हाई प्रोफाइल’ नेतामाथि अनुसन्धानको आदेश होस्-प्रतिवादीका अधिवक्ताको जिकिर

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ३० ०८:०३ बजे

काठमाण्डौ।    नक्कली भूटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा जारी थुनछेक बहसमा अहिले अभियुक्त पक्षका कानून व्यवसायीले आफ्ना तर्क पेश गरिरहेका छन्। जेठ २१ गतेदेखि शुरू भएको बहसको शुरूका तीन दिन सरकारी वकील र जाहेरीकर्ताका कानून व्यवसायीले बहस गरेका थिए।विपक्षी कानून व्यवसायी र सरकारी वकीलले तर्क र तथ्य राख्दा इजलासमा कहिले झोक्राउने त कहिले छटपटाहटमा देखिने गरेका अभियुक्तहरू आफ्नो पक्षका वकीलहरूले बहस गर्दा भने अलि टाठा देखिंदै आएका छन्।

जेठ २४ गतेदेखि प्रतिवादी पक्षका वकीलले गरिरहेको बहस सकिएको छैन। तर, सोमबार भने प्रतिवादीका वकीलहरूले बहस गर्दा अचानक ‘हाई प्रोफाइल’ अभियुक्त भने झस्किए, मानौं उनीहरू विपक्षी वकीलका तर्क सुनिरहेका छन्।

जेठ २९ मा रामशरण केसीका वकील बालकृष्ण नेउपानेले बहस गर्न थालेपछि इजलासको वातावरण अलग बन्यो। यही मुद्दाका अभियुक्त टेकनाथ रिजालले अनुसन्धानका क्रममा र अदालतमा स्विकारेको तथ्य कोट्याउँदै वरिष्ठ अधिवक्ता नेउपानले भने, “यो अपराध सरकारको माथिल्लो तहमा बस्नेले गरेका छन्, तर मुद्दा रामशरण केसी, जो आफैं अमेरिका जाने चक्करमा रकम डुबाएर पीडित छन्, उनलाई लगाइएको छ।”

नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने योजनामा ढुक्क हुन भूटानी शरणार्थी नेता रिजालले आफूलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन नेकपाका नेता पुष्पकमल दाहाललाई भेटाउन भनेको बयान दिएका छन्। त्यसपछि केशवप्रसाद दुलाल र सानु भण्डारीले नेताहरूसँग रिजालको भेट गराएको अनुसन्धान र प्रहरी बयानमा बताएका छन्। “ढुक्क हुन रिजालले ओली, प्रचण्डलाई भेट्न चाहेका छन्। ओलीसँग भेट भएनछ। प्रचण्डसँग भेटेपछि रिजालले नेपाल सरकारबाट पाइरहेको सुविधा, जुन रोकिएको थियो, त्यो पनि पाउन थालेछन्,” वरिष्ठ अधिवक्ता नेउपानेले प्रश्न गरे, “अपराध बमोजिम अभियोग आयो त श्रीमान ?

यो बयानले नै अपराधको ‘जरिया’ थाहा हुने वरिष्ठ अधिवक्ता नेउपानेले जिकिर गर्दा इजलासमा बसिरहेका रिजाल चकित परेका थिए। केही बेर त उनले आफ्नो सीटबाट उठेर बहस सुनेका थिए।त्यस्तै, सचिव टेकनारायण पाण्डेले हिरासतबाटै पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई पठाएको पत्रले आज पनि प्रवेश पायो। यो पत्रको सन्दर्भ बहसका क्रममा नउठेको कुनै दिन छैन।

हिरासतबाट सचिवज्यूले चिठी लेख्नुभयो– यीभन्दा माथि अनुसन्धान नहोस्। भयो भने राजनीतिक रूपमा अप्ठ्यारो पर्छ। माथि अनुसन्धान रोक्न र पक्राउ परेकाको बयान फेराउन केपी बा, शेरबहादुर बालाई भेट भनियो,” नेउपानेको तर्क थियो, “प्रहरीले अनुसन्धान गरेर अभियोग त्यसरी नै ल्यायो। अनुसन्धान माथि गएन र जो होचो उसकै मुखमा घोचो भने झैं गिरोहका सदस्यलाई प्रलोभनमा परेर रकम बुझाउने रामशरण केसीहरू अभियुक्त बने।

हिरासतबाट लेखिएको पत्रको प्रसङ्ग बहसमा उठ्दा निलम्बित सचिव पाण्डे र पूर्व गृहमन्त्री खाण मुखामख गर्न पुगे। खाणको छेउमै रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले लामो श्वास तान्दै दिक्दारी भाव पोखे भने न्यायाधीश प्रेमप्रसाद न्यौपाने सधैं झैं यो प्रसङ्ग आउँदा मुस्कुराए।

हिरासतभित्रबाटै चिठी लेखिए अनुसार नै अनुसन्धान अपूरो भएकाले इजलासले विशेष अधिकार प्रयोग गरी एक महीनाभित्र पूरक अभियोजन ल्याउन आदेश दिनुपर्ने माग पनि नेउपानेले गरे। अपराधीलाई छुटाउने र निरपराधलाई सजाय दिने मनसाय सहित अनुसन्धान गरेकाले अपूरो अनुसन्धान पूरा गर्न अदालत बोल्नुपर्ने उनको तर्क थियो। “अदालतमै रिजालले यो प्रकरणमा जोडिएका नामहरू खुलाएका छन्,” वरिष्ठ अधिवक्ता नेउपानेले थपे, “अभियोग कागजी बाघ होइन भन्नलाई पनि अदालतले आफूमा अन्तर्निहित अधिकार प्रयोग गरेर पूरक अभियोग दर्ता गराउन आदेश दिनुपर्छ।”यो मुलुक सुधार्न नेताहरूले नचाहेकाले अदालतले यस्तो आदेश दिएर ‘बोल्ड’ निर्णय गर्नुपर्ने उनको तर्क थियो। “नेताहरूले हिजो मुलुक सिंगापुर, स्वीट्जरल्यान्ड बनाउँछु भने,” नेउपानेको भनाइ थियो, “यदि त्यस्तो समृद्ध बनाएको भए आज नेपालमा नक्कली भारतीय, नक्कली अंग्रेज वा नक्कली अमेरिकी शरणार्थी हाम्रो मुलुकमा रोजगारका लागि आउने थिए। नेताले गर्दा हाम्रो आगामी पुस्ताले पनि दुःख पाउने भएकाले अदालतले माथिकालाई अनुसन्धान गर भन्नुपर्छ। वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेको वहस जिकिर थियो।

हिमालखवर वाट




२०८० ज्येष्ठ ३० ०८:०३ बजे

प्रतिक्रिया