काठमाण्डौ । “योग्यता नै सम्पत्ति हो” अब्राहम लिङ्कन । विद्यालयको भित्तामा ठूलो अक्षरले लेखिएको यो भनाइमा दिलीपको दृष्टि पर्यो । उक्त भनाइ उनले एकक्षण उभिएर हेरिरहे ।
आज विद्यालयको ३० औँ वार्षिकोत्सव । सम्पूर्ण अभिभावकलाई आमन्त्रण गरिएको थियो । छोरा र बुहारीको अफिस जानु परेकोले नातिलाई लिएर दिलीप कार्यक्रम स्थलमा उपस्थित भए । विद्यालयको प्राङ्गण दुलही लिन जाने कारजस्तै सिङ्गारिएको छ । आकर्षक मञ्च, मञ्चमा लहरै राखिएका मेच र मेचमा बसिरहनुभएका अतिथिहरूको दृश्यले केही क्षणमा कार्यक्रम सुरु हुने सङ्केत दिइरहेको छ ।
प्रमुख अतिथिले भन्नुभयो, “जसरी बोटबिरुवालाई हराभरा बनाउन समय समयमा गोडमेल, मलजल र संरक्षणको आवश्यकता पर्दछ, त्यसरी नै हाम्रा छोराछोरीहरूलाई योग्य, सक्षम र असल नागरिक बनाउन विद्यालयबाट गुणस्तरीय शिक्षा र अभिभावकहरूबाट आवश्यक शैक्षिक सामग्री, घरमा पढ्ने वातावरण, स्वस्थ खानाको बन्दोबस्तबारे निगरानी राख्नुपर्ने हुन्छ । पैसा हुनेहरूले त आफ्नो धन व्यापार, घर–जग्गा, उद्योगधन्दामा लगानी गर्छन्, नाफा कमाउँछन्स ऐश आरामको जीविकोपार्जन गर्छन् । तर, गरीबहरूले आफ्ना सन्तानलाई राम्रोसँग पढाउनुपर्छ । शिक्षामा लगानी गरेको खेर जाँदैन । भोलि त्यही सन्तान बुढेसकालको हाम्रो सहारा बन्छ ।”
प्रमुख अतिथिको भाषणले दिलीपको मन छोयो । यसले आफ्नो विगतलाई सम्झना दिलायो । ठूलो छोरालाई ख्वप इन्जिनियरिङ कलेजमा इन्जिनियर पढाउने ठूलो अभिलाषाले पढाइयो । सानो छोराले पनि इन्जिनियर नै पढ्ने इच्छा प्रकट गर्यो । अन्तभन्दा सस्तो र राम्रो भएकोले सञ्चयकोषबाट सापटी लिँदै जसोतसो पढाइयो । छोरीलाई साइन्स पढाएर असल शिक्षिका बनाउने सोचियो । तर छोरीले दाइहरूको पालोमा भए पैसा छैन भन्नुभएनस मेरो पालोमा पैसा छैन भन्नुभयोस यो त छोरा र छोरीमा भेद भएन र ? भन्ने छोरीको आमामार्फत मार्मिक कुरा सुन्नुपर्दा ‘आफू ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो’ झै भयो ।
छोरीको मनासिब अभिव्यक्तिलाई मनन गरेर दिलीपले सहकारीमा ऋण लिएर इन्जिनियरिङ नै पढाए । दुःख पनि पाहुनाझैँ केही समय रहने र आफ्नो बाटो लाग्ने रहेछ । आज ती नै जना छोराछोरीहरू इन्जिनियर भए । उनीहरू आ–आफ्नो काममा व्यस्त छन। आत्मनिर्भर छन खुसी छन। हाम्रो सहारा भएका छन् । गरीबको लागि शिक्षा सम्पत्ति नै रहेछ भन्ने कुरा दिलीपले बल्ल बुझे ।
प्रतिक्रिया