‘आदिपुरुष’को निर्माता कम्पनीले माफी माग्दै पठायो मेयर बालेनलाई पत्र

bimbonline बिम्ब अनलाइन
२०८० असार ४ १०:१२ बजे

काठमार्डौँ । भारतीय चलचित्र ‘आदिपुरुष’ निर्माता कम्पनी सुपर क्यासेट्स इड्रस्ट्रिज लिमिटेडले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पत्र पठाएर उनले प्रश्न उठाएको चलचित्रको संवादबारे प्रष्टीकरण दिएको छ।

आइतबार कम्पनीले इमेलमार्फत पठाएको पत्र सार्वजनिक भएको हो। कम्पनीकी प्रतिनिधि राधा दासद्वारा हस्ताक्षरित पत्रमा विवादित संवाद माता सीताको जन्मस्थलसँग सम्बन्धित नभएर आम महिला विशेष गरेर भारतसँग सम्बन्धित रहेको प्रष्टीकरण दिइएको छ।

कम्पनीले चलचित्रको डाइलगबाट नेपाली भावनामा ठेस पुर्‍याउने आफ्नो उद्देश्य नभएको बताएको छ। कम्पनीले चलचित्रको कुनै सम्वादले नेपाली भावनामा ठेस पुगेकामा कम्पनीले क्षमायाचना समेत गरेको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र चलचित्र विकास बोर्डलाई सम्बोधन गरिएको पत्रमा सुपर क्यासेट्सले चलचित्रको संवादमा सीताको जन्मस्थानलाई इंगित गर्न नखोजिएको पनि दाबी गरिएको छ।

‘श्री राघवको चरित्र निर्वाह गरेका प्रभाशले बोलेको सम्वाद ‘आज मेरे लिए मत लड्ना, उस दिनके लिए लड्ना जब भारतके किसी बेटीपर हाथ डालने से पहले दुराचारी तुम्हारा पौरुष याद करके थर्र उठेगा’ले सीताको माताको जन्मस्थानको प्रतिनिधित्व गर्दैन,’ पत्रमा लेखिएको छ।

भारतीयले विश्वका सबै महिलाको सम्मान गर्ने विषय आफूहरुका लागि सबैभन्दा महत्त्वपूर्ण भएको पनि पत्रमा बताइएको छ। पत्रमा चलचित्रलाई यसको कलात्मक पक्षबाट हेर्न पनि आग्रह गरिएको छ।

२०८० असार ४ १०:१२ बजे

प्रतिक्रिया