि बढेर वैदेशिक शक्तिकेन्द्रहरुसँगको सम्बन्ध, सहमति र प्रतिबद्धता गरेर उनीहरुको आशीर्वाद लिने धृष्टता गरिरहेका छन् ।
यसले गर्दा प्रतिगमनको सम्भावना एकदमै बढेर गएको छ र महान् जनयुद्ध र जन आन्दोलनका सिमित उपलब्धिहरु विशेषतः राजनीतिक स्वतन्त्रता सहितको यो गणतन्त्र नै गुम्ने र पुनः निरङ्कुश स्वैच्छाचारी शासन–व्यवस्था लादिने उच्च खतरा छ । यही खतरा देखाएर विगतमा पटकपटक गरी लामो समयसम्म र हाल पनि सत्तासीन भैरहेका दलाल तथा नोकरशाही पुँजीवादी पुराना कथित प्रजातन्त्रवादी शक्तिहरु, प्रतिक्रान्तिकारी राष्ट्रिय र वर्गीय आत्मसमर्पणवादी कथित वामपन्थी नयाँ लालदलाल र भ्रष्ट गद्दार कम्युनिस्ट शक्तिहरु र क्षेत्रीयतावादी र विखन्डनकारी शक्तिहरुले आपसी अपवित्र गठबन्धनलाई अझ सुदृढ, सबल र सुमधुर बनाउँदै सत्ता स्वार्थलाई निरन्तरता दिने चरम दुस्साहस गरिरहेका छन् । यति मात्र होइन, यही कुत्सित सत्ता स्वार्थलाई दीर्घजीवन दिनको लागि “सौताका रिसले श्रीमानका काखमा पिसाब फेर्ने“ भनेझैं वैदेशिक साम्राज्यवादी–विस्तारवादीहरुसँग पूर्ण र स्थायी रुपले आत्मसमर्पण र सर्वसमर्पण गरेर नेपालकै स्वत्व–अस्तित्व नै समाप्त पार्ने गरी नेपालको सिक्किमीकरण, फिजीकरण वा युक्रेनीकरण गर्ने खतरा त झन् बढेको छ ।
स्मरणीय छ कि यी दुवै शक्तिहरु र दुवै खाले खतराहरुका पछिल्तिर साम्राज्यवाद–विस्तारवादको निर्देशन, अनुगमन र पृष्ठपोषणसंगै बेलामौकामा आवश्यकतानुसार रवाफ–दवाव, धाक–धम्की र हस्तक्षेप–अतिक्रमणजन्य गतिविविधिहरुको समेत अहंभूमिका रहेको छ । त्यसैले यो अवस्थामा प्रधान अन्तर्विरोध वा मुख्य संघर्ष कोसँग हो र कसका विरुद्धमा हाम्रो संघर्ष कसरी लक्षित र केन्द्रित गरिनु-हुनुपर्ने हो भन्नेमा हामी देशका सच्चा देशभक्त, लोकतन्त्रवादी, वामपन्थी, क्रान्तिकारी र कम्युनिस्टहरु एकदमै स्पष्ट हुनु जरुरी छ
यसै सन्दर्भमा यतिबेला केही क्रान्तिकारी शक्ति, संघसंस्था र बौद्धिक व्यक्ति–व्यक्तित्वहरुले सत्ता स्वार्थका कारणले हो वा प्रतिगमनको बढी खतराको भूतबाट आतंकित भएर हो अथवा के कारणले हो साम्राज्यवादी–विस्तारवादीहरुको ग्लोबल र क्षेत्रीय गुरुयोजना र त्यस अनुसार उनीहरुले नेपालमाथि निरन्तर बढाइरहेका सुनियोजित र दीर्घकालीन रुपका चौतर्फी शोषण, दमन, धम्की, घुर्की, हस्तक्षेप र अतिक्रमणलाई जान–अन्जान रुपमा कम आँक्ने गरेको भान हुँदैछ । यतिमात्र होइन, अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको गठजोडलाई नजर अन्दाज गरेर उनीहरुमध्ये एकथरीले भारतप्रति नरम रुप राख्दै अमेरिकाप्रति कडा रुप राखेजस्तो देखाउँछन् भने अर्को थरीले अमेरिकाप्रति नरम रुप अपनाउँदै भारतप्रति कडा रुप अपनाएको प्रतीत हुन्छ । साथसाथै उनीहरुसहित अन्य कतिपय शक्तिहरुले मालेमाका आधारभूत दर्शन र सिद्धान्तहरु द्वन्द्ववाद, सर्वहारा वर्गीय अधिनायकत्व, वर्ग र वर्गसंघर्ष, क्रान्तिमा बल प्रयोग, नयाँजनवादी क्रान्तिको आवश्यकता र क्रान्तिमा नेतृत्वको भूमिका जस्ता कम्युनिस्ट क्रान्तिका सार्वभौम महत्वका विषयहरुलाई पुरानो सोंच र तरिका, रुढिवादी र यात्रिक बुझाइ, नयाँ ज्ञानको अभाव आदि भन्दै विवाद खडा गरेका छन् । यो हर्कत मार्क्सवाद पुरानो भयो, समाजवाद असफल भयो,कम्युनिज्मको भविष्य समाप्त भयो भन्ने जस्ता नवमार्क्सवादी र उत्तर आधुनिकतावादी वा युरो कम्युनिज्मवादी विचारहरुलाई जान वा अनजान रुपमा नयाँ ढङ्गले नेपालमा पनि सम्प्रेषण गर्ने र नेपाली कम्युनिस्ट आन्दोलनसँगै साम्राज्यवाद–विस्तारवाद विरुद्धको हाम्रो राष्ट्रिय मुक्ति आन्दोलन र अन्ततः विश्वमुक्ति आन्दोलनलाई कमजोर पार्ने साम्राज्यवादी–विस्तारवादीहरुको गुरुयोजनाकै एक हिस्सा हुनसक्ने खतरा छ, भलेै उनीहरुले एकमुष्ट रुपमा प्रतिगमन र साम्राज्यवाद-विस्तारवादको खतरा देखाएर आपसी गठबन्धन नै गरेका किन नहुन् ?
प्रतिगमन, पुनरुत्थान वा राजतन्त्र र हिन्दू धर्मको पुनरागमनको विरोध र प्रतिरोधको नाममा कथंकदा नेपालमा साम्राज्यवाद–विस्तारवादको हस्तक्षेप बढाउने प्रक्रियामा सहयोग पुराउने जस्तो भयानक भूल हुन पुग्यो भने देश युद्धमैदान बन्ने र अन्ततः नेपालको स्वाधीनता, स्वाभिमान र स्वत्व–अस्तित्व नै गुम्ने चरम खतरा छ ।
तसर्थ स्पष्ट हुनु जरुरी छ कि साम्राज्यवाद–विस्तारवादको आड–भरोसा र उक्साहटमा टिकेको र चलेको वर्तमान नेपालको दलाल पुँजीवादी सत्ता र यसमा आसिन वा यसको बागडोर हाँक्ने शक्ति नै देश र जनताको वर्तमान दुरावस्थाको मुख्य कारक हुन् । यिनलाई जन्मदिने, भरणपोषण गर्ने, परिचालन गर्ने, प्रयोग गर्ने गरेर नेपाल र नेपाली जनताको शोषण–उत्पीडन गर्ने वैदेसिक साम्राज्यवादी–विस्तारवादी शक्तिहरु खासगरी अमेरिकी साम्राज्यवाद र र भारतीय विस्तारवाद पनि नेपाल, नेपाली जनता र नेपाली क्रान्तिका मुख्य प्रहारका निशाना नै हुन् । अहिलेको हाम्रो देशको ठोस समय–सन्दर्भमा उल्लिखित दुवै थरी शक्तिहरु अर्थात् सत्ताधारी घरेलु दलाल शक्तिहरु र विदेसी साम्राज्यवादी–विस्तारवादी शक्तिहरु घाँटी जोडी मोर्चाबद्ध भएर नेपाल र नेपालीमाथि गिर खेलिरहेका छन् । यतिमात्र होइन, नेपाललाई अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको युद्धमैदान बनाउने उनीहरुको पूरा तयारी छ । त्यसैले स्थिति धेरै नै गम्भीर छ, सामान्य अनुमान र कल्पना गरेभन्दा पनि धेरै भयावह छ ।
यस्तो गम्भीर, संवेदनशील र भयावह अवस्थामा हाम्रो दायत्व के र हामी देशका सच्चा र सचेत नागरिकहरुको कर्तब्य के हो भन्ने प्रश्न पनि त्यत्तिकै ज्वलन्त र गम्भीर महत्वको प्रश्न हो । यस प्रश्नको हलको निम्ति सर्वप्रथम हामीले हाम्रा प्रमुख र सहायक दुश्मन मात्र होइन, प्रमुख र सहायक मित्र शक्तिहरु चिन्न, बिन्न र हान्न वा तान्न सक्नुपर्छ । प्रमुख दुश्मनका बारेमा त माथि नै वर्णन गरिसकिएको छ भने सहायक दुश्मनमध्ये पनि मुख्य त्यही हो जो हाल सत्तामा त छैन तर हिंजो थ्यो र भोलि पनि जसरीतसरी यही दलाल पुँजीवादी सत्तामा पुगेर हिंजो गरेझैं वा आज सत्ताधारीले गरिरहेझैं अथवा त्योभन्दा पनि बढी राष्ट्रघात, प्रतिक्रान्ति, जनघात र जनजीविका घात गर्छ ?
तैपनि जहाँसम्म सत्ताधारी दुश्मनका विरुद्धको संघर्षमा गौण दुश्मनहरु जो जो जान सक्छन्, तिनलाई तत्कालको लागि प्रमुख दुश्मनका विरुद्धमा प्रयोग र परिचालन पनि गर्नुपर्छ । तर नेपालको हालको विशिष्ट स्थिति र सन्दर्भमा देशका माओवादी–काङ्रेस–एस आदि दलाल शक्तिहरु मिलेर बनेको दलाल पुँजीवादी प्रतिक्रियावादी सत्ता र यसका संरक्षक वैदेशिक साम्राज्यवादी–विस्तारवादी शक्तिकेन्द्रहरु प्रमुख दुश्मन हुन् भने एमाले–राप्रपा–रास्वपा सिद्धान्ततः गौण दुश्मन हुँदाहुँदै पनि व्यवहारतः उनीहरुले हालका सत्ताधारीहरुसँग संघर्ष गर्दासम्म गौण भएपनि कुनैपनि बेला नाटकीय ढङ्गले समेत सत्तामा पुगेर आफ्नो प्रतिक्रियावादी वर्गचिन्तन र वर्गचरित्रलाई दोहोराउने प्रबल सम्भावना भएकोले उनीहरु पनि तत्कालका लागि सहायक दुश्मन हुँदाहुँदै पनि यी जतिबेलापनि मुख्य दुश्मन हुनसक्ने चरम सम्भावना छ ।
यसरी नै यी हाल सत्तामा रहेका वा नरहेका देश, जनता र क्रान्तिका प्रमुख दुश्मनका पक्षमा आउने अन्य देशी–विदेशी सम्पूर्ण शक्तिहरु पनि प्रमुख दुश्मनकै कोटीमा पर्दछन् । नेपालमा अहिले माओले भन्नुभएको अन्तर्विरोधबारेको तेस्रो अवस्था (हेर्नुहोस् माओको अन्तर्विरोध र प्रधान अन्तर्विरोध किटानी बारेको लेख ) आएको छ जहाँ देशी–विदेशी सबैजसो प्रतिक्रियावादी र प्रतिक्रान्तिकारी शक्तिहरु एक भएर नेपाललाई विखण्डन र विनष्ट गर्ने, नेपाली जनतामा वैमनस्य र वैरभाव बढाउने तथा नेपाली क्रान्तिकारी आन्दोलनलाई विभाजित र विसर्जित गर्दै नेपाल र नेपालीलाई विघ्नबाधाविहीन रुपमा चरम शोषण–दोहन र दमन–उत्पीडन गर्ने मात्र होइन, नेपाली जनआन्दोलन, जनसंघर्ष, जनयुद्धद्वारा सम्पन्न जनक्रान्तिका उपलब्धिहरुको समेत नामनिशान नै नराख्ने गरी आइरहेका छन् । रुपमा वा सामुन्नेमा सत्तापक्ष र विपक्ष वा यो पार्टी र ऊ पार्टी अथवा देशी र विदेशी शक्ति देखिए पनि समग्रमा सारतः र अन्ततः यी देशी दुवैथरी र विदेशी दुवैथरी शक्तिहरु समग्रमा यी चारै शक्तिहरू मिलेरै नेपाल र नेपालीको शोषण–उत्पीडन गरिरहेकाले उनीहरुसँग नेपाल राष्ट्र र नेपाली जनताको प्रमुख अन्तर्विरोध अर्थात् मुख्य दुश्मनी रहेको छ ।
त्यसैले यिनका विरुद्ध क्रान्तिको मुख्य प्रहार केन्द्रित गर्नु पर्दछ । यसो गर्दा सुरुमा र साम्नेमा देशका सत्ताधारी र सत्ता संरक्षक प्रतिपक्षी शक्तिहरु निसानामा परेपनि अन्ततः त्यो प्रहार सामन्तवाद र साम्राज्यवादका नाइके शक्तिसम्म पुग्दछ । देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु आँतपेट मिलाउँदै नेपालमा अहिले दुई टाउके भारण्ड नामक चरोको रुपमा प्रस्तुत भएर नेपाल राष्ट्र, नेपाली जनता र नेपाली क्रान्तिलाई दुवै टाउकाका ठोंडहरुले ठुङ्ने र उनीहरुको एउटै संयुक्त पेट भरिरहेका छन् । यो अवस्थामा जसरी भारण्ड नामक दुई टाउका र एक आँतपेट भएको त्यो चरोलाई एउटै गोलीले सिद्धाउन टाउकामा होइन उसको मर्मस्थान पेटमै प्रहार गर्नुपर्छ, ठिक त्यसैगरी घरेलु दुश्मन र वैदेशिक दुश्मनको आँतपेटको रुपमा रहेको वर्तमान प्रतिकृयावादी दलाल सत्तामा नै प्रहार केन्दृित गरेमा एकैपटक दुवैलाई ढाल्न र फाल्न सकिन्छ र यो नै लडाइको सही र सफल तरिका हो । त्यसैले यो बेलामा देश, जनता र क्रान्तिका सम्पूर्ण मुख्य मित्र शक्तिहरु किसान, मजदुरलगायत सबै सहायक मित्रशक्तिहरु महिला, दलित, युवा, विद्यार्थी, बुद्धिजीवी, आदिवासी, जनजाति, मधेसीलगायतका सम्पूर्ण शोषित-पीडित जनसमुदायहरु पनि मोर्चाबद्ध भएर लड्नु र बढ्नु पर्दछ ।
अझ, आफूलाई देश, जनता र क्रान्तिप्रति सचेत र सकृय, संवेदनशील र संघर्षशील, गम्भीर र जिम्मेवार अनि वफादार र कर्तव्यनिष्ठ ठान्ने सम्पूर्ण सच्चा वामपन्थी, कम्युनिस्ट, क्रान्तिकारी, देशभक्त, राष्ट्रवादी र लोकतन्त्रवादी राजनीतिक शक्तिहरु, सामाजिक संगठन–समूहहरु, साहित्यिक संघसंस्थाहरु, सांस्कृतिक अभियान–प्रतिष्ठानहरु, वैचारिक मंच–मोर्चाहरुलगायत देशका सम्पूर्ण सचेत, संवेदनशील, गम्भीर र जिम्मेवार नेपाली नागरिकहरु, बौद्धिक व्यक्ति–व्यक्तित्वहरु र आम जनसमुदायहरु देशको अस्तित्व र स्वाधीनताको संरक्षण गर्न, गणतन्त्रको रक्षा र विकास गर्न अनि जनजीविकाको सुनिश्चितता र सम्बर्द्धन गर्नको लागि उठ्नु–जुट्नु र एकताबद्ध भएर संघर्षको मैदानमा उत्रनु नै यतिबेलाको हाम्रो सर्वाधिक ठुलो र अत्यन्त जरुरी दायित्व हो ।
यसरी मात्रै धमिलिंदै गएको हाम्रो राष्ट्रिय अस्मिता र गुम्नै आँटेको हाम्रो देशको अस्तित्व जोगाउँदै हालसम्मका हाम्रा महान् आन्दोलनहरुबाट प्राप्त उपलब्धि मुख्यतः गणतन्त्र ( यद्यपि अहिले यो दलाल पुँजीवादी गणतन्त्रमा विकृत र पतित भएको छ तथापि यसलाई यसको मौलिक स्वरुप पुँजीवादी गणतन्त्रमा फर्काउनु छ) लाई गुम्न नदिएर यसभन्दा अगाडिको नयाँ, राष्ट्रिय र क्रान्तिकारी वैकल्पिक विचार, बाटो, व्यवस्था, विधान, विधि र व्यवहारको विकास गरेर देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय, भाषिक, धार्मिक र सांस्कृतिक शोषण र उत्पीडनलाई अन्त्य गर्दै आर्थिक समानता र समृद्धि, सामाजिक न्याय र सद्भाव, राजनीतिक स्वतन्त्रता र अधिकार तथा राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई अघि बढाउने दिशामा उन्मुख हुँदै देशमा शान्ति, सुव्यवस्था, सुशासन र समृद्धि कायम गर्दै निरन्तर प्रगति र विकासको लागि केन्द्रित र समर्पित हुनु जरुरी छ । यसनिम्ति उपरोक्त शक्ति, संघसंस्था र व्यक्ति–व्यक्तित्वहरुले छिट्टै एउटा बृहत् र बलिष्ठ राष्ट्रिय क्रान्तिकारी संयुक्त मोर्चा निर्माण गरी तत्कालै देखि संयुक्त र सशक्त आन्दोलनद्वारा निर्णायक हस्तक्षेप गर्नु जरुरी छ । यसरी मात्र हामीले राष्ट्रिय क्रान्तिकारी आन्दोलनलाई प्रभावकारी र परिणाममुखी बनाउन सक्दछौं र सक्नु नै पर्दछ । यही नै देशको यो गम्भीर र भयावह वर्तमान अवस्थामा हाम्रो विशेष राष्ट्रिय दायित्व हो ।
प्रतिक्रिया