बन्धक बनाई फिरौती असुल्ने पक्राउ

bimbonline बिम्ब अनलाइन
२०८० साउन २९ ०८:१९ बजे

काठमाडौँ,  । बङ्गलादेशी नागरिकलाई नेपाल हुँदै विभिन्न देश पठाइदिने आश्वासन दिएर काठमाडौँमा बन्धक बनाउने गिरोहका सात जना पक्राउ परेका छन्। 

बङ्गलादेशी नागरिकलाई बन्धक बनाई उनीहरूको परिवारसँग फिरौती रकम माग्ने गिरोहमा संलग्न बङ्गलादेशी र नेपाली नागरिकलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आइतबार पक्राउ गरेको हो। कार्यालयले आरोपितलाई पक्राउ गर्नुका साथै बन्धक बनाइएका छ जना बङ्गलादेशी नागरिकलाई उद्धार गरेको छ। गिरोहले वैदेशिक रोजगारीमा लैजाने भन्दै बङ्गलादेशबाट नेपाल ल्याएर काठमाडौँका होटल तथा सेफ हाउसमा बन्धक बनाई राख्ने र परिवारसँग पैसा माग्ने गरेको थियो। 

प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा बङ्गलादेश गाजीपुरका ४७ वर्षीय अमिर हुसेन, बङ्गलादेश बरिसालका ३७ वर्षीय एमडी मोसिउर, हरिसिद्धि ललितपुर बस्ने बङ्गलादेशी नागरिक ३८ वर्षीय सलिम मियाँ, सिन्धुपाल्चोक बलेफी–६ की २७ वर्षीय तारा नेपाली, बङ्गलादेशी नागरिक २१ वर्षीय जहाङ्गिर आलम, काठमाडौँ हाँडीगाउँ बस्ने बङ्गलादेशी नागरिक २१ वर्षीय तहमिना बेगम र इलाम चुलाचुली–४ की ३३ वर्षीय रोशनी राई रहेका छन्। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी मुलुकी अपराध संहिताबमोजिमको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि आइतबार प्रहरी परिसर काठमाडौँ पठाइएको वरिष्ठ प्रहरी उपरीक्षक डा। मनोज केसीले जानकारी दिनुभयो।

मेमोरियल गेस्ट हाउसबाट एमडी नाजमुल, एमडी इयासिन, इब्राहिम हुसेन र एमडी अल अमिनलाई उद्धार गरिएको छ। त्यस्तै हरिसिद्धिको एक घरमा बन्धक बनाइराखेको अवस्थामा राजोन र राजोन फरहाद हुसैनलाई उद्धार गरिएको प्रहरीले जनाएको छ।


२०८० साउन २९ ०८:१९ बजे

प्रतिक्रिया