जन्मदै ७४ हजार ऋण वोक्छन नेपालीहरु , भ्रष्टाचार वढ्दो

देशको कुल ऋण साढे २१ खर्ब नाध्यो

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ९ ११:११ बजे

काठमाडौं ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ अनुसार कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ। कुल सार्वजनिक ऋणलाई कुल जनसङ्ख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण ७३ हजार ८६० रूपैयाँ बराबर पर्न जान्छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वैशाख मसान्तसम्ममा नेपालले १० खर्ब ८३ अर्ब ४७ करोड ४९ लाख रूपैयाँ आन्तरिक र १० खर्ब ७० अर्ब ६४ करोड ९० लाख बाह्य गरी कुल २१ खर्ब ५४ अर्ब १२ करोड ३९ लाख रूपैयाँ बराबर ऋण तिर्न बाँकी रहेको देखिएको हो। 

चालू आर्थिक वर्ष ०७९र८० शुरु हुँदा अर्थात् गत वर्ष असार मसान्तसम्ममा नेपालको सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख रूपैयाँ बराबर थियो।चालू आर्थिक वर्षको पछिल्लो १० महिना अवधिमा मात्र १ खर्ब ४० अर्ब ८२ करोड ७५ लाख रूपैयाँ बराबर ऋण थपिएको हो।

चालु आर्थिक वर्षको १० महिनामा सरकारले आन्तरिक ऋणको साँवा ब्याज भुक्तानीमा १ खर्ब १० अर्ब ४२ करोड ५८ लाख र बाह्य ऋणको साँवा ब्याज भुक्तानीमा ३२ अर्ब ९९ करोड ६२ लाख रूपैयाँ खर्चिएको छ।

आन्तरिकतर्फको साँवा रकम ६३ अर्ब ४७ करोड ४४ लाख रूपैयाँ, ब्याज ४६ अर्ब ८५ करोड ३ लाख रूपैयाँ र कमिसन रकम १० करोड ११ लाख रूपैयाँ बराबर रहेको छ।

बाह्य ऋणतर्फ साँवा भुक्तानीमा २५ अर्ब ९४ करोड ४८ लाख रूपैयाँ र ब्याज भुक्तानीमा ७ अर्ब ५ करोड १४ लाख रूपैयाँ बराबर खर्च भएको कार्यालयले जनाएको छ।

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म सरकारले उठाएको आन्तरिक ऋण १ खर्ब ५९ अर्ब ५० करोड रूपैयाँ र बाह्य ऋण ७० अर्ब ७४ करोड रूपैयाँ बराबर रहेको छ।

देशमा आत्मनिर्भर अर्थतत्र निर्माण नहुने हो  र भ्रष्टाचारी प्रति सरकार निर्मम भएन भन्ने ऋण दिन प्रतिदिन थपिदैे जाने आर्थिक मामिलाका विज्ञहरुले वताएका छन।


  


२०८० ज्येष्ठ ९ ११:११ बजे

प्रतिक्रिया