पोखरामा आज पहिलो अन्तर्राष्ट्रिय उडान

bimbonline बिम्ब अनलाइन
२०८० असार ६ ०७:०३ बजे

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलोपटक अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एयरलाइन्सले पोखरामा सिधा चार्टर उडान गर्न लागेको हो ।

सिचुवान एयरलाइन्सको एयरबस ए–३१९ जहाज बुधबार बिहान साढे ९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने  लागेको विमानस्थलका सूचना अधिकारी विष्णु अधिकारीले जानकारी दिए । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसहितले पहिलो अन्तर्राष्ट्रिय उडानबाट पोखरा ओर्लने यात्रुलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । उक्त जहाजबाट हाल चीन भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली टोली र आगामी शुक्रबार र शनिबार पोखरास्थित फेवातालमा हुन लागेको ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन वोट फेस्टिभल’ मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक पोखरा आउँदै छन् ।  

एक सय ३५ जना यात्रुसहितको जहाज पोखरा ओर्लने लागेको हो ।  उक्त जहाज बुधबार नै पोखराबाट काठमाडौँ अवतरण भई नियमित उडानमार्फत छेन्दु फर्कनेछ । 

२०८० असार ६ ०७:०३ बजे

प्रतिक्रिया