आषाढ पन्ध्र (कविता)

bimbonline बिम्ब अनलाइन
२०८० असार १५ ११:४२ बजे
नरेन्द्र देवकोटा

अषाढको पन्ध्र दर्किने झरी गोरु छन् नारीएका

रमाउँदै सेँकु ओढेरपनि  रोप्नेरी खेत रोपिरहेका

छुपु छुपु रोप्दै हिलोमा गाउदै मिठा अषारे भाका

किसानहरू आनन्द लिरहेछन् भिजे पनि मनमा ।


गोरु जोत्नेपनि हलोमै रमाई खेत हिल्याइरहेछन्

हिलै लागेका भिजेका लुगा दिनै भरी लाइरहेछन्

चिसो नमानी मानु रोपेर पाथी फलाउने याम भन्दै

खेतका ती आली धान रोपी हराभरा पारिरहेछन् ।


साना बाबु नानी घरमा छाडी बाआमा कष्ट नमानी

भोक तिर्खा केही नभनी  आषारे पन्ध्र उत्तम ठानी

खेतभरि धान रोप्दा बिर्सिन्छन् जे जति पनि दुख

मङ्सिरमा अन्नले भकारी भरिदा ठान्छन् त्यही नै सुख ।


अहिले दुख गरे मालिक भइन्छ भन्ने सोची  मनभरि 

हिलो मैलो चिसो शीत हावा हुरी भोक तिर्खा नभनी

दुःख नै रोजी कर्ममा विश्वासगरी पोखिरहेछन् पसिना 

दही चिउरा खाई आषाढ पन्ध्र मनाउ यही छ कामना !!

२०८० असार १५ ११:४२ बजे

प्रतिक्रिया