नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिनेको सङ्ख्या बढ्दै 

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियासलाई प्रहरी आज पक्राउ गरेसँगै पक्राउ पर्नेको सङ्ख्या १५ पुगेको हो

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ४ १३:०१ बजे

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेहरूको सङ्ख्या १५ पुगेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियासलाई प्रहरी आज पक्राउ गरेसँगै पक्राउ पर्नेको सङ्ख्या १५ पुगेको हो । 

प्रहरीले अनुसन्धानका क्रममा  नेकपा एमालेका सचिव टोप बहादुर रायमाझी र पूर्व गृहमन्त्री बाल कृष्ण खाँणसहितका अन्य चौध जनालाई पक्राउ गरेको थियो ।

यो प्रकरणमा नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्र जित राई समेत पक्राउ परेका छन् । यस्तै काँग्रेसका पूर्व सभासद आङ्टावा शेर्पा समेत पक्राउ परेका छन् । 

२०७९ चैत १२ मा  केशव दुलाल, पाँचथरका टङ्क गुरुङ र ललितपुर घर भएका सानु भण्डारी पक्राउ परेका थिए । यस्तै चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परेका थिए । 

यस्तै पूर्व गृहमन्त्री खाँणका निजी सचिव नरेन्द्र केसी, सन्देश शर्मा, सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी पनि पक्राउ परेका छन् । मियाबाहेक अन्य १४ जनाविरुद्ध बुधवार ३ दिनको म्याद थप भएको थियो । 

२०८० ज्येष्ठ ४ १३:०१ बजे

प्रतिक्रिया