काठमाडौँ । नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा पहिलो पटक उडान गरेको छ । विमानस्थल संचालनमा आएको एक वर्षपछि आज मंगलबारबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको अन्तरष्ट्रिय नियमित उडान सुरु गरेको हो । मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाको क्वालालम्पुरबाट आएको विमानको स्वागत संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गरे ।
यो अब नियमित उडान हुनेछ । नेपाल एयरलाइन्सको १ सय ५८ सिट क्षमताको न्यरोबडी विमानले मलेसियाबाट भैरहवाको पहिलो उडान भरेको हो । नेपाल एयरलाइन्सको मलेसिया-भैरहवा-काठमाण्डुको उडान ‘टर्न–अराउड’ हो, हरेक मंगलबार हुने यस्तो उडानमा जहाजले यात्रु ओरालेर फर्किने, भैरहवाबाट यात्रु राख्न नपाइने, चालकदलका सदस्यहरु पनि हेरफेर नहुने र इन्धन पनि भर्न पाउदैन । ४ घण्टा ४५ मिनेटमा मलेसियाबाट भैरहवाको उडान तय हुन्छ भने भैरहवामा यात्रु ओरालेर निगमको जहाज काठमाडौँ जाने छ ।
निगमले अहिले मलेसिया–भैरहवाको भाडा ३१ हजार र मलेसिया-काठमाडौँ५६ हजार रुपैयाँ भाडा दर तोकेको बताएको छ । विमानस्थलको नेपाल वायुसेवा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि व्यवसायिक उडान गर्न सकेको थिएन, जजिरा एयरलायन्स र हिमालय एयरलाइन्सले केही अन्तराष्ट्रिय उडान गरेपनि अहिले रोकिएको छ ।
प्रतिक्रिया