किसानले लागत मुल्य नपाए पछि तरकारी फालेर विरोध

bimbonline बिम्ब अनलाइन
२०८० असार ४ ०७:४९ बजे

काठमाडौं । गोलभेडाको उचित मूल्य नपाएको भन्दै आइतबार बिहान केहीले कालीमाटी तरकारी बजारभित्रै गोलभेडा फालेर विरोध जनाए। तर सरकार भन्छ– कालीमाटीमा फालिएको गोलभेडा किसानले होइन, बिचौलियाले फालेका हुन्। 

सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, उपत्यका आसपासमा टनेलमा गोलभेडा खेती गर्ने किसानले लागत पनि उठाउन नसकेको गुनासो गर्दै गोलभेडा फाल्न बाध्य भएको बताइएको छ। कालीमाटी बजार विकास समितिले आइतबारका लागि टनेलको सानो गोलभेडाको थोक बिक्री मूल्य प्रतिकेजी आठ रुपियाँ तोकेको छ तर सोही गोलभेडा काठमाडौँमा खुद्रा बजारमा ३०–३५ रुपियाँ प्रतिकेजीमा बिक्री भइरहेको छ।

प्रतिकेजी ३५–३८ रुपियाँ उत्पादन लागत पर्ने गोलभेडाको बजार मूल्य सात–आठ रुपियाँ पनि नपाएपछि किसान बजारमा ल्याएर करिब ३० हजार केजी गोलभेडा फालेका छन्। ‘प्रतिकेजी गोलभेडा उत्पादनका लागि न्यूनतम पनि ३५ रुपियाँ खर्च भएको छ ।  सात र आठ रुपियाँमा बिक्री गर्नुपर्ने अवस्था आयो । यसै नोक्सान उसै नोक्सान त्यसैले फ्याँकेँ,” बिहान कालीमाटी बजारमा गोलभेडा फ्याँकेको किसान नन्दलाल रोकायाले बताए। 

कालीमाटी फलफूल तथा तरकारी बजारमा बिहान कायम गरिने मूल्य ८ बजेपछि परिवर्तन हुनाले पनि किसान मारमा परेको किसानको गुनासो छ। गोलभेडाको उचित मूल्य निर्धारणका विषयमा राज्य जिम्मेवार नभए माइतीघर र सिंहदरबार अगाडि गोलभेडा फाल्ने चेतावनी किसानले दिएका छन्। 

यता कालीमाटी थोक व्यवसायी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्य भने किसानले लगाएको आरोपमा कुनै सत्यता नभएको बताए। ‘अहिले गोलभेडा सबैतिरबाट आइरहेको छ, बढी उत्पादन भएकाले मूल्य सस्तो छ । त्यसैले बजारमा गोलभेडाको मूल्य घटेको हो’, उनले भने, ‘प्रतिकेजी ११ रुपैयाँका दरले छोड्नुहोस् बिक्री गर्छौँ। हामीलाई नाफा दिनु पर्दैन भन्दाभन्दै उहाँहरूले सडकमा फ्याँक्नुभयो।’ 

उनका अनुसार अहिले भारतबाट गोलभेडा आएकै छैन । सबै हाम्रो उत्पादन हो तर किसानले यति धेरै गोलभेडा लिएर बजारसम्म नआउने भएकाले गोलभेडा किसानले नै फ्याँकेको दाबी भने शंकास्पद छ।  कालीमाटी तरकारी बजारकै केही व्यापारीले भने तरकारी फ्याँक्ने कार्य बिचौलियाबाट मूल्य बढाउने उद्देश्यले गरिएको हुन सक्ने आशङ्का गरिएको छ । कालीमाटीकै तरकारी व्यवसायी विनोद थापाले करिब पाँच हजार किसानको उत्पादन आइतबार नष्ट गरेको दाबी गरे। 



२०८० असार ४ ०७:४९ बजे

प्रतिक्रिया