कथा ; त्यसपछि टीकारामले पार्टी छोडे

अचेल त नेताहरू पनि नेताहरूकै ठाउँमा रहेनन् कमरेड ? न चिन्तन छ, न अध्ययन छ, न गतिलो व्यवहार छ । सिद्धान्तलाई जाँड र रक्सीमा साटेका छन् । बिरालाले मुसो डुवाके झैँ कहाँबाट पैसा आउँछ भनेर डुवाक्न मात्रै जानेका छन्

bimbonline नारायण मरासिनी
२०८० साउन २७ १२:३६ बजे
कथा

समय बर्खाको थियो । पार्टीले प्रदेशको सदरमुकाममा प्रदेश सदस्यहरूका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरेको थियो । प्रदेशभित्रका सबै जिल्लाबाट गरी ५१ जना प्रदेश सदस्यहरूको उपस्थिति थियो । प्रशिक्षण कार्यक्रम तिन दिनसम्म चलाइने भनिएको थियो र सोहीअनुरूप व्यवस्थापन गरिएको थियो । कार्यक्रमको अवधि तिन दिनको भनिए पनि आउन र जानका लागि थप एक–एक दिन गरी दुर्गमका कार्यकर्ताले पाँच दिन समय दिनुपर्ने अवस्था थियो । कार्यक्रममा पार्टीका उपाध्यक्ष र महासचिव सहजकर्ताका रूपमा थिए भने साथमा पार्टीसँग सम्बन्धित केही उद्योगी व्यापारी पनि उनीहरूसँगै केन्द्रबाट आएका थिए ।

प्रदेश सचिवालयका केही सदस्यले प्रदेश सदरमुकाममा सहिदहरूको नाममा स्थापना गरिएको भवनमा रहेको हलमा कार्यक्रम राख्नुपर्ने कुरा गर्दै भनेका थिए, ‘सहिदहरूप्रति सम्मान हुने र सबैलाई पायक पनि पर्ने हुँदा प्रशिक्षण कार्यक्रम त सहिद प्रतिष्ठानकै हलमा राख्नु राम्रो हुन्छ ।’अन्य एकादुई सदस्यको सुझाव थियो, ‘प्रशिक्षार्थीको सङ्ख्या थोरै भएका कारण पार्टीकै कार्यालयमा रहेको हलमा पनि अटाइन्छ ।’

तर अधिकांशले सदरमुकामबाट लगभग बिस किलोमिटरको दूरीमा रहेको रिसोर्ट नै तीन दिनका लागि बुक गर्ने भनेकाले सहरभन्दा परको एक भव्य रिसोर्टलाई कार्यक्रमको आयोजना स्थल निर्धारण गरिएको थियो । उक्त रिपोर्ट पहाडको टाकुरामा घना जङ्गलको बिचमा थियो । त्यहाँबाट उत्तरतर्फ हेर्दा हिमाली सौन्दर्यले लोभ्याउँथ्यो भने दक्षिणतिर सहरी सौन्दर्यले मन्त्रमुग्ध तुल्याउँथ्यो । सहरकै पूर्वी छेउमा रहेको एउटा तालले पनि आँखालाई मात्र होइन मनलाई समेत शीतल बनाउँथ्यो । रिसोर्टबाट पश्चिमतिरको पहाडी काखमा नजर डुलाउँदा सेता झरनाहरू छङछङाएका देखिन्थे । यही प्राकृतिक सुन्दरताले लोभ्याएर होला सायद आयोजकहरू अधिकांशले खर्च जतिसुकै लागे पनि आयोजना स्थलका रूपमा यही रिपोर्ट बुक गर्ने निर्णय गरेका थिए ।

सहभागीहरूलाई तिन दिनसम्मका लागि खानपिन र बसोबासको बन्दोबस्त पार्टीले नै गरेको थियो । ब्रेक फास्ट, लन्च, डिनर, चिसोतातो सबै उच्च कोटिको व्यवस्था थियो । साँझपखको समय रङ्गिन बनाउनका लागि इच्छाअनुरूपका पेय पदार्थहरूको समेत व्यवस्था थियो । खानपिउन सक्नेहरूका लागि बिना हिचकिचाहट, बिना रोकटोक जति पनि खानपान गर्न पाउने अवस्था थियो । कतिपय कार्यकर्ता रातको एक–दुई बजेसम्मै पनि खानपिनमा मस्त थिए । खानपानका साथमा गरिएका गफ, बेलाबेलामा निस्कने उन्मुक्त हाँसो, थरीथरीका बल्बबाट निस्कने मधुरो प्रकाश अनि साँझलाई बुट्टा भर्नका लागि बेलाबेलामा कमरेडहरूले ताल तालका नृत्यहरूको साथमा साङ्गीतिक वातावरणको पनि सिर्जना गरेका कारण रिसोर्टभित्रको साँझ साँच्चिकै रङ्गिन पनि थियो ।

सहभागीहरूमध्ये एक जना थिए टीकाराम जैसी । उनी प्रदेश सदरमुकामभन्दा बाहिरी जिल्लाको कुनै एउटा गाउँबाट सहभागिता जनाउन आइपुगेका थिए । त्यस भूगोलको पार्टीमा उनी निकै पाकापुराना कार्यकर्ता थिए । उनी सिद्धान्तलाई व्यवहारमा लागू गर्नेतर्फ बढी जोड दिन्थे । सबैभन्दा ठुलो कुरा उनमा इमान थियो । निष्ठाको राजनीति गर्थे । आजसम्म उनले पदका लागि कहिल्यै मरिहत्ते गरेनन् । स्वाभिमानी थिए । बढी स्वाभिमानी र कर्तव्यनिष्ठ हुनाको कारण नै होला सायद, आफूले सदस्यता दिएकाहरू विभिन्न लाभका पदहरूमा पुगेस मनग्ये अर्थोपार्जन गरेस सहरमा घरघडेरी पनि जोडे तर उनले भने कहिल्यै त्यस्तो अवसर पाएनन् । आफूभन्दा माथिका नेताहरूसँग पद माग्दै पनि हिँडेनन् ।

जहिल्यै निष्ठाको राजनीति गर्ने टीकाराममा बाहिरी रूपमा पदप्रतिको आशक्ति देखिँदैनथ्यो । यद्यपि मान्छेको भित्री मनमा त को पस्न सक्छ र १ यतिका वर्षसम्म खटिँदा पनि पार्टीका माध्यमबाट कुनै लाभ लिन नपाउँदा उनीभित्र चिन्ताको बादल मडारिएको थिएन भन्न सकिँदैन । सायद त्यस बादललाई उनले भित्रभित्रै दबाएका थिए । अन्य कमरेडहरूका बिच कुराकानी चल्दा कहिलेकाहीँ उनी भन्ने गर्थे, ‘पार्टीमा खटिएको दसकौँ भयो, यसैले त पार्टी ठुलो भएको छ, सम्पन्नशाली छ, जनताको विश्वास जितेको छ, सत्तामा पुगेको छ, सरकार चलाएको छ । आजसम्म मैले कमरेडहरूलाई अगाडि बढाएको छु । इच्छुक र क्षमतावान् कमरेडहरू नै अगाडि बढ्ने त हो  म नै अगाडि बढ्नुपर्छ भन्ने त केही छैन नि  उनको यस भनाइमा व्यङ्ग्य थियो वा निष्ठा, झट्ट बुझ्न गाह्रो थियो ।

जीवनमा टीकारामको जाँडरक्सी पिउने लत बसेन । केटौले उमेरमा एक दुईपटक चाखेका मात्रै थिए, उनलाई त्यसको गन्धै मन परेन । एकपटक त साथीहरूका बिच ह्वालह्वाल्ती बान्तै पनि गरे त्यसपछि भने उनले कहिल्यै पिएनन् । जाँडरक्सी नपिए पनि उनी माछामासुको भने सौखिन थिए । घरमा केही बाख्रापाठा पालेका थिए । आफैले खानका लागि भनेर केही लोकल कुखुरा पनि पालेका थिए । उनी भन्थे, ‘गाउँमा बसेपछि बस्तुभाउ, चराच्याखुरा त पाल्नै पर्यो नि ?  यी पाखापखेराको सदुपयोग पनि गर्नु पर्यो ? नत्र त गाउँमा बस्नुको के नै अर्थ रह्यो र ?’

आफूलाई खान पुग्ने गरी खेतबारी थियो । त्यो उनको पैतृक थलो । खेती लगाउँथे । कर्ममा विश्वास गर्थे । खेतबारीमा अन्नबाली लगाउने समयमा आफै खटिन्थे । परिश्रमी थिए । प्रदेश स्तरका नेता भए पनि अरू कतिपयमा जस्तो उनमा दम्भ थिएन । बरु उनलाई के लागेको थियो भने खेतीपाती लगाउने बर्खाको समयमा पार्टीले तीन चार दिनको प्रशिक्षण कार्यक्रम राख्न नहुने । यद्यपि पार्टीको आदेश मान्नै पथ्र्यो र सोहीअनुरूप सहभागिता जनाउन उनी सदरमुकाम आइपुगेका थिए ।

सोही प्रशिक्षण कार्यक्रममा अर्को जिल्लाबाट उपस्थित कमरेड खिमबहादुर पनि टीकाराम जस्तै जाँडरक्सी नपिउने रहेछन् । दुवै जना अलिक पर झ्यालपट्टिको एउटै टेबुलमा बसेका थिए । प्रशिक्षणमा चौध–पन्ध्र जना जति महिला कमरेडहरू सहभागी थिए । केही महिला कमरेडहरूले परतिरका टेबुलमा बसेर सहकार्यका साथ खानपानको सुरुवात गरिसकेका थिए भने टीकाराम र खिमबहादुरकै सामुन्नेको टेबुलमा चार जना महिला कमरेडहरू चाहिँ के पिउने भन्ने बारेमा छलफल गर्दै थिए । एउटै टेबुलमा सँगै बसेका ती चार जना महिला कमरेडहरूमध्ये जिन्स पाइन्ट र टिसर्ट पहिरिएकी चुच्चेचुच्चे नाकवाला कमरेडले अरू तीन जनासँग पेय पदार्थको सहमतिका लागि आग्रह गर्दै भनिन्, ‘हामी चाहिँ सफ्ट मात्रै लिऔँ कमरेड, वाइन लिऔँ 

‘वाइन र बियरमा खासै फरक पो के छ र ? बियरै लिए पनि हुन्छ,’ सँगै बसेकी पातलीपातली बाहुनी जस्ती देखिने कमरेडले भनिन् । अर्की जनजातिको जस्तो अनुहारकी कमरेडले बाहुनी जस्ती देखिएकी कमरेडको कुरामा प्रतिवाद गरिन्, ‘स्वास्थ्यका दृष्टिमा बियरभन्दा त वाइनै राम्रो नि ।’चौथो कमरेडले पनि वाइनमै मन दिएपछि दुईवटा वाइनका बोतल तिनीहरूका टेबुलमा आए । ‘चियर्स’ भन्दै कमरेडहरुले पनि वरिपरिका टेबुलमा बसेका पुरुष कमरेडहरूले जस्तै गरी गिलास ठोके ।

टीकाराम र खिमबहादुर दुवैले महिला कमरेडहरूले ‘चियर्स’ भन्दै पालैपालो गिलास ठोकेको हेरे र केहीबेरसम्म तिनीहरूले पिएको पनि हेरिरहे । ‘पिउनमा त हाम्रा महिला कमरेडहरू पनि पुरुष कमरेडका तुलनामा कम हुनुहुँदो रहेनछ नि हगि खिम कमरेड ?’ टीकारामको मुखबाट सानो स्वर निस्क्यो ।

‘यस मामलामा कमरेडहरु पहिलेदेखि नै अभ्यस्तजस्तो देखिनुहुन्छ’, खिमबहादुरले पनि उस्तै सानो स्वर निकाले । उता अरू टेबुलमा पुरुष कमरेडहरूको स्वर भने निकै चर्को थियो । बेला बेलामा महिला कमरेडहरुले आफूहरूलाई टेढो नजरले हेर्दै मिठो मुखले घुट्क्याउँदा टीकाराम र खिमलाई नमिठो अनुभूति भएको थियो । महिला कमरेडहरूले आफूहरूलाई गिज्याएको अनुभव गरेका थिए उनीहरूले यद्यपि त्यो रमाइलो वातावरण छोडेर बेडरुमतिर जान पनि उनीहरूको मन मानिरहेको थिएन । पार्टीका नेता–कार्यकर्तामा आएको यस किसिमको विकृत अवस्थालाई आज उनीहरू अघाउन्जेल हेर्न चाहन्थे ।

‘अचेल त नेताहरू पनि नेताहरूकै ठाउँमा रहेनन् कमरेड ? न चिन्तन छ, न अध्ययन छ, न गतिलो व्यवहार छ । सिद्धान्तलाई जाँड र रक्सीमा साटेका छन् । बिरालाले मुसो डुवाके झैँ कहाँबाट पैसा आउँछ भनेर डुवाक्न मात्रै जानेका छन् । यस्तो अवस्थामा त आफूलाई कम्युनिस्ट हुँ भन्न पनि लाजमर्दो पो भयो त ?’ खिमबहादुरको निराशा मिसिएको यो स्वर सुनेपछि उस्तै भावमा टीकारामले भने, ‘सिद्धान्तहीनहरूको पछाडि लागेर हिँड्नुपर्दा त निकै पीडा हुँदो रहेछ खिमजी ? तपाईँले सही कुरा गर्नुभयो । आफूलाई पार्टी सदस्य हुँ भन्न पनि लाज लाग्ने अवस्था आएको छ । नेताहरू नै राजा महाराजा बनेका छन्, कार्यकर्ताहरूमाथि हैकम चलाएका छन् । हाम्रा त कुरा नै सुन्न छोडिसके । हाम्रा कुरा नसुन्नेले सर्वसाधारण जनताका कुरा के सुन्लान् ?’

‘बस्तीमा झाडापखालाका कारण मान्छे औषधि उपचार नपाएर छटपटाइरहेका छन् । पशुमा फैलिएको रोगले बस्तुभाउ मरिरहेका छन् । मल नपाएर किसानहरूले धान रोप्न पाएका छैनन् । यता हाम्रा कमरेडहरू भने घाँटीमा भैँसी बाँध्ने दाम्ला जत्रा सिक्री हल्लाएर रक्सी पिइरहेका छन् । क्या गजब छ हगि ? ऊ त्यो कमरेडको औँलामा हेर्नुस् न ?’ टीकारामले अलि परको टेबुलमा गलामा लगभग पाँच तोलाको जस्तो देखिने सुनको सिक्री र हातका तीनवटा औँलामा टल्किएका औँठी देखिएको मोटो जिउको कमरेडतर्फ सङ्केत गर्दै दुखेसो पोखे ।

‘पार्टी अब पार्टी जस्तो रहेन कमरेड ? ठेकेदार नभएसम्म त पार्टीको मेम्बर पनि नपाउने अवस्था आइसक्यो । अहिले हाम्रो पार्टी यस्तै झ्यापुल्ले डनहरूको कब्जामा पुगिसकेको छ । जब पार्टीमा तस्कर र माफियाहरूको हाबी हुन्छ तब हाम्रो त के नै मूल्य रहन्छ र ? अझ यिनै तस्करहरूलाई ‘ज्यू, हजुर’ गर्नुपर्दा त साह्रै ग्लानिबोध हुन्छ कमरेड ?’ खिमबहादुरले पनि आफ्नो मनभित्र भरिएर आएको पीडा पोखे ।

पुरुष कमरेडहरू ननस्टप पिइरहेका थिए । अर्डरअनुसार मटन र चिकेनका विभिन्न परिकारहरू उपलब्ध थिए । थरीथरीका स्न्याक्सले टेबुलहरू भरिएका थिए । ‘यही किसिमको खानपानले त तिन दिनसम्मको खर्च पनि धेरै नै हुन्छ होला हगि कमरेड ?’ टीकारामले कफीको चुस्की लिँदै खिम कमरेडतिर जिज्ञासा तेर्स्याए ।‘प्रशिक्षण अवधिभरको खानपान, बसोबास लगायतको सबै आर्थिक भार हाम्रो पार्टीका पोलिटब्युरो कमरेड मलहोत्राले बेहोर्ने भनेका छन् रे ?’, खिमबहादुरले टीकाराम कमरेडको जिज्ञासाको शमन गरे ।अब भने टीकाराम र खिमबहादुर मलहोत्राका बारेमा केन्द्रित भए । टीकारामले सोधे, ‘मलहोत्रा सा’बको त्यस्तो के बिजनेस रहेछ कमरेड रु पैसाको त खोलै बगाउन सक्दा रहेछन् नि ?’

टीकारामको प्रश्नमा आफूले जानेबुझे जति कुरा बताउने हिसाबले खिमबहादुर बोले, ‘वैदेशिक व्यापारमा यिनको ठुलो पहुँच छ भन्ने कुरा सुनेको छु । यिनको कारोबार पूर्वी एसियाको हङकङबाट पश्चिमतिर खाडी मुलुक हुँदै युरोपसम्म पनि फैलिएको छ रे ?’ खिमबहादुरले अगाडि थपे, ‘हाम्रो पार्टीका उद्योगी, व्यापारीहरूको नेतृत्व यिनैले गरेका छन् । पार्टीले पनि आर्थिक विभाग हेर्ने जिम्मा यिनैलाई दिएको छ ।’‘‘यिनी हाम्रो पार्टीका कोषाध्यक्ष हुन् । सत्रौँ महाधिवेशनले नै यिनलाई कोषाध्यक्षमा निर्वाचित गरेको कुरा त मलाई पनि थाहा छ नि ?’ खिमबहादुरको कुरा काटेर बिचैमा टीकाराम बोले ।

खिमबहादुरले मलहोत्राकै विषयलाई अगाडि बढाए, ‘यिनले अध्यक्ष कमरेडसँग आफूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाउन आग्रह गरेका थिए रे तर अध्यक्षले चाहिँ अर्कोपटक हुने मन्त्रीमण्डलको फेरबदलमा बनाउने आश्वासन दिएका छन् भन्ने पनि सुनेको छु ।’साँझ अघि नै घर्किसकेको थियो । अन्धकारले साम्राज्य जमाउन थालेको पनि घेरै नै समय भइसकेको थियो । टीकारामले झ्यालबाट बाहिरतिर नजर पुर्‍याए । बत्तीहरू बलेर झिलिमिली बनेको सहर उनको आँखैमा आएर टाँसिस्यो । केही समय त्यही दृश्यमा हराए उनी । खिमबहादुरका नजर पनि केही समयका लागि त्यतै पुगे । सहरभन्दा पारिपट्टिको पहाडी बस्तीमा पनि उस्तै बत्ती बलेका । समय बर्खाको भए पनि आकाशमा बादल थिएन । अँध्यारो धर्तीलाई बत्तीले सुन्दर तुल्याएजस्तै आकाश पनि थरीथरीका ताराहरूको कारण सुन्दर देखिएको थियो । सुप्पाभरि फूल उठेका मकै राखेजस्तै थियो आकाश ।

केही समयको बाहिरी दृश्यावलोकनपश्चात् पुरानै अवस्थामा फर्केर टीकारामले काउन्टरभन्दा माथि भित्तामा झुन्ड्याइएको घडीमा आँखा पुर्याए । यद्यपि उनको नाडीमा पनि घडी थियो तर झ्यालबाट मुन्टो फर्काउने क्रममा उनका आँखा सिधा अगाडि काउन्टरमाथिको भित्तामा पुगेका थिए । रातको बाह्र बज्न लागेको रहेछ । यति बेलासम्म लगभग दुई तिहाइ जति कमरेडहरू अझै पनि खानपानमै मस्त थिए । खाएपिएको तालमा मच्चाइएको कोलाहलका कारण एउटाले बोलेको कुरा अर्काले बुझ्न पनि कठिन थियो । सामुन्नेको टेबुलमा बसेका महिला कमरेडहरू वाइनपछि बियर पिउन थालेका रहेछन् । तिनीहरूको टेबुलमा दुईवटा टुबर्ग नामका बोतल ठडिएका थिए ।‘बाह्र बजिसक्यो । रात त घर्कँदै गएछ नि ? अब खाना खाएर सुतौँ भो कमरेड ’ टीकारामको आग्रहसँगै दुवै जना खाना खाइवरी बेडरुमतिर लाग

प्रशिक्षण कार्यक्रम सकिएपछि घर छोडेको पाँचौँ दिनमा टीकाराम घर पुगे । घर पुगेकै साँझदेखि उनको पेटमा गडबडी आयो, पखाला चल्न थाल्यो । उही साँझ चार पाँच पटकसम्म उनलाई ट्वाइलेट जानु पर्यो । घरमै साँचोमुचोको रूपमा जोगाड गरिएको डाइजिन र जीवनजलले पनि राम्रो काम गरेन । दिउँसो सात–आठ घण्टासम्म बस र जिपको यात्रा । शरीर थाकेको थियो त्यसमाथि पखालाले हैरान पार्दा उनी निकै शिथिल हुन पुगे ।टीकारामकी श्रीमती अलि कडा स्वभावकी थिइन् । लोग्नेलाई हपारेको स्वरमा भनिन्, ‘सित्तैँमा खान पाएँ भन्दैमा जति पनि खाने अनि सञ्चो हुन्छ त ? अब त उमेर पनि पचास कटिसक्यो, जे पायो त्यही खाएर पच्दैन नि, आफैँले बुझ्नुपर्छस अड्कलेर खानुपर्छ । आफ्नो शरीरको ख्याल त आफै गर्नुपर्छ नि, यस्ता बुढा मान्छेलाई पनि के सम्झाउनु ?

टीकारामले मनमनै भने– ‘सञ्चो नहुँदा त यसरी नबोले पनि हुन्थ्यो नि १’ उनी पखाला लाग्नको कारणबारे घोत्लिए । फुड पोइजनका कारण नै यो अवस्था आएको भन्ने उनलाई लाग्यो । यद्यपि उनले खानपानमा निकै विचार पुर्याएका थिए । चिल्लो, अमिलो र पिरो खानेकुरामा बढी बल गरेका थिएनन् । पानी पनि उमालेको स्वच्छ नै पिएका थिए । खानपानबारे सोच्दै र सम्झँदै जाँदा उनी तेस्रो र चौथो दिनको दिउँसोको खाजामा खाएको मोमोको कारणबाट पखाला चलेको हो भन्ने निष्कर्षमा पुगे ।राति दुई बजेसम्ममा छैटौँ पटक ट्वाइलेट गएर आएपछि ज्यान नातागत भयो । डङ्ग्रङ्ङ बिछ्यौनामा पल्टेका उनलाई लाग्यो– ‘अब त ट्वाइलेट पुगेर आउन पनि सकिन्न होला ।’

निरन्तर ट्वाइलेट आवतजावतका क्रममा उनी लखतरान भइसकेका थिए । फेरि पनि पखाला आउनै लागेको थियो, बलजफ्ती पचाए । तीन–चार कति बजेको थियो कुन्नि १ बल्ल झकाए उनी । बिहानीपखको गाढा निद्रामा उनले अनौठो सपना देखे । सपनामा उनै मलहोत्रा सा’बले विमानस्थलको भन्सारको गोदामबाट तीन चारवटा सुटकेस घिसार्दै ल्याउन लगाएर आफ्नो गाडीमा राख्न लगाएका थिए । निकै गह्रुङ्गा खालका ती सुटकेसमा के रहेछन् भनेर हेर्नका लागि वरिपरि मानिसहरूको भीड बढेको थियो । टीकाराम आफू पनि त्यही भीडमा मिसिन पुगेका थिए । ती सुटकेसहरू बोकेको गाडी कतै नरोकिई पार्टी अध्यक्षको घरतिरको बाटो लागिसक्दा समेत भीड तितरबितर भएन । सायद ती सुटकेसमा पार्टी अध्यक्षका लागि विदेशबाट आयात गरिएको कोसेली थियो । भन्सारका कर्मचारीहरूले ती सुटकेसहरूको चेकजाँच गरेका थिएनन् यसै अर्थमा कोसेलीमा के थियो भन्ने कुरा भिडले बुझ्न चाहेको थियो । भिडले नारा लगाउन थाल्यो । प्रहरीले भीड तितरबितर पार्नका लागि लाठीचार्ज गर्‍यो । टीकारामको टाउकामा लाठीको चोट पर्‍यो । उनलाई टाउकामा टुटुल्को उठेजस्तो लाग्यो । टाउकाको टुटुल्को छाम्ने उद्देश्यले हात टाउकातिर लैजाने क्रममा उनी ब्युँझे ।

सपनामा अनुभव गरेको टाउकाको टुटुल्काले उनलाई आफूलाई बिमार पार्ने मोमोका डल्लाहरूको सम्झना गरायो । उनले प्रशिक्षण कार्यक्रमको तेस्रो र चौथो दिनमा दिउँसोको खाजाका रूपमा मोमो खाएका थिए । उनलाई फेरि पनि तिनै मोमोका डल्लाले आफ्नो पेटमा गडबडी मच्चाएको हो भन्ने लाग्यो । उनले मनमनै अब उप्रान्त मलहोत्रा कमरेडले प्रायोजन गरेका मोमोका डल्ला मात्र नभई अरू कुनै पनि किसिमका खानेकुरा नखाने प्रण गरे ।

बाहिर घाम उदाउनै लागेका थिए । ठिक यही समयमा पुनः पखालाले च्याप्यो । ट्राउजर समाउँदै बिछ्यौनाबाट उठे । ढोकाबाट बाहिर निस्कनै लाग्दा उनको कानमा श्रीमतीको आवाज पर्‍यो– ‘अरूले कत्रा कत्रा डलरका बिटा र सुनका लाप्सा पचाउँछन् ? तपाईँ चाहिँ जाबो मोमोका डल्ला पनि पचाउन नसक्ने, पाउनु केही छैन, खालि पार्टी भन्या’छ, घरको काम छाडी छाडी पार्टीमा हिँड्या’छस छोडिदिनोस् यस्तो पार्टी ?’

श्रीमतीको कुरा सुनेर पनि उनले नसुनेजस्तो गरे । उनलाई बोलेर बस्ने समय नै थिएन, ट्वाइलेट जान हतार भइसकेको थियो । ट्वाइलेट पसेर एकपटक खुलुल्ल पारेपछि उनी सोचमग्न भए । प्रशिक्षण कार्यक्रममा नेता र कार्यकर्ताहरूले देखाएका हर्कतहरू आएर दिमाग भरियो । यसपछि भने उनले श्रीमतीको आग्रहको प्रत्युत्तर मनमनै फर्काए, ‘ठिक भन्यौ कमला ? अब म यस पार्टीमा रहनुको पो के नै अर्थ रह्यो र ?’


२०८० साउन २७ १२:३६ बजे

प्रतिक्रिया