टोपबहादुर रायमाझीलाई म्याद थपका लागि अदालत लगिँदै

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ १ १०:१७ बजे

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई आज अनुसन्धानका लागि म्याद थपका लागि अदालत लगिने भएको छ । आइतबार राति काठमाडौँको बुढानीलकण्ठबाट पक्राउ परेका टोपबहादुरलाई आज अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौँ जिल्ला अदालतमा पेस गर्ने काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । टोपबहादुर फरार थिए, छोरा सन्दीप भने यसअघि नै पक्राउ परिसकेका छन् । अदालतले म्याद दिएपछि रायमाझीमाथि थप अनुसन्धान हुने छ ।

रायमाझीलाई ठगी गर्ने गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको आरोप लागेको छ । उनको सहयोगमा नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने गिरोहले गृह मन्त्रालयसम्म पनि बलियो पहुँच बनाएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

यसअघि यही प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलगायत उच्चपदस्थ व्यक्तिहरू पक्राउ परेका छन् । उनीहरू माथि म्याद थप गराइ प्रहरीले अनुसन्धान गरिरहेको छ ।

२०८० ज्येष्ठ १ १०:१७ बजे

प्रतिक्रिया