असार ३ गते देखी अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा

bimbonline बिम्ब अनलाइन
२०८० असार १ १६:४४ बजे

काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ ।  आफूहरूको माग सम्बोधनका लागि दबाब दिने उद्देश्यका साथ बन्दसहितको आन्दोलनको घोषणा  गरिएको परिषद्ले बताएको छ ।   परिषद्का महासचिव शान्तिनाथ योगीले शुक्रबार ७७ वटै जिल्ला कार्यसमिति र ७५३ स्थानीय पालिका कार्यसमितिलाई पठाएको सर्कुलरमा बन्दका कार्यक्रम सशक्त रूपमा सञ्चालन गर्न निर्देशन दिएका हुन् ।  

परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूको विभिन्न सेवा सुविधा सहित पेसागत स्थायित्वको माग  राख्दै  विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएको छ। यसैक्रममा नेपाल सरकारको आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रमको बुदाँ नम्बर १२७ मा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूको सेवा सुविधाका विषयहरू सम्बोधन गरिने उल्लेख गरिएको थियो । तर  बजेटमा उक्त विषय छुटाइएको भन्दै परिषद् आन्दोलनमा उत्रिएको हो । 

गत जेठ १७ को पत्रकार सम्मेलनबाट घोषित आन्दोलनका कार्यक्रमहरूमध्ये पहिलो र दोस्रो चरणका कार्यक्रमहरू सम्पन्न हुँदा समेत सरकार आन्दोलनप्रति गम्भीर नभएको र बरु प्रहरी दमन भएकाले पूर्वनिर्धारित कार्यक्रम अनुसार असार ३ गतेदेखि  सामुदायिक विद्यालय बन्द गर्ने बाध्य भएका महासचिव शान्तिनाथ योगीले बताएका छन् । 

२०८० असार १ १६:४४ बजे

प्रतिक्रिया