समाजवादी मोर्चाको औचित्यता

प्रचण्डहरुले साम्राज्यवाद र विस्तारवादका अगाडि आत्मसमर्पण गरिसके । देशलाई टुक्रा टुक्रा पारेर बेचिसके । दलाल तथा नोकरशाही पुँजीवादको कारिन्दाको रुपमा नियुक्ति पाइसके । उनीहरू अब जनताको होइन, साम्राज्यवाद र विस्तारवादका विश्वासपात्र बनिसके । अब त्यहाँबाट फर्कन सक्ने कुनै बाटो छैन । यदि फर्कन खोज्ने हो भने प्रभाकरण वा विन लादेन बन्ने डर पनि त्यत्तिकै छ

bimbonline बिम्ब अनलाइन
२०८० असार ६ १०:१७ बजे
सन्त वहादुर नेपाली

 काठमाण्डौ।  यहाँसम्म आईपुग्दा एउटा राम्रो पक्ष के भएको छ भने कमरेड विप्लवले नेतृत्व गरेको नेकपा पनि यो मोर्चामा सामेल भएको छ र यसको गुणात्मक र क्रान्तिकारी महत्त्व छ । हामी अलिकति पार्लियामेन्द्री पोलिटिक्समा अलि बढी लागेकोमा केही धुलो मैलो जम्मा भएको छ । शायद विप्लव जस्ता पार्टीहरू यहाँ मोर्चामा आउँदा हाम्रो धुलो मैलो सफा गर्न पनि मद्दत हुन्छ भन्ने मलाई लाग्छ ।” यो भनाई माओवादी केन्द्रका अध्यक्ष तथा हालका प्रधानमन्त्री पुष्पकल दाहालको समाजवादी मोर्चा गठनको घोषणा सभामा प्रकट गरिएको विचार हो यो ।प्रचण्डको यो भनाईमा यथार्थता र वास्तविकता छ ।

प्रचण्डको पार्टीले देशमा १० वर्षे जनयुद्ध गरेको थियो । जनयुद्ध त्यतिबेला वस्तुगत परिस्थितिको मूल्याङ्कन नगरिकन गरिएको थियो । रूस, चीन लगायतका मुलुकहरूमा जस्तै नेपालमा पनि उग्र“वामपन्थी” कार्वाही गरिएको थियो । लेनिन र माओले त्यसप्रकारका “वामपन्थी” भट्कावको धेरै नै विरोध गर्नु भएको छ । देशमा सामन्ती अधिनायकवादका विरुद्ध जनताले असन्तुष्टि प्रकट गरिरहेका बेला जनयुद्धको घोषणाले कतिपयलाई त आफ्नो छिपछिपे बुझाईलाई व्यवहारमा प्रयोग गर्दा सन्तुष्टि मिले पनि कतिपयलाई जनयुद्धको नाममा घरबाट घसिटेर युद्धमा होम्ने काम पनि भएको थियो । त्यसको परिणाम आजसम्म पनि यत्रतत्र समस्या र विवाद अदालतहरूमा पोखिएको देखिएको छ । कार्यकर्ताले नेतृत्वप्रति विश्वास गर्‍यो । देशमा नयाँ जनवाद र समाजवाद आउने सपना देख्यो । उनीहरूले नेतृत्वलाई विश्वास गर्दा नेतृत्वको वैचारिक बालापनलाई बुझ्न सकेनन् ।

नयाँ जनवाद र समाजवादको सपना देख्ने बेलामा उनीहरूले पार्टीको आत्मगत अवस्था र जनताको चेतनालाई राम्रोसँग बुझ्न सकेनन् । जनयुद्धमा लागेका युवाहरूले क्रान्तिकारी रोमान्सका दुई चार वाक्यलाई शिरोपर गरे । तर मूलत समग्रमा त्यो उग्र“वामपन्थी” भट्काव थियो भन्ने कुरा नै बुझेनन् । लेनिनले भने जस्तो उग्र“वामपन्थी” भटकाव दक्षिणपन्थी भासमा पतन हुन्छ भन्ने कुरा आज सही सावित भएको छ । जनताले निर्दोषहरू किन मारिएको ? किन वेपत्ता पारियो ? किन बलात्कारमा परियो ? किन जेल परियो ? भन्ने कुराको त कतिपयलाई छेउ टुप्पो थाहा भएन । थाहा यदि थियो भने केही मुठ्ठीभर नेता र कार्यकर्तालाई मात्र । अरुले त सपना मात्र देखेका थिए । सपना देख्नु गलत थिएन । तर सपना देखाउनेले ठीक सित देखाउन सकेनन् ।

आज जनताले १० वर्षे जनयुद्धको पीडा भोगिरहेका छन् । तर सपना देखाउनेहरूले आफ्नो बाटो परिवर्तन गरिसके । उनीहरू साम्राज्यवाद र विस्तारवादका अगाडि आत्मसमर्पण गरिसके । देशलाई टुक्रा टुक्रा पारेर बेचिसके । दलाल तथा नोकरशाही पुँजीवादको कारिन्दाको रुपमा नियुक्ति पाइसके । उनीहरू अब जनताको होइन, साम्राज्यवाद र विस्तारवादका विश्वासपात्र बनिसके । अब त्यहाँबाट फर्कन सक्ने कुनै बाटो छैन । यदि फर्कन खोज्ने हो भने प्रभाकरण वा विन लादेन बन्ने डर पनि त्यत्तिकै छ । पटकपटक ‘हेग’ मा पुगिने हो कि भनेर झल्याँस्स झस्किने गरेको अभिव्यक्ति त्यतिकै प्रकट गरिएका होइनन् । दलाल पुँजीवादी संसदीय प्रणालीको बफादार कारिन्दा बनिसकेपछि पनि प्रचण्ड कमरेडले समाजवादमा पुग्ने सपना देखाईरहनु भएको छ । सपना देख्नेले पनि देखिरहेका छन् ।

आफूमाथि “धुलो मैलो” लागेको उहाँले स्वीकार गर्नु भएको छ । अहिले त्यो “धुलो मैलो” सफा गर्न संसद मै भाग नलिएको र निर्वाचन बहिष्कार गरेको विप्लव नेतृत्वको नेकपाले प्रचण्डलाई साथ दिएको छ । त्यसलाई प्रचण्डले “राम्रो पक्ष” बताउनु भएको छ । माओवादीबाट फुटेपछि लामो समय विप्लव नेतृत्वको नेकपाले पनि क्रान्तिकारी रोमान्सवादको रिहर्सल गरिराख्यो । “एकीकृत जनक्रान्ति” “मध्यवर्ग क्रान्तिको वाहक शक्ति” “वैज्ञानिक समाजवाद” भन्दै प्रचण्डलाई “दलाल” “गद्दार” सबै थोक भन्न पुग्यो । आज पनि कैयौँ कार्यकर्ताहरू ध्वंशात्मक कार्य गरेको अभियोगमा जेल मै छन् । वैज्ञानिक समाजवादको सपना देखाइरहनु भएका क. विप्लव अहिले प्रचण्डको “धुलो मैलो” पखाल्न समाजवादी मोर्चामा सामेल भएको देख्दा हामी मात्र होइन, लाखौँ क्रान्तिकारी जनता, जसले क्रान्तिकारी रोमान्सवादभित्र पनि क्रान्तिको सपना देखेका थिए, लाई नराम्रोसँग विश्वासघात गर्नु भएको छ । उहाँहरू पनि दलाल तथा नोकरशाही पुँजीवादको विरोध गर्दागर्दा त्यसैका अगाडि आत्मसमर्पण गर्नु भएको छ ।

अहिले दलाल पुँजीवादको वफादार सेवक बन्ने होडमा प्रचण्डले काङ्ग्रेसलाई उछिनि सक्नु भएको छ । प्रचण्डलाई जनयुद्धको नायक देख्ने कार्यकर्ताहरू आज पनि निरिह र लाचार बनेर लाम लागेर उभिएका छन् । त्यही लाममा विप्लव पनि “धुलोमैलो सफा गर्ने” भनेर उभिन पुग्नु भएको छ । यसबाट दलाल पुँजीवादलाई ठूलो आशा र भरोसा जागेको छ । त्यति मात्र होइन, प्रचण्डको हाइट साम्राज्यवादका अगाडि धेरै माथि पुगेको छ ।

प्रचण्ड आफू दलाल पुँजीवादको भरोसा योग्य कारिन्दा बन्ने होडमा काङ्ग्रेसलाई पछाडि धकेलिसक्नु भएको छ । विचरा बुढो काङ्ग्रेस हायल कायल भएको छ । शेखर कोइराला, गगन थापा, विश्वप्रकाशहरू आफ्नो भूमिका समाप्त हुन लागेको देखेर छटपटाई रहेका छन् । तर प्रचण्डका अगाडि उनीहरू पनि निरिह छन् । प्रचण्डले वास्तवमा काङ्ग्रेस नेतृत्वको गठबन्धनको जुन परिकल्पना गर्नु भएको थियो, त्यो चुनाव भएर प्रधानमन्त्री हुने बेलासम्म प्रचण्डको अनुकूल थियो । तर त्यो गठबन्धन भित्रैबाट आफूमाथि सङ्कट आउने स्थिति देखेपछि त्यो गठबन्धनको विकल्प खोजिहाल्नु भयो र विकल्प पनि खडा भइहाल्यो । अहिलेको गठबन्धन र पहिलेको गठबन्धनमा नीतिगत रुपमा कुनै नयाँपन छैन ।

पहिलेको गठबन्धनले पनि प्रतिगमनलाई परास्त गर्ने कुरा उठाएको थियो । अहिले पनि सबै नेताहरूको स्वरमा प्रतिगमनको विरोध रहेको छ । अरु गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी, समृद्धि, विकास, समाजवाद आदि पहिलेका कुरा हुन नयाँ केही छैन । यो मोर्चाको उपलब्धि विप्लवलाई सामेल गर्नु हो । अरु त पहिलेकै पार्टनर त हुन नि । अहिले प्रचण्ड काङ्ग्रेस बाहेकको मोर्चा खोलेर ढुक्क हुनु भएको छ । किनकि अहिले प्रचण्डसँग ३२ जना माथि थप २२ जना सांसद थपिएका छन् । काङ्ग्रेसले सिउँरी खेलेको खण्डमा त्यसलाई धुलो चटाउने हिम्मत प्रचण्डमा जागेको छ । त्यसैले उहाँले घोषणा गर्नु भएको छ, “अब समाजवादी मोर्चा सरकारमा, सदनमा र सडकमा पुग्नेछ ।” शायद सडकमा जानका लागि विप्लव नेतृत्वको नेकपा सामेल भएको देखेर हौसिनु भएको हो कि ?

प्रचण्डको यो तयारी अहिलेको सरकारमा पकड कायम राख्नका लागि पनि हो र आगामी निर्वाचनको लागि पनि हो । दुई वर्षे आलोपालो अनुसार प्रधानमन्त्री छोड्ने बेला पनि आउँदैछ । त्यसको रक्षाकवच गर्न यो मोर्चा कामयाब हुन सक्छ वा सक्दैन ? त्यो त आउने दिनमा स्पष्ट होला । मोर्चाको गठनलाई हेर्दा प्रचण्डले २ वर्ष पछि प्रधानमन्त्री छोड्ने छाँटकाँट देखिएको छैन । उहाँले छिमेकीको लागि कम्फरटेवल सरकारको कुरा गर्दै आउनु भएको छ र छिमेकीलाई अहिलेको भ्रमणबाट रिझाइ पनि सक्नु भएको छ । यहाँसम्म कि लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई राधिकापुरको ३६ किलो मिटर बाटोसित सट्टापट्टा गरेको समेत देखिन आएको छ । त्यो भन्दा अझै खतरनाक गेम त के छ भने नेपालको पराराष्ट्र नीति अब नेपालले हेर्ने हैन, त्यो हेर्ने काम भारतको सुष्मा स्वराज इन्स्टीच्युटलाई जिम्मा दिनु भएको छ । त्यो इन्स्टीच्युटले नेपालको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई निर्देशित गर्नेछ ।

नेपाल अब भुटानको स्तरमा गइसकेको छ । भुटान अरु मामिलामा स्वतन्त्र छ तर रक्षा र परराष्ट्रमा भारतको अधिनस्थ छ । हाम्रो देश पनि रक्षाको प्रश्नमा १९६५ को सैनिक सन्धिले गर्दा भारतकै जिम्मामा छ । त्यसमाथि अहिले परराष्ट्र मामिला पनि भारतले हेर्ने भएपछि अब नेपाल स्वाधीन राष्ट्र रहेन भन्ने प्रश्न उठिरहेको छ । १९५० र १९६५ लगायतका असमान सन्धिलाई पुनरावलोकन गर्न इपीजी बनेको थियो । तर भारतले इपीजीको प्रतिवेदन हेर्नै चाहेन । प्रचण्ड भारत गएको बेला त्यसबारे कुनै छलफल पनि गर्नु भएन । केपी ओलीले ठीकै भन्नु भएको छ–“प्रचण्डले ल्याएको भनेको जम्मा १५ वटा भैसी मात्र हुन् ।” यसरी अब प्रचण्डलाई हटाउन भारत पनि अग्रसर होला जस्तो लाग्दैन ।

यो मोर्चामा सामेल हुन चाहँदा चाहँदै पनि नेसपालाई सामेल गराइएन । त्यो पार्टी पनि यसमा सामेल हुन आवश्यक छ । किनकि नीति मिल्ने पार्टीहरू अलग रहन आवश्यक रहँदैन । बाबुराम भट्टराईले त धेरै पहिलेदेखि नै मोर्चाको लागि प्रयत्न गरिरहनु भएको थियो । यो मोर्चामा नेकपा (मसाल) पनि सामेल हुनु पर्ने हो । किनकि वैचारिक रुपमा सो पार्टी पनि नजिक रहेको छ । पहिलेको गठबन्धनमा पनि रहेको छ । खास गरेर मोहनविक्रम सिंहले अहिलेको लोकतान्त्रिक गणतन्त्रमाथि दलाल तथा नोकरशाही पुँजीवादबाट खतरा देख्नु भएको छैन । राष्ट्रिय स्वाधीनतामाथि पनि कुनै खतरा देख्नु भएको छैन । उहाँले प्रतिगमनबाट मात्र खतरा देख्नु भएको छ ।

केही समय अगाडि जारी वक्तव्यमा नक्कली भुटानी शरणार्थी प्रकरण, नागरिकता विधेयक, महङ्गी लगायतका विषयमा विरोध रहँदा रहँदै पनि यो गठबन्धनलाई आफ्नो समर्थन र सहभागिता कायम राख्ने आशय प्रकट गर्नु भएको छ । समाजवादी मोर्चाले पनि घोषणा सभामा त्यही प्रतिगमनलाई उठ्न नदिने कुरा दोहोराएको छ । क. मोहनविक्रम सिंहले संविधानमा उल्लेखित “समाजवाद उन्मुख” राज्यको परिकल्पनालाई समर्थन गर्दै राज्यले समाजवाद उन्मुख नीति नल्याएकोमा असन्तुष्टी प्रकट गर्दै आउनु भएको छ । उहाँले पनि समाजवाद उन्मुख नीति लागु गरेर नै यो दलाल पुँजीवादी व्यवस्थामा पनि समाजवाद ल्याउन सकिन्छ भन्ने मान्यता राख्नु हुन्छ । घोषणासभामा झलनाथ खनालले त भनी हाल्नुभयो, “यो मोर्चा सरकार टिकाउनका लागि साधन बन्नु हुँदैन, समाजवादमा पुग्नका लागि काम गर्नुपर्छ ।” सबैको त्यही विश्वास छ । त्यसकारण नेकपा (मसाल) लाई बाहिर राखेर न त उहाँहरूले उठाउँदै आएको प्रतिगमनलाई परास्त गर्न सकिन्छ न दलाल पुँजीवादभित्रबाट समाजवाद ल्याउन सकिन्छ ।

मसाललाई पनि समाजवादी मोर्चामा राखेको भए “माओवादी केन्द्रको धुलो मैलो सफा गर्न धेरै नै मद्दत पुग्ने” थियो । किनकि नीति र विचारका हिसाबले विप्लव भन्दा क. मोहनविक्रम सिंह प्रचण्डको नजिक हुुनुहुुन्छ । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, संसदबाटै समाजवादमा जाने, निर्वाचन र सरकारको प्रश्नलाई रणनीति मान्ने, यही व्यवस्थामा विकास र समृद्धि हासिल गर्ने, सशस्त्र सङ्घर्षको सट्टा शान्तिपूर्ण सङ्घर्ष र संसदीय प्रणालीलाई मान्ने लगायतका विषयमा क. मोहनविक्रम सिंह र प्रचण्डको नीतिमा समानता छ । समान विचार हुने पार्टीहरू एक ठाउँमा उभिनु प्राकृतिक रुपले पनि ठीक हुने कुरा हो ।

प्रतिगमनलाई देखाएर दलाल पुँजीवादका कारिन्दाहरूले यो जनविरोधी, राष्ट्रघाती राज्यसत्तालाई टिकाउनलाई नयाँ मोडेल रोल गरिरहेका छन् । पुँजीवादी पार्टीहरूले जति क्रिम पाउडर घसे पनि वास्तविकता लुक्दैन । जनताले एक दिन वास्तविक अनुहार चिन्न सफल हुनेछन् । आज देश असफल राष्ट्र बन्ने सङ्घारमा छ । भुटानीकरण भएर पनि घोषणा हुन बाँकी छ । सिक्किमीकरणका लागि पूरै तयारी गरे पनि देशभक्त जनताको कडा सङ्घर्षका कारण सफल हुन पाएको छैन । यदि देशभक्तहरूले कानुनी र गैर कानुनी जीवनमरणको सङ्घर्ष नगरेको भए देशको राष्ट्रिय स्वाधीनता समाप्त भइसक्ने थियो । तर आश्चर्यको कुरा त के छ भने प्रचण्ड जस्ता राष्ट्रघातीले घोषणासभामा “राष्ट्रियता र राष्ट्रिय स्वाधीनता” का लागि समाजवादी मोर्चा बनेको कुरा गर्न पछि पर्नु भएन ।

आज पुँजीवादी तथा नवसंशोधनवादीहरू एक ठाउँमा उभिंदै छन् । यो उनीहरूभित्रको सङ्गठनात्मक सङ्कट टार्न गरिएको खेल पनि हो । उनीहरूभित्र थुप्रै सैद्धान्तिक, वैचारिक मतभेद पनि कायम छन् । मोर्चा बनाउन पर्ने बाध्यता सत्तामा पुग्नका लागि हो भन्ने कुरा जगजाहेर नै छ । राष्ट्रघातीहरू सत्तामा पुगेपछि के गर्दा रहेछन् ? भन्ने कुरा प्रचण्डको भारत भ्रमण, अर्थमन्त्रीको बजेट प्रस्तुति, राष्ट्रपतिको नागरिकता विधेयक प्रमाणीकरण, आदिले प्रष्ट पारिसकेको छ ।

विप्लव नेतृत्वको नेकपा पनि राष्ट्रियता र राष्ट्रिय स्वाधीनताका लागि ठूलो मूल्य चुकाएको पार्टी हो । मोर्चामा सामेल हुन नचाहने दर्जनौँ वामपन्थी क्रान्तिकारी पार्टीहरू सडक आन्दोलन गरेर खबरदारी गरिरहेका छन् । तर नेकपालाई कुन शक्तिले तानेर विजातीय मोर्चामा पुर्‍यायो ? त्यो अहिले नखुलेपनि भविष्यमा खुल्दै जानेछ । कम्युनिस्ट आन्दोलनमा यस्ता घटनाहरू रायमाझी कालदेखि हुँदै आएका छन् । तर पनि क्रान्तिकारीहरूको विश्वास डगमगाउने गरेको छैन । यस घटनाले पनि क्रान्तिकारी आन्दोलनलाई कुनै फरक पार्ने छैन । यसप्रकारका हल्लाहरू पहिले पनि चल्दै आएका छन् । भोलि पनि चल्दै जानेछन् । हल्लाले देशमा परिवर्तन आउँदैन ।

देशलाई परिवर्तन गर्न सही राजनीतिको आवश्यकता पर्दछ । त्यसकारण यस्ता विजातीय मोर्चाको कुनै औचित्यता छैन । आज देशलाई दलालहरूको खाँचो छैन । दलालहरूलाई चिनेर राष्ट्रिय स्वाधीनता बचाउन सबै देशभक्तहरू उठ्नु पर्ने आवश्यकता छ । राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको निम्ति अब देशभक्त, वामपन्थी तथा सच्चा कम्युनिस्टहरूले बलियो मोर्चा बनाउनु पर्ने आवश्यकता टड्कारो देखिएको छ । नत्र भने कुनै दिन नेपाल सिक्किम बनेको देख्नु पर्ने अवस्था आउन सक्छ । सबै सचेत हुनुपर्ने बेला आएको छ ।

(लेखक- नेकपा(मशाल) का ंमहासचिव हुनुहुन्छ)


२०८० असार ६ १०:१७ बजे

प्रतिक्रिया