फिरन्ते जीवन बिताउने पो राउटे हुन, आमपानीका त दुनियाँ भइसके -राउटे मुखिया

bimbonline बिम्ब अनलाइन
२०८० साउन ८ १५:०९ बजे

दैलेख। राउटे समुदायका मुखिया वीरबहादुर शाही फिरन्ते जीवन नबिताउनेलाई राउटे भन्न नमिल्ने टिप्पणी गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘फिरन्ते जीवन बिताउने हामी पो राउटे हुँ, आमपानीका त अब दुनियाँ भइसके ।’राउटे जातिको एउटा समूह डडेल्धुराको पर्शुराम नगरपालिका–१२ आमपानीमा स्थायीरूपमा बस्दै आएको छ । आमपानीमा बस्दै आएको यो राउटे समुदायका बालबालिका विद्यालय जाने अनि वयस्कहरूले मजदुरी गर्ने गर्छन् । सामान्य जनजीवनमा फर्किएकाले उनीहरूलाई राउटे मान्न नसकिने वीरबहादुर शाहीको टिप्पणी छ ।

अहिले परम्परागतरूपमा बस्दै आएको राउटे समुदायको पनि जनसङ्ख्या घट्दै गएको छ । राउटे समुदायको जनसङ्ख्या घट्दै जानुको मुख्य कारण जाँड–रक्सीको कुलत रहेको जिल्ला समन्वय समितिका प्रमुख नमराज शाही बताउनुहुन्छ । सामाजिक विकास कार्यालय दैलेखले राउटे समुदायका लागि उपलब्ध गराएको त्रिपाल, खाद्यान्न र सहायक सामग्री हस्तान्तरण गर्न पुग्नुभएका प्रमुख शाहीले बस्ती सर्दै हिँड्ने, अव्यवस्थित बसोबास तथा अस्वस्थकर खानपिनलगायतका कार‌ण पनि राउटे समुदायको जनसङ्ख्या घटेको बताउनुभयो ।राउटे समुदायको संरक्षणका लागि जाँड–रक्सीलगायतको कुलत छुटाउन, फजुल खर्च नियन्त्रण र स्वस्थ जीवनशैलीमा ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले राउटे समुदायको जीवनस्तर सुधार्न प्रत्यक्ष रेखदेख तथा सहयोग गर्न निकाय तोकिनुपर्ने, सीपअनुसार उत्पादन गरिएका सामग्रीको बजारीकरण र सामाजिकीकरणका लागि बालबालिकालाई पढाउन सुझाव दिनुभयो ।

हरेक दुई र तीन महिनामा बस्ती सर्दै हिँड्ने क्रममा राउटे समुदाय असार दोस्रो हप्तादेखि महाबु गाउँपालिका–३ बालतडामा बस्दै आएका छन् । 

सामाजिक विकास कार्यालयले राउटे समुदायको ४१ परिवारका लागि हरेक घरधुरीलाई एकरएक वटा पाल, कम्बल, तन्ना, ऐना, काइयोँ, दारी काट्ने मेशिन तथा एक सय ४१ जनालाई लगाउने कपडा र बालबालिकालाई खेलकुद सामग्री दिएको छ । यस्तै समुदायको आवश्यकता र राउटे मुखियासँगको सल्लाहमा पुरुषहरूले नसिलाएरै लगाउने गादो, बालिकाहरूका लागि फरक र वयस्क महिलाहरूले आफैँले सिलाउने ब्लाउज तथा लुङ्गीको कपडा वितरण गरिएको थियो । त्यस्तै ४१ परिवारलाई २५ केजीका दरले चामल, दुईरदुई वटा नुहाउने र कपडा धुने साबुनसमेत दिइएको सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख महेशकेशर खनालले जानकारी दिनुभयो ।


२०८० साउन ८ १५:०९ बजे

प्रतिक्रिया