डोटी (कविता)

bimbonline नरेन्द्र देवकोटा
२०८० असार १६ २१:०४ बजे

यतिखेर आषारको मध्य छ

बस्ती र आगनीहरूमा

घरीघरी झरी परिरहेछ

झरी नपरेको बेलामा

बादलुको घुम्टो ओढेर

बादलभित्रै हराइरहेछ

सुन्दर सेतीभित्रको डोटी ।


अझै डोटी यतिखेर वर्षकै महत्त्वपूर्ण 

याम छोप्दै मानु रोपेर मुरी फलाउने

महान् उत्सवमा अग्रसर भइरहेछ 

चिसो तातो घामपानी केही नभनी

खेतीपातीमा मस्त जुटिरहेछ ।


किसान आली र गराहरूमा

गोरु नारेर खेत हिल्याई रहेछन्

महिला रोप्नेरीहरु स्याँकु

ओढेर पनि खेत रोपी रहेछन्

बाउसेहरू खेतका आली भिट्टा

बनाउनमा मस्त देखिन्छन्

केटाकेटी रमाउँदै रोपाई हेरिरहेछन्

एउटा रमाइलो पक्ष रोपाराहरू

हली बाउसे युवा युवती सबै

रोपाई सँगै मस्त हिलो खेली रहेछन् ।


जतासुकै हरियाली छाइरहेछ

जातजातका फूल फुलिरहेछन्

यो समय आँपले बजार लिइरहेछ

ठाउँ ठाउँमा मानिसहरू

आँप खाइरहेका देखिन्छन् ।


सेती पानी बढेर फुर्ती देखाई रहिछन्

मान्छे सेतीसँगै बढेको बाढीसँग

डर पनि उत्तिकै मानिरहेछन्

सेती बढ्दाको ताण्डव निकै

डरलाग्दो मानिन्छ

कनमना छ कहिँ कतैपनि

अप्रिय खबर सुन्न नपरोस् ।


डोटीको सिरानमा पर्ने खप्तड पनि

निकै हरियाली र सुन्दर देखिन्छ

खप्तडका लोभ लाग्दा 

रङ्गी विरङ्गी फूल फूलेका घाँसे मैदान र 

बादलूका गुच्छाले मन कता कता

डुलाई रहेछ रमाई रहेछ

साँच्चिकै यतिखेर डोटी

सुन्दर रमणीय र मनमोहक देखिरहेछ ।

२०८० असार १६ २१:०४ बजे

प्रतिक्रिया