कित्ताकाट खुल्ला गरेसँगै जेठ महिनामा घरजग्गाको कारोबार आर्थिक वर्षकै उच्च

bimbonline बिम्ब अनलाइन
२०८० असार १ १५:१४ बजे

काठमाडौँ । सरकारले घर जग्गाको कित्ताकाट खुल्ला गरेसँगै  जेठ महिनामा घरजग्गाको कारोबारमा वर्षकै उच्च भएको छ ।  जेठमा लिखत पासको सङ्ख्या ५५ हजार ६९ पुगेको छ । यो लिखत पास चालु आर्थिक वर्ष २०७९-८० कै उच्च हो ।

गत वैशाखमा ४२ हजार ४६१ र चैत महिनामा ४९ हजार १५० वटा जग्गाको लिखत पास भएको थियो । गत फागुनमा ४० हजार ७३४, माघ महिनामा ४१ हजार ८६, पुसमा ३८ हजार ८३१, मङ्सिरमा २९ हजार १८४, कात्तिकमा २७ हजार ९३९, असोजमा २५ हजार ७८९, भदौमा ३४ हजार ७२० र साउनमा ३३ हजार ७३४ लिखत पारित भएको थियो ।

यो वर्षको जेठको तथ्याङ्कले वैशाख, २०७९ देखि घट्न थालेको घरजग्गा कारोबार पछिल्लो समयमा भने बढेको देखिएको छ ।  बैङ्कहरूमा लगानीयोग्य पुँजी बढेसँगै लगानी बढेपछि घरजग्गाको कारोबारमा सुधार आएको हो । बैङ्कहरूमा लगानी थुप्रिन थालेपछि घरजग्गामा लगानी बढ्न थालेको छ, जसका कारण फेरि घरजग्गाको कारोबार बढ्दै जान थालेको छ ।

गत जेठमा कारोबार बढ्दा पनि राजस्व सङ्कलन भने ३ अर्ब ७५ करोडमा सीमित भएको छ । गत चैत महिनाको घरजग्गा कारोबारबाट सरकारले ४ अर्ब ५१ करोडभन्दा बढी राजस्व सङ्कलन भएको थियो । गत असोजमा २५ हजार ७ सय वटा मात्रै लिखत पास हुँदा यस्तो राजस्व २ अर्ब ५६ करोडसम्म झरेको थियो ।

गत वैशाख ५ गते मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको थियो । 

भु-उपयोग सम्बन्धी नियमावलीमा पहिलो संशोधन स्वीकृत गर्दै मन्त्रिपरिषद्ले जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको थियो । भु-उपभोग सम्बन्धी नियमावलीमा गरिएको संशोधनले अंशबन्डा, कित्ताकाट र घरजग्गा कारोबारमा सहजीकरण गर्ने भन्दै सरकारले जग्गाको कित्ताकाट खुला गरेको थियो । 

२०८० असार १ १५:१४ बजे

प्रतिक्रिया