खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन, योगगुरु बाबा रामदेव र प्रधानमन्त्री प्रचण्डको उपस्थिति रहने 

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ११ १५:०३ बजे

काठमाडौँ । सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड क्षेत्रमा पहिलो पटक अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन  आयोजना गरिने भएको छ । खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनमा  सम्मेलन हुन लागेको हो । उक्त क्षेत्रमा जेठ २३, २४  र २५मा  सम्मेलन आयोजना गरिन लागिएको हो । 

आन्तरिक एवं बाह्य पर्यटकलाई बढुवा दिन यस्तो सम्मेलनको आयोजना  गरिन लागेको हो । उक्त कार्यक्रममा योगगुरु बाबा रामदेब र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उपस्थित रहने जनाइएको छ । प्रदेश सरकार, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको पहलमा सम्मेलन हुन लागेको हो। सम्मेलनमा भारतीय योगगुरु बाबा रामदेवसँगै बालकृष्ण आचार्यको पनि सहभागिता रहने सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले  जानकारी गराएका छन् । 

तीन दिनसम्म चल्ने सम्मेलनका लागि मुख्यमन्त्रीको संयोजकत्वमा ४०१ सदस्यीय मूल तयारी समिति समेत गठन भइसकेको छ। सो समितिअन्तर्गत १२  उपसमिति गठन गरिएका छन्। यसै गरी सम्मेलन आयोजनाका लागि प्रदेश सरकारअन्तर्गत रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहको संयोजकत्वमा तयारी तथा व्यवस्थापन समिति गठन गरिएको छ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्रीले गर्ने कार्यसूची रहेको छ । सम्मेलनमा पूर्वप्रधानमन्त्रीहरु, मन्त्री, सङ्घीय संसद्का सांसद, आध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तिलगायत सहभागी हुने खप्तड क्षेत्र पर्यटन तथा व्यवस्थापन समितिका जानकारी गराएको छ । सम्मेलनमा सुदूरपश्चिमका ८८ वटै स्थानीय तहका प्रमुख, सञ्चारकर्मी, पर्यटन व्यवसायी लगायत सहभागी रहने जनाइएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ, डोटी र अछामको केन्द्रमा रहेको खप्तड समुद्री सतहबाट ३२ सय मिटरको उचाइमा छ। खप्तड क्षेत्र प्रकृति, पर्यापर्यटन, आध्यात्मिकलगायत दृष्टिले महत्त्वपूर्ण छ। 

खप्तड क्षेत्रमा खप्तड बाबाले पाँच दशकसम्म साधना गरेका थिए। सो  क्षेत्रमा खप्तड बाबाको कुटी, सहस्त्र लिङ्ग, विभिन्न २२ पाटन, ५३ झोती (टापु)लगायतका आकर्षक संरचना छन्। खप्तड राष्ट्रिय निकुञ्जसमेत रहेको सो क्षेत्र झन्डै २२५ वर्ग किलोमिटरमा फैलिएको छ। खप्तडमा अहिलेसम्म सडक मार्ग भने पुग्न सकेको छैन।

२०८० ज्येष्ठ ११ १५:०३ बजे

प्रतिक्रिया