अमेरिकी साम्राज्यवाद विरुद्ध मेचि- महाकाली कार्यक्रम

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ १ ०८:४४ बजे

धनगढी। हिजो धनगढीमा राष्टिय जनमोर्चाले एक पत्रकार सम्मेलन गरी अमेरिकी साम्राज्यवादका विरुध्द मेची- महाकाली अभियान सञ्चालन गर्ने वताएका छन। विज्ञप्तिमा भनिएको छ- नेपालमा दिनप्रति दिन अमेरिकी साम्राज्यवादको प्रभाव र प्रभुत्व बढ्दै गइरहेको छ । अमेरिकी साम्राज्यवादका विरुद्धको संघर्षलाई अगाडि बढाउन ध्यान दिन नसकिएमा देशको राष्ट्रियता सार्वभौमसत्ता र अखण्डतामाथि गम्भीर आघात पुग्ने स्थिति देखा परिरहेको छ । देशको राष्ट्रियताको रक्षाका लागि देशभक्त नेपालीहरुले लामो समयदेखि भारतीय साम्राज्यवाद विरुद्ध संघर्ष गर्दै आउनु परे पनि अमेरिकी साम्राज्यवादका विरुद्ध यसरी संघर्ष गर्नुपरेको थिएन । तर अब नेपालको राष्ट्रियतालाई भारतीय साम्राज्यवादबाट मात्र नभएर अमेरिकी साम्राज्यवादबाट समेत खतरा उत्पन्न भएको छ । त्यसैले अमेरिकी साम्राज्यवादका विरुद्धको संघर्षमा जोड दिनुपर्ने आवश्यकता छ ।

वर्तमान विश्व परिवेशमा शीतयुद्धको समाप्तिपछि अमेरिकी साम्राज्यवाद हिन्दप्रशान्त क्षेत्रमा भारतलाई सुरक्षा साझेदार बनाएर चीन, उत्तरकोरिया तथा रुसका विरुद्ध मोर्चाबन्दी गर्न हिन्दप्रशान्त सैन्य रणनीतिअन्तर्गत काम गरिरहेको छ । अमेरिकाले नेपाललाई आफ्नो आधारक्षेत्र बनाएर चीनका विरुद्ध केन्द्रित हुनका लागि नेपालमा विभिन्न प्रकारले आफ्ना गतिविधि तीव्र पारिरहेको छ । अमेरिकाद्वारा नेपालमा सञ्चालित अन्तराष्ट्रिय गैरसरकारी संस्था, नेपालमा लोभप्रलोभन र भ्रममा पारेर धर्मान्तरणलाई तीव्र पारी इसाइकरणको माध्यमद्वारा, संसदद्वारा पारित गरिएको एमसिसी सम्झौता नेपालमा आफ्नो सेना उतार्न अमेरिकाले गरिरहेको विभिन्न षड्यन्त्र, संविधान निर्माणको क्रममा पहिचानको राजनीति, एक मधेस एक प्रदेश, जातीय राज्यसहितको संघीयताको एजेन्डालाई नेपालमा लागू गर्न पश्चिमा शक्तिहरूले व्यापकरुपमा गरेको आर्थिक लगानी र पछिल्लो समयमा नेपालको सुक्ष्म व्यवस्थापन गर्न अमेरिकाद्वारा कथित स्वतन्त्र पार्टीको निर्माणबाट पनि अमेरिकाले नेपालमा आफ्नो प्रभुत्व बढाउँदै लगेको छ । अमेरिकाले कथित स्वतन्त्र पार्टी मार्फत नेपालको सरकारमाथि प्रभुत्व कायम गरेर आफ्ना साम्राज्यवादी स्वार्थ लाद्न खोजिरहेको हुनाले त्यसबाट देशको राष्ट्रियतामाथि गम्भीर दुष्परिणाम देखापर्ने खतरा देखिएकोले देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षाका लागि अमेरिकी साम्राज्यवादका विरुद्ध संघर्षमा जोड दिनुपर्ने आवश्यकता देखिएको छ ।

 अमेरिकी साम्राज्यवादबाट मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामाथि देखिएको खतराका विरुद्ध जनजागरण सञ्चालन गर्ने उद्देश्यले हाम्रो पार्टीले जेठ १ देखि १५ गतेसम्म अमेरिकी साम्राज्यवादका विरुद्ध मेची–महाकाली अभियान सञ्चालन गरेको महासचिव मनोज भट्टले वताए। । 

 राष्ट्रिय जनमोर्चाले नेपालमा अमेरिकी साम्राज्यवादको बढ्दो खतराको गम्भीरतामाथि ध्यान दिँदै अमेरिकी साम्राज्यवादका विरुद्ध सञ्चालित मेची–महाकाली अभियानलाई दुई भागमा विभाजित गरी सम्पन्न गर्ने योजना बनाएको छ । त्यस अनुसार दुवै भागहरुका अभियानहरू यही जेठ १ गते महेन्द्रनगर र बाग्लुङमा उद्घाटन गरिने छन् र दुवै अभियानहरुको जेठ १५ गते एकै दिन बुटवल र काठमाडौमा समापन गरिने  राजमो नेता नन्दराज भट्ट ले वताएका छन।  



२०८० ज्येष्ठ १ ०८:४४ बजे

प्रतिक्रिया