समाजवादी मोर्चा घोषणामा कसले के भने ? (पूर्ण पाठसहित) 

विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धी तुहाउने प्रयास भइरहेकाले यथास्थीतिवादी डराउन आवश्यक

bimbonline बिम्ब अनलाइन
२०८० असार ४ १८:४७ बजे

काठमाडौँ । समाजवादी मोर्चा नेपालको औपचारिक घोषणा गरिएको छ । राष्ट्रिय सभागृहमा सोमबार औपचारिक कार्यक्रमको आयोजना गर्दै  मोर्चाको घोषणा गरिएको हो ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले औपचारिक रूपमा हस्ताक्षर गरेर समझदारीपत्रमा हस्ताक्षर गरेसँगै मोर्चाको औपचारिक रूपमा घोषणा गरिएको हो ।

मोर्चा घोषणा कार्यक्रममा सम्बोधन गर्दै विभिन्न चार पार्टीका शीर्ष नेताहरूले मुलुकको निकासका लागि अहिलेको मोर्चाको निर्माण गरिएको बताएका छन् । विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धी तुहाउने प्रयास भइरहेकाले त्यसको विरुद्धमा पनि मोर्चा रहेको बताउँदा यथास्थीतिवादी डराउन आवश्यक रहेको बताएका छन् ।

कसले के भने ?

झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा बन्न नहुने बताए । उनले समाजवादी मोर्चा घोषणा कार्यक्रममा मोर्चा आमूल परिवर्तनका लागि हुनुपर्ने बताएका हुन् । उनले भने,‘यो मोर्चा सत्ता टिकाउने मोर्चा मात्र नबनोस्, आमूल परिवर्तन गर्ने मोर्चा बनोस्, सम्पूर्ण वामपन्थीलाई एकताबद्ध बनाउने मोर्चा बनोस् ।'

मोर्चालाई अझै व्यापक बनाउनुपर्ने भन्दै खनालले सबै वामपन्थी, समाजवादी र क्रान्तिकारीहरूलाई पनि मोर्चामा जोड्न आवश्यक रहेको बताए । उनले भने, ‘जबसम्म देशका क्रान्तिकारीहरु, आमूल परिवर्तनकारीहरु, प्रगतिशीलहरू एकताबद्ध भएर उभिँदैनौँ, तबसम्म आमूल परिवर्तन हुँदैन। यो मोर्चा पहिलो पाइला मात्र हो । सिङ्गो देशका समस्त वामपन्थी, समाजवादी र क्रान्तिकारीलाई एकताबद्ध गर्नुपर्छ । यसलाई अझै व्यापक बनाउनुपर्नेछ र विस्तार गर्नुपर्नेछ । '

उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चाबाट कोही तर्सिन जरुरी आवश्यक नरहेको बताए । समाजवादी मोर्चा घोषणा कार्यक्रममा उनले यो मोर्चा कसैको विरुद्धमा लक्षित नभएको बताएका हुन् ।

उनले भने, ‘यो मोर्चा कसैको विरुद्धमा लक्षित छैन, कोही नतर्सिए हुन्छ, केही साथीहरू घोषणा गर्नुअघि नै बडबडाउन थाल्नुभएको थियो, त्यसरी बडबडाउनु पर्दैन, हामी देशको, जनताको हितका लागि अग्रगामी परिवर्तनका लागि सहकार्य गर्दै अघि बढ्छौँ ।' तर विगतका जनआन्दोलन र बलिदानबाट प्राप्त उपलब्धि समाप्त पार्ने खेल खेल्नेहरू भने मोर्चासँग डराउन आवश्यक रहेको बताए ।

विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशले संकट ब्यहोरिरहेको अवस्थाबाट प्रतिगामी र पश्चगामी शक्तिलाई फाइदा उठाउन नदिन समाजवादी मोर्चा गठन गरिएको बताए ।

समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नागरिकमा छटपटी छ । जनता निराशा र आशाको दोधारमा छन् । यो विशिष्ट परिस्थितिमा लामो छलफल र जनताको चाहनाअनुसार आजको सङ्कटबाट प्रतिगामी र पश्चगामी शक्तिलाई फाइदा उठाउन दिनुहुँदैन भनेर मोर्चा गठनको निष्कर्षमा पुगेका हौ।’

उनले नेपालको स्वाधीनता जोगाउन नयाँ लडाइ अघि बढाउनुपर्छ भन्ने उद्देश्यले घोषणा भएको समाजवादी मोर्चा  निर्माण गरिएको र यसले नेपालको राजनीतिमा नयाँ मोड दिने  दाबी गरे । उनले भने, ‘ नेपाली जनता समुन्नत, शान्तिपूर्ण र स्वाधीन नेपाल बनाउन चाहन्छन्, सोही उद्देश्य पूरा गर्ने मोर्चाले बोकेको छ ।’

नेपालको भविष्य कुनै पनि साम्राज्यवादीले नभएर नेपाली जनताले सुनिश्चित गर्ने मोर्चा आवश्यक रहेको बताउँदै उनले भने, ‘अब देशको नेतृत्व देशभक्तहरूले गर्छन् । म युवा पुस्तालाई निराश नहुन आग्रह गर्दछु । देशमाथि अतिक्रमण भइरहेकाले जनतामा अत्याचार मच्चिरहेको उल्लेख गर्दै उनले भने, ‘अझै पनि असमाधान सन्धि सम्झौताहरू खारेज भएका छैनन्, हामी ७ बुँदे सहमति र घोषणापत्र लिएर आएका छौँ, यो देशको नेतृत्व हामी गर्छौँ, मोर्चाले सहिदका सपनाको रक्षा गर्छ ।’

माधव नेपाल 

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चा स्वार्थमा नबनेको बताएका छन् । समाजवादी मोर्चालाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष ओलीप्रति लक्षित  गर्दै कसैलाई तर्साउन र भरमा पार्नको लागि नभएको बताए ।

अध्यक्ष नेपालले प्रतिगमन र यथास्थितिविरुद्ध एकताबद्ध हुन मोर्चा बन्दी गरेको बताए । उनले भने, 'आफ्नै पार्टीका नेताहरूलाई पनि मोर्चामा आबद्ध भएका दलहरू एकअर्कामा विलय हुने त होइन भन्ने परेको छ । कसैले निल्ने वाला छैन, हामी निलिने बाला पनि छैनौँ ।’

आफूहरूको सम्बन्ध आजको नभएको र पहिलो सहकार्य पनि नभएको भन्दै उनले आपसमा विश्वास गर्नु आजको आवश्यकता रहेको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ६ वर्षअघि एमाले र माओवादीबीच एकता गर्नु हतारो भएको बताउँदै अहिलेको मोर्चा निर्माण निकै बहस र सुझबुँझ पनि गरिएको बताएका छन् ।

माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा कार्यक्रलाई सम्बोधन गर्दै  प्रधानमन्त्री  प्रचण्डले  २०७४ मा एमाले र माओवादीबीच पार्टी एकता घोषणा गरेको स्मरण गरे । त्यो बेला कहाँ त्रुटि भयो भनेर समीक्षा गर्नुपर्ने भन्दै शायद त्यति बेला पार्टी एकतै गर्ने हतारो पो भएको हो की भन्दै प्रश्न गरे ।

उनले भने, ‘हामीले त्यति बेला नै समाजवादी मोर्चा भनेर मोर्चाबाट काम सुरु गरेर विचार राजनीति, सङ्गठन, कार्यशैलीमा एकरूपता कायम गरेपछि एकतामा पुग्ने उद्देश्य राखेको भए हामी सफल हुन्थ्यौँ कि रु सबैले सोच्नुपर्ने परिस्थिति छ ।'

निश्चित विचार र उद्देश्यका साथ मोर्चा बनाउन सफल भएको र फड्किएर पार्टी एकता गर्दा दुर्घटना भएको प्रचण्डको भनाइ रहेको छ ।  उनले भने, ‘आज समाजवादी मोर्चा भनेर घोषणा गरेका छौँ, यो हिजोको अनुभवको पनि नयाँ संश्लेषण भएको छ । अब हाम्रो सफलतालाई कसैलाई रोक्न सक्दैन ।’ कार्यक्रम उनले जनताको माग सम्बोधनका लागि अबको मोर्चाले सदन, सरकारका र सडक सबै तीरबाट पहल गर्ने बताए  ।

 

२०८० असार ४ १८:४७ बजे

प्रतिक्रिया