मुर्रा भैंसी र राँगोको चर्चा

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ २७ २०:०६ बजे
भुर्रा जातको राँगो

काठमाण्डौ।   सन् २०२० मा भारतको मिनिस्ट्री अफ एनिमल हस्बेन्ड्रीलाई उच्च प्रजनन मान भएको बीउ राँगो आपूर्तिका लागि औपचारिक रूपमा नेपाल सरकारले प्रस्ताव गरेको थियो। नेपालले निर्धारण गरेको प्राविधिक मापदण्ड बमोजिम नै १५ वटा उच्च नश्लका मुर्रा प्रजातिका पाडाहरू भारतीय पक्षले उपलब्ध गराउन लागेको जनाइएको छ।

यसरी प्राप्त हुने राँगाका सम्बन्धमा प्राविधिक निरीक्षणका लागि विज्ञ एवं प्राविधिकहरू छिट्टै भारतस्थित सम्बन्धित सरकारी फार्ममा जाने मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जनाएका छन्। प्राविधिक पक्ष टुङ्गिएपछि भारतीय पक्षले नेपालको भन्सार नाकासम्म राँगा ल्याइदिने सञ्जेलको भनाइ छ।

यसरी प्राप्त राँगालाई पशुसेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालयहरू पोखरा, नेपालगन्ज र लहानमा व्यवस्थापन गरी उच्च गुणस्तरको जमेको वीर्य उत्पादन गरी भैंसीलाई कृत्रिम गर्भाधान कार्यका लागि उपलब्ध गराउने मन्त्रालयले जनाएको छ। यी १५ वटा राँगाबाट तीन वर्षपछि वार्षिक एक लाख ५० हजार लाख डोज वीर्य उत्पादन भई कम्तीमा एक लाख भैंसीलाई कृत्रिम गर्भाधान गराई नश्ल सुधार गर्ने र यसले भैंसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि हुने मन्त्रालयको भनाइ छ।

कस्तो हुन्छ मुर्रा भैंसी ?

सरकारले भारतबाट १५ वटा मुर्रा राँगा ल्याउने विषयलाई लिएर विभिन्न चर्चा परिचर्चा भइरहेका छन्। मुर्रा प्रजातिको राँगाबाट कृत्रिम गर्भधान गराई नश्ल सुधार गर्न सके लाभदायक हुने किसान अगुवाहरू बताउँछन्।भारतमा मुर्रा प्रजातिको भैंसी किसानले असाध्यै मन पराइरहेका छन्। उत्तर प्रदेशको भदावरी, आगरा एवं इटवामा मुर्रा प्रजातिको नश्लको उत्पादन भएको मानिन्छ। हाल हरियाणा, पञ्जाब, राजस्थान लगायत राज्यका किसानले मुर्रा प्रजातिको भैंसी पालेर लाभ लिइरहेका छन्।

मुर्रा भैंसी पूर्ण रूपमा कालो रङको हुन्छ। पातलो र मुलायम छाला हुने मुर्रा भैंसीको सिङ चेप्टो र घुमाउरो, निधार सानो र चेप्टो, गर्धन लामो र पातलो अनि कल्चौंडो नाइटोदेखि पछाडि खुट्टाभन्दा बाहिरसम्म हुन्छ।मुर्रा सामान्य भैंसीको तुलनामा तीन गुणा बढी दूध दिने प्रजाति हो। खानपानमा विशेष ध्यान दिन सक्ने हो भने दैनिक २५ लिटरसम्म दूध दिने किसान बताउँछन्।

मुर्रा भैंसीका लागि खानपानमा विशेष ध्यान दिनैपर्छ। यसलाई प्रोटिन, क्याल्सियम, फोसफरस, भिटामिन ‘ए’ प्रशस्त पाइने खानेकुरा खुवाउनुपर्छ। घाँस, भुसा, दाना, मकै, गहुँ, गहुँको चोकर, ढुटो, जौ, बदाम, तिल, सोयाबिन, आलस, तोरी, सूर्यमुखी, बिग्रेको आलु समेत खुवाउन सकिन्छ।

नेपाली किसानका लागि फाइदा वा वेफाइदा ?

नेपालमा स्थानीय, लिमे, पार्कोटे, गड्डी, निली रभी लगायत विभिन्न प्रजातिका भैंसी पाल्ने गरिएको छ। कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार नेपालमा पालिने उन्नत प्रजातिका भैंसीमा अधिकांश मुर्रा प्रजातिका वर्णसंकर भैंसी रहेका छन्। यी भैंसीको सरदर दूध उत्पादन प्रतिबेत एक हजार ५०० लिटर, वयस्क भैंसीको सरदर तौल ४३० देखि ५०० किलोग्राम र वयस्क राँगोको तौल ५३० देखि ५७५ किलोग्राम हुने गरेको छ। मुर्रा प्रजातिको राँगाबाट प्राकृतिक गर्भाधान वा मुर्रा प्रजातिको राँगोको वीर्य प्रयोग गरी कृत्रिम गर्भाधानको विधिबाट प्रजनन गरिन्छ।

पोखराका आकाश तिमल्सिनाले चार वर्षदेखि मंगलम् कृषि फार्ममा पशुपालन गर्दै आएका छन्। फार्ममा १५० गाईभैंसी छन्। तिमल्सिनासँग मुर्रा प्रजातिको राँगाबाट नश्ल सुधार गरिएका भैंसी पनि छन्। सरकारले मुर्रा प्रजातिको राँगा ल्याई वीर्य सङ्कलन गरेर कृत्रिम गर्भाधान गराएर नश्ल सुधार गर्न लागेको सुन्दा उनी खुशी छन्।

सही तरीकाले राख्ने र खानपानको उचित व्यवस्थापन गर्दा मुर्रा प्रजातिका राँगाबाट गर्भाधान गराइएका भैंसीबाट मनग्य आम्दानी लिन सकिने तिमल्सिना बताउँछन्। “भारतको हरियाणा र नेपालको तराई क्षेत्रको भौगोलिक अवस्था र हावापानी उस्तै छ। सरकारले गर्न खोजेको एकदमै राम्रो काम हो,” कृषक तिमल्सिना भन्छन्, “प्रभाव कस्तो आउँछ, त्यो हेर्न पर्खनै पर्छ। काम सफल भयो भने नेपाली पशुपालक किसानलाई एकदमै राम्रो हुन्छ।”उनी खानपिनमा ध्यान दिने हो भने नेपालमा पनि मुर्रा प्रजातिको भैंसी पाल्न सकिने बताउँछन्। अन्य प्रजातिका भैंसीभन्दा मुर्राले धेरै गुणा बढी दूध दिइरहेको उनी सुनाउँछन्। नश्ल सुधारसँगै अध्ययन अनुसन्धानमा पनि जोड दिनुपर्ने र किसानलाई मुर्रा प्रजातिको भैंसी भारतबाट सजिलै ल्याउन सक्ने वातावरण बनाउनु नेपालका किसानहरु लाइ फाइदा हुने उनको सुझाव छ।



२०८० ज्येष्ठ २७ २०:०६ बजे

प्रतिक्रिया