परि थापाको सँम्झनामा गिरिजा वावु

bimbonline परि थापा
२०८० साउन १६ ०८:३३ बजे

काठमाण्डौ। तत्कालिन जनमोर्चा नेपालका उपाध्यक्ष एव हाल क्रान्तिकारी कम्युनिष्ट पार्टी  नेपाल का नेता परि थापाले जनआन्दोलन २०६२\२०६३ को क्रममा गिरिजा प्रशाद कोइराला सँग आफ्नो सँगतको सँस्मरण गर्दै उहाँका वारेमा  आफ्नो फेसवुकमा लेखेका छन। गिरीजा प्रसाद कोईराला लाई बोलिचालीको भाषामा सबैले “गिर्जाऊ” भनेर बोलाउने वा सम्बोधन गर्ने गर्थे। पहिले सामान्य चिनजान र भेटघाट भएपनि मेरो उनी संग बाक्लो उठबस वा संगत भने ज्ञानेन्द्र शाहले राज्यको सम्पूर्ण बागडोर आफ्नो हातमा केन्द्रित गरेर निरङकुश एवम् अधिनायकवादी शासन व्यवस्था सन्चालन गर्न शुरु गरेपछि भएको हो। 

 ज्ञानेन्द्रको शासनका विरुद्ध आन्दोलन सन्चालन गर्नका लागि तत्कालिन सात दलीय कार्यगत  एकता निर्माण भएको थियो। उक्त मोर्चाको बैठक बसि राख्नु पर्ने हुन्थ्यो तर गिर्जाऊको स्वास्थ्य समस्याका कारण धेरैजसो बैठक उनकै निवास (सशाङक को घर) मा हुने गर्दथ्यो। एकाविहानै बैठकमा जादां कंग्रेसका कार्यकर्ताहरु त्यहां पहिल्यै पुगिसकेका हुन्थे। एक पटक नेपाल प्रध्यापक संघका अध्यक्ष भूपति ढकाल ‘कमल’ र महासचिव महेन्द्र यादव भेटिए। यति सवेरै किन आएको भनेर सोध्दा उनीहरुले भने, “काम परेर आएको होईन, गिर्जाऊको ‘दर्शन’ गर्न आएको हो, यति भएपछि हामी काँग्रेस मै छौं भन्ने पक्का भयो, अब फर्कन्छौं।”

एक पटक सात दलले बागबजार चोक देखि पुतलि सडक हुंदै जन प्रदर्शन गर्ने र सबै पार्टीका शिर्ष नेताहरु अग्रिमपंतिमा सामेल हुनुपर्ने निर्णय गरेको थियो। उक्त निर्णय अनुसार गिर्जाऊ पनि कार्यक्रममा सहभागि भए। जुलुस बागबजारको बिचमा पुग्दानपुग्दै प्रहरिले अस्रु ग्यास र लाठी प्रहार (चार्ज) गरिहाल्यो। उनको टाउकोमा चोट लागेछ र बेहोस जस्तै हुन पुगेछन। उनलाई तत्काल बागबजार स्थित हार्दिक होटलको एउटा कोठामा लगेर प्राथमिक उपचीर गरियो। त्यतिखेर तत्कालिन जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचन र म (उपाध्यक्ष) पुगेका थियौं।

गिर्जाऊ कुशल वक्ता (Orator)  थिएनन् तर असल संवाद (Dialogue)  कर्ता थिए। बैठकको दौरानमा खाली समयमा उनले आफ्ना अनुभवहरु सुनाउंथे। एक पटक उनले एउटा अन्तर्राष्ट्रीय कार्यक्रममा क्युबाका भूतपूर्व राष्ट्रपति फिडेल क्यास्ट्रो र प्याल्स्टाईनका भूतपूर्व राष्ट्रपति यासेर अराफात संग भेटेको कुरा सुनाए। एउटा कार्यक्रममा संगसंगै हिडीरहेको बेलामा विभिन्न हतियारहरु प्रदर्शनीमा राखेको देखेपछि अराफातले एउटा पेस्तोल समातेर खेलाउन थालेछन। अनि गिर्जाऊ र क्यास्ट्रो संगै अधि बढेछन, त्यतिखेरै क्यास्ट्रोले उनीसंग नेपालमा उखु खेति हुन्छ ? भनेर सोधेछन। उनले हुन्छ भनेछन अनि क्यास्ट्रोले कति हुन्छ भनेर सोधेछन, उनले त्यो त थाहछैन भनेछन। उनले फिडेल क्यास्ट्रो र मलेसियाका भूतपूर्व प्रधानमन्त्री महाथिर मोहम्मद लाई महाभाषणवाज हुन भन्थे।

गिर्जाऊ चुरोटको अम्मलि  (Chain Smoker) थिए। अनौपचारिक बैठकमा उनले लगातार चुरोट तान्ने र अग्लो सिसाको ग्लासमा दुध चिया पिउने गर्दथे। तर चुरोटको धुंवा नाकबाट भने उडाउंदैनथे। मुखले तानेर मुख बाटै फाल्ने गर्दथे। उनले सधैं सफा सुग्घर पोशाक पहिरने गर्दथे र हिड्दाखेरी पूरै सिधा भएर फटाफट हिड्थे। उनले प्राण त्याग गर्नु अगाडि पनि आफ्नो सहयोगिलाई राम्रो संग दाह्री जुंगा खौरिदिन र अन्त्येष्टि गर्न भनेका रहेछन।


२०८० साउन १६ ०८:३३ बजे

प्रतिक्रिया