नेपालमा पनि एमपक्सस सङ्क्रमण पुष्टि, कसरी बच्न सकिन्छ सङ्क्रमण हुनबाट ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय आज एक सूचना जारी गर्दै एक ६० वर्षीय विदेशी महिला एमपक्स सङ्क्रमण पुष्टि भएको जनाएको हो

bimbonline बिम्ब अनलाइन
२०८० असार १ १९:५० बजे

काठमाडाैँ । नेपालमा पनि एमपक्सस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय आज एक सूचना जारी गर्दै एक ६० वर्षीय विदेशी महिला एमपक्स सङ्क्रमण पुष्टि भएको जनाएको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उनको शरीरबाट नमुनाहरू सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा आज एमपक्स सङ्क्रमण पुष्टि भएको जनाएको छ । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा रहेका जनाएको छ ।  यसका सन्दर्भमा थप खोज अनुसन्धान तथा उपचारको कार्य जारी रहेको छ । नेपालमा पहिलो पटक पुष्टि भएको एमपक्स सङ्क्रमण विश्व भरी हालसम्म १११ देशमा पुष्टि भई सकेको छ । हाल यो सङ्क्रमण विश्वव्यापी चाँसोको जनस्वास्थ्य आपत्कालका (PHEIC) अवस्थामा छैन ।
एमपक्स रोग Orthopoxvirus genus / Poxviridae family को मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । एमपक्स रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्दछ । सन् १९८० मा बिफरको उन्मूलन र विश्वव्यापी बिफर खोपको अन्त्यपछि मंकीपक्स मध्य पूर्वी र पश्चिम अफ्रिकामा निरन्तर रूपमा देखा परिरहेको छ । सन् २०२२-२०२३ मा यसले विश्वव्यापी प्रकोपको रूप लिएको छ । यस भाइरसको प्राकृतिक भण्डार अज्ञात छ । तर विभिन्न साना स्तनपायीहरू जस्तै लोखर्के र बाँदरहरू यस रोगका लागि संवेदनशील हुन्छन् ।

Open photo

एमपक्स रोग सङ्क्रमित व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ खटिरा बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ (जस्तै थुक, र्‍यालको सम्पर्कबाट, भाइरसबाट दूषित सतह र सामग्रीको प्रत्यक्ष), सङ्क्रमित बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ । यसले ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रथितहरू बढ्ने हुन्छ । आँखामा सङ्क्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्यु समेत हुन सक्छ ।

रोकथामका लागि के गर्न सकिन्छ ?

यसको रोकथामका लागि एमपक्सको शङ्का वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने, सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्ण रूपमा जनस्वास्थ्यका मापदण्डहरू पालना गर्ने, घाउँसँग प्रत्यक्ष सम्पर्क हुनसक्छ भन्ने जोखिम छ भने पन्जा लगाउने, नियमित रूपमा साबुनपानीले हात धुने वा स्यानीटाईजरको प्रयोग गर्ने, सङ्क्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडाहरू तातो पानी, साबुन वा डीटर्जेन्टले धुने, मंकीपक्सको सङ्क्रमण पुष्टि भई बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने, सङ्क्रमितको सम्पर्कमा आएको व्यक्तिले परीक्षण गर्ने, सङ्क्रमितको सम्पर्कमा आएको सतह स्थान वा कोठा डीटर्जेन्टले निसंक्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने, फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्ने कार्य गर्नुपर्ने हुन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यदि कसैलाई एमपक्ससँग मिल्दो जुल्दो लक्षण देखिएमा अस्पताल गई चिकित्सकको उचित सल्लाह लिन र मन्त्रालयको कल सेन्टर १११५ वा ११३३ मा सम्पर्क गरी परामर्श लिनुहुन अनुरोध गरेको छ । । साथै यसको निदानका लागि मन्त्रालयबाट हरेक प्रदेशमा अस्पतालहरूसमेत तोकी विशेषज्ञहरू तोकिसकिएकोले हुनाले उहाँहरूबाट परामर्श लिन सकिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

परामर्श लिनका लागि :

Open photo

२०८० असार १ १९:५० बजे

प्रतिक्रिया