नक्कली शरणार्थी प्रकरण : १६ जनालाई थुनामा पठाउन अदालतको आदेश

नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दाका अभियुक्तमध्ये दुई जनालाई मात्रै धरौटीमा छोड्ने आदेश भएको छ

bimbonline बिम्ब अनलाइन
२०८० असार १ १९:२८ बजे

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्रीहरू सहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन  काठमाडौँ  जिल्ला अदालतले आदेश दिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दाका अभियुक्तमध्ये दुई जनालाई मात्रै धरौटीमा छोड्ने आदेश भएको छ ।  अभियुक्तहरूमध्ये १६ जनालाई जगन्नाथदेवलस्थित केन्द्रीय कारागारमा पठाउन लागिएको हो । आरोपितहरूमध्ये लक्ष्मी महर्जन र टङ्क गुरुङलाई मात्रै धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो । 

दुवै पक्षको बहस सकिएपछि शुक्रवार  काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले सो आदेश दिएको थियो।

शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा, रु २८.८ करोड बिगो दाबी गरिएको छ । नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो।

तीमध्ये १८ आरोपितका तर्फबाट ११० जना वकिलले बहस गर्न नाम टिपाएका थिए। कानुन व्यवसायीहरूको बहस लामो भएपछि जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले बहस छोट्याउन निर्देशन दिएका थिए।

जिल्ला सरकारी वकिल कार्यालय,  काठमाडौँले १० जेठमा ठगी, किर्ते, राज्यविरुद्धको अपराध र सङ्गठित अपराधमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो। आरोपितहरूमाथि लगाइएका अभियोगमध्ये सबैभन्दा धेरै सजाय र जरिवाना ठगी र किर्तेसम्बन्धी कसुरमा छ। मुद्दामा आरोपितहरूबाट कुल २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।

२०८० असार १ १९:२८ बजे

प्रतिक्रिया