सरकारी वकिलको प्रतिउत्तर बहस सकियो

१ जेठ बाट जारी थुनछेक बहसमा सुरुमा वादी नेपाल सरकारका तर्फबाट बहस गरिएको थियो

bimbonline बिम्ब अनलाइन
२०८० असार १ १४:२८ बजे
नक्कली भुटानी शरणार्थी प्रकरण

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जवाफी बहस सकिएको छ । जिल्ला अदालत काठमाडौँमा भएको बहस सकिएपछि शुक्रबार नै थुनछेक आदेश आउने भएको हो । २१ जेठ बाट जारी थुनछेक बहसमा सुरुमा वादी नेपाल सरकारका तर्फबाट बहस गरिएको थियो । 

तीन दिन नेपाल सरकारको तर्फबाट बहस गरिएपछि चौथो दिन वादीका तर्फबाट स्वागत नेपाल, ध्रुवलाल श्रेष्ठ लगायत चार जना कानुन व्यवसायीले बहस गरेका थिए । 

वादीका तर्फबाट बहस गर्ने सरकारी वकिल र कानुन व्यवसायीहरूले प्रतिवादीहरूलाई बाहिर छाड्दा प्रमाण नष्ट गराउन सक्ने र जाहेरवालालाई नै खतरा भएको भन्दै उनीहरूलाई थुनामै राखेर मुद्दाको पुर्पष गर्नुपर्ने जिकिर गरेका छन् ।  यसपछि प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस भएको थियो । कानुन व्यवसायीहरूले प्रतिवादीहरूलाई फसाउन खोजिएको बताएका छन् । उनीहरूले राज्य नै फसाउने पक्षमा रहेको बताएका छन् । 

शुक्रबार सरकारी वकिलका तर्फबाट भएको जवाफी बहसमा सह महान्यायाधिवक्ता अच्युतमणि नेउपाने, जिल्ला न्यायाधिवक्ताहरु महेश खत्री तथा लक्ष्मण घिमिरे र सहायक जिल्ला महान्यायाधिवक्ता निर्मला मरासिनीले जवाफी बहस गर्दै प्रतिवादीहरूलाई थुनामै राख्नुपर्ने माग गरेका थिए । जाहेरवालाको तर्फबाट बहस गर्ने भद्रप्रसाद नेपाल (स्वागत नेपाल) र ध्रुवलाल श्रेष्ठले पनि प्रतिवादीहरूलाई बाहिर छाड्दा झनै खतराहुने र उनीहरूलाई हुने सजाय तीन वर्षभन्दा बढी हुने भएकाले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राखेका थिए । 

हालसम्म पक्राउ परेकामध्ये १८ जना प्रतिवादीहरूको थुनछेक बहस हुन लागेको हो । थुनछेक बहसबाट प्रतिवादीमध्ये को कसलाई पुर्पक्षका लागि थुनामा पठाउने, के कसलाई धरौटी लिएर छाड्ने वा के कसलाई साधारण तारेखमा छाड्ने भन्ने आदेश आउनेछ ।

२०८० असार १ १४:२८ बजे

प्रतिक्रिया