श्रमदानबाट पुल निर्माण गर्दै इच्छाकामना

bimbonline बिम्ब अनलाइन
२०८० असार १० ०८:५४ बजे

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिकाले श्रमदानबाट पुल निर्माण सुरु गरेको छ । इच्छाकामना गाउँपालिका–७ को गर्दास र स्याङ्दी जोड्ने पुल श्रमदानबाट निर्माण गर्न सुरु गरिएको हो ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले शनिबार श्रमदान गरेर पुल निर्माणको काम शुभारम्भ गरे । उनले गाउँघरमा श्रमदान गरेर विकास निर्माणका काम गर्ने परम्परा हराउन थालेको भन्दै पालिकाले श्रमदानमा जुट्न स्थानीयलाई प्रोत्साहन गरेको बताए । उनले श्रमदानका लागि जनप्रतिनिधि, कर्मचारी र स्थानीय बासिन्दालाई आह्वान गरिएको जानकारी दिए ।

‘तीसदेखि ४० प्रतिशत श्रमदानबाट पुल निर्माणको काम गर्नेछौँ’, उनले भने, ‘प्राविधिक र निर्माण सामग्रीका लागि आवश्यक बजेट गाउँपालिकाले व्यवस्था गरेको छ ।’उनले पुल निर्माणका लागि गाउँपालिकाले रु १५ लाख बजेट विनियोजन गरेको जानकारी दिए । असार महिनाभित्र सम्पन्न गर्ने गरी काम अघि बढाइएको भन्दै उनले पालिकाले नियमित निगरानी गर्ने बताए ।

यसअघि हरिपुर खोलामा राखिएको बेली ब्रिजको संरचना प्रयोग गर्ने गरी स्याङ्दी खोलमा पुल निर्माण गर्न लागिएको इच्छाकामना–७ का वडाध्यक्ष बमबहादुर राना मगरले जानकारी दिए । हरिपुर खोलामा अहिले पक्की पुल निर्माण भइसकेको छ । उनले बेलीब्रिज राख्नका लागि वडावासीले श्रमदान गर्ने बताए। उनले पुल निर्माणपछि गर्दास र स्याङ्दीका बासिन्दा लाभान्वित हुने जानकारी दिए । हरेक वर्ष स्याङ्दी खोलामा आउने बाढीका कारण विद्यालय जाने विद्यार्थी र स्थानीयले सास्ती खेप्दै आउनुपरेको थियो ।


२०८० असार १० ०८:५४ बजे

प्रतिक्रिया