छोरो रुँदै हिरासतमा आफू जोगिन पावर लगाउँदै टोपबहादुर

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख २२ ०९:३५ बजे

काठमाण्डौ।पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी बुधबार बेलुकी एकाएक गायब भए। अर्घाखाँचीबाट काठमाडौं जाने भनेर हिँडेका उनले बेलुकी ९ बजेतिर मोबाइल फोन बन्द गरे।

भैरहवाबाट काठमाडौं आउन काटिसकेको प्लेनको टिकट पनि क्यान्सिल गरे। ठिक त्यही समयमा उनका छोरा सन्दीप रायमाझीलाई प्रहरीले बुटवलबाट पक्राउ गर्यो।नक्कल शरणार्थी प्रकरणमा जोडिएपछि छोरासँगै उनलाई पनि पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति पाइसकेको थियो।

पक्राउ पुर्जी जारी भइसकेपछि पनि कानुन कार्यन्वयनमा सहयोग गर्ने प्रतिक्रिया नेकपा एमालेका सचिवसमेत रहेका टोपबहादुरले सन्धिखर्कमै पत्रकारहरूलाई दिएका थिए।रायमाझी आफैँ काठमाडौं फर्किन लागेकाले प्रहरीले दिउँसो उनलाई नियन्त्रणमा लिएन। साँझ भैरहवा वा काठमाडौं विमानस्थलबाटै पक्राउ गर्ने तयारी प्रहरीले गरेको थियो।

तर काठमाडौं फर्किन भैरहवा विमानस्थल आउँदै गर्दा उनी सम्पर्कविहीन बने। प्रहरीले बुधबारदेखि नै उनको खोजी जारी रहेको बताएको छ। तर बिहीबार बेलुकीसम्म पनि पक्राउ गर्न सकेको छैन।

उनका छोरा सन्दिप  लाइ बिहीबार दिउँसो  जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि  उपस्थित गराइएको थियो। काठमाडौं परिसरले सन्दीपलाई पनि अरु थुनुवासँगै परिसरबाट बबरमहलस्थित अदालत पुर्याएको थियो।

अदालतले उनलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइसकेको छ। तर उनीहरुविरुद्ध संगठित अपराधमा अनुसन्धान भइरहेकाले प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ।

काठमाडौं परिसरको हिरासत छिर्दै गर्दा उनी डाँको छाडेर रोएका थिए। परिसरका एक अधिकारीले भने, ‘जब गाडीबाट झारेर हिरासत कक्षतिर लैजान थाल्यौँ, उनी पूरै डाको छोडेर रुन थाले।सन्दीपविरुद्ध पनि नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोप छ।

टोपबहादुर पनि यही प्रकरणमा जोडिएका हुन्। टोपबहादुरले पनि ठगी गरेको पुष्टि हुने प्रमाण फेला परिसकेको प्रहरीको दाबी छ।टोपबहादुरको खोजी भइरहँदा उही मुद्दामा उनका छोरा सन्दीप भने हिरासतमा परेका छन्। यही हिरासतमा छन् करिब १२५ जना थुनुवा। यहाँ पुरुषका लागि एउटा र महिलाका लागि अर्को कोठा छ।

पुरुषको थुनुवा कक्षमा सन्दीप परेकै मुद्दाका अभियुक्तहरु अरु दुई जना पनि छन्। पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र विचौलिया सन्देश शर्मालाई यही कोठामा राखिएको छ।सन्दीप पसेसँगै यो हिरासतमा भुटानी शरणार्थी बनाएर ठगी गर्ने मुद्दाका तीन जना भएका छन्।

प्रधानमन्त्री प्रचण्डलाई भेटेर ओलीले रायमाझीलाई पक्राउ गर्न लागेको भन्दै आपत्ति जनाएका थिए।प्रधानमन्त्रीसँगको छलफलपछि उनले सञ्चारमाध्यममा पनि यस्तै प्रतिक्रिया दिए। सांसद समेत रहेका रायमाझीलाई बाटोबाटै पक्राउ गर्नु रहस्यमय भन्दै आपत्ति जनाए।उपप्रधानमन्त्री भइसकेको मान्छे भागेर कतै नजाने भन्दै निर्दोष नफसोस भन्नेमा आफूले सचेत गराएको बताए।

प्रचण्डसँगको भेटपछि ओलीले भने, ‘बयानमा तानिएका हुन् कि तनाइएको हो हामी अध्ययन गर्दैछौँ। अध्ययन गरेर हामी आफ्नो धारणा बाहिर ल्याउँछौं। दोषि उम्कन हुँदैन तर निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौँ।’

एमाले उपाध्यक्ष बादलनिकट केही मान्छे र अख्तियार प्रमुख प्रेमकुमार राईको बारेमा पनि ओलीले प्रचण्डसँग चासो राखेका थिए। उनीहरुको पनि नाम यो ठगी प्रकरणमा जोडिएको छ।

पक्राउ परेका दलालले उनीहरु पनि संलग्न रहेको बयान दिइसकेका छन्। तर अहिलेसम्म थप प्रमाण फेला परिनसकेको र बयानकै आधारमा पक्राउ गर्न नमिल्ने प्रहरी अधिकारी बताउँछन्।

ओली र प्रचण्डको यो भेटपछि रायमाझीको निगरानीमा रहेका प्रहरीहरु फर्किए। परिसरका एक अधिकारीले भने, ‘भोलि र पर्सि सार्वजनिक बिदा भएर हो कि, आइतबार आफैं उपस्थित हुनुहुन्छ होला ?

काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले भने खोजी जारी रहेको तर फेला नपरेको प्रतिक्रिया दिएका छन्।

यो घटनामा अहिलेसम्म पीडित भनिएका १०६ जनाले उजुरी दिइसकेका छन्। उनीहरुको २३ करोड २५ लाख रुपैयाँ ठगी भएको दाबी छ। पीडितहरूको संख्या अझै बढ्न सक्ने प्रहरी अनुमान छ।


२०८० वैशाख २२ ०९:३५ बजे

प्रतिक्रिया