चिनियाँ जहाज बुधबार १३० जना यात्रु बोकेर पहिलोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै

bimbonline बिम्ब अनलाइन
२०८० असार ५ १४:३४ बजे

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भोलि बुधबार पहिलो अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’ १३० जना यात्रु बोकेर पहिलोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने भएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जनवरी १, २०२३ देखि सञ्चालनमा आएको हो । 

चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर जहाज बुधबार ९ः३० बजे पोखरा विमानस्थल अवतरण गर्ने कार्यतालिका रहेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । निरौलाका अनुसार उक्त जहाज १ घण्टा पोखरामा होल्ड भएर काठमाडौँ आउने र सोही दिन चीन फर्किने छ । 

खास गरी दक्षिण एसियामै पहिलोपटक पोखरामा आयोजना गरिएको ड्रागन बोट रेस फेस्टिबलको अवसरमा चार्टर्ड फ्लाईट हुन लागेको हो । पोखरा महानगरपालिका, चिनिया दूतावास र पर्यटन बोर्डको संयुक्त कार्यक्रममा असार ८ र ९ गते पोखरामा बोट रेस आयोजना हुँदै छ । सोही बोट रेस कार्यक्रमका लागि खेलाडीसहित १२० भन्दा बढी चिनियाँ पर्यटकहरू उक्त जहाजमार्फत नेपाल  आउन लागेका हुन् । 

सोही अवसरमा चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासहित सांसदहरू प्रदीप यादव, धवलशम्शेर जबरा, दीपा गुरुङ, उदयबहादुर बोहरा, हरिशंकर चौधरी र जीवन परियार समेत सोही विमानमा पोखरामा आउने छन् । 

२७ जेठमा  अध्यक्ष तिमिल्सिनासहित ७ जना सांसद, अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र उपसचिव रामहरि थापा साता लामो चीन भ्रमणमा गएका छन् ।

२०८० असार ५ १४:३४ बजे

प्रतिक्रिया