कक्षामा १२ 'नन ग्रेड'आए सबै विषयको परीक्षा दिने झनजटिलो व्यवस्था हट्यो 

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख २२ १५:११ बजे

काठमाडौँ ।  कक्षा १२ मा दुई वा दुई भन्दा कम विषयमा मात्र एनजी आउँदा ती विषयहरूमा मात्रै ग्रेड वृद्धि परीक्षा सोही वर्ष दिन पाउने र दुई भन्दा बढी विषयमा एनजी ल्याएको अवस्थामा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यात्मक व्यवस्था हटेको छ । 

कक्षा १२ का विद्यार्थीले एनजी (नन ग्रेड) आएको विषयमा मात्र ग्रेड वृद्धि परीक्षा दिन पाउने भएका छन् । सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्दै जति वटा विषयमा एनजी आएको छ त्यो विषयमा मात्र परीक्षा दिनुपर्ने  व्यवस्था  गरेको हो । 

बिहीबार बसेको मन्त्रीस्तरीय बैठकले विद्यार्थीले दुई वा दुई भन्दा कम विषयमा एनजी आएको अवस्थामा सोही वर्ष र त्यस भन्दा माथि जति विषयमा एनजी ल्याउँछन् ती विषयमा मात्र तीन वर्षसम्म परीक्षा दिने पाउने निर्णय गरेको हो । एक पटक तोकिएको न्यूनतम ग्रेड प्राप्त गरेपछि सोही विषयमा दोहोर्‍याएर परीक्षा दिन उपयुक्त नहुने भएकोले संशोधन गरिएको जनाएको छ । 

दुई विषय भन्दा माथि विषयमा एनजी लाग्दा सोही कक्षामा दोहोर्‍याएर पढ्न अथवा सबै विषयको परीक्षा दिने गाह्रोले कतिपय विद्यार्थी पढ्न छोड्ने भएकोले कक्षा १२ पछिको ड्रप आउट रोक्नको लागि यो निर्णय गरिएको  जनाइएको छ । 

पहिला नै पास गरिसकेको विषयमा फेरि पढेर परीक्षा दिनुपर्दा विद्यार्थीमा नैराश्यता छाउने र जुन विषयमा लागेको छ त्यही विषयमा परीक्षा दिन पाउँदा विद्यार्थीमा सकारात्मक उत्प्रेरणा मिल्ने जनाइएको छ । 

निर्देशिकाको दफा ७ (ङ) संशोधन गर्दै ‘नियमित तथा ग्रेड वृद्धि परीक्षामा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीहरूले जुन जुन विषयमा ग्रेड प्राप्त गर्न नसकेको हो सोही सोही विषयमा मात्र परीक्षा दिन पाउने व्यवस्था गरेको छ ।

यो संशोधित निर्देशिका गत वर्षको विद्यार्थीहरूमा समेत लागू हुने भएको छ । जस अनुसार गत वर्ष दुई भन्दा बढी विषयमा एनजी ल्याएका ५८ हजार विद्यार्थीलाई सहज हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा यो निर्णयले गत वर्ष तीन विषय भन्दा बढी विषयमा एनजी ल्याएको करिब ५८ हजार विद्यार्थीलाई राहत मिल्ने  बताएका छन् । 

२०८० वैशाख २२ १५:११ बजे

प्रतिक्रिया