‘हाई प्रोफाइल’ कनेक्सन

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख २१ ०८:५१ बजे

काठमाडौँ  । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी धन्दा चलाएको आरोपमा ‘हाई प्रोफाइल’ अनुहारहरू धमाधम पक्राउ पर्दै छन् । मंगलबार संविधानसभा सदस्य तथा गृहमन्त्रीका पूर्वसल्लाहकार डा. इन्द्रजित राई पक्राउ परेसँगै सुरु भएको यसको सिलसिला बुधबार पनि रह्यो र अझै केही दिन चल्ने देखिएको छ ।

ठगी धन्दा चलाउने गिरोहसँग मिलेमतो गरेको देखिएपछि बुधबार गृह मन्त्रालयका पूर्वसचिव तथा उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे पक्राउ परे । गृह सचिव भएका बेला ठगी गिरोहसँग साँठगाँठ गरेको आरोपमा उनीविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएपछि बुधबार उनले जिल्ला प्रहरी परिसर काठमाडौँमा आत्मसमर्पण गरेका थिए । यो प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ भने थप ४ जनाका लागि पक्राउ पुर्जी जारी भइसकेको अवस्था छ ।

भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै लाखौँ रुपैयाँ ठगेको उजुरी उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेपछि गत चैतमा ५ जनालाई पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल र सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङ थिए । 

दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री भएका बेला उनको सचिवालयमा निजी सहायकका रूपमा कार्यरत थिए भने भण्डारी तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीका सहयोगी थिए । गृह मन्त्रालयकै आडमा उक्त गिरोहले भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सयौँ जनासँग १ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेका थिए । जसमध्ये १६० जनाले प्रहरीमा उजुरी दिएका थिए ।

उक्त गिरोहले झापा, मोरङ, सुनसरी, कास्की, बाग्लुङलगायत जिल्लाका मानिसहरूलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै रकम असुली गरेको अनुसन्धानमा खुलेको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै असुली गरिएकोबारे २०७८ सालमै अख्तियारमा उजुरी परेको थियो । 

उनीहरूकै बयानका आधारमा अहिले हाई प्रोफाइल नेता तथा कर्मचारीहरू पक्राउ परिहरेका छन् । उनीहरूको बयान लिने क्रममा एमाले नेता रामबहादुर थापा (बादल) र कांग्रेस नेता बालकृष्ण खाँण गृहमन्त्री भएका बेला उनीहरूले कर्मचारी प्रशासन र सचिवालयको प्रयोग गरी नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको खुलेको थियो । अनुसन्धानका क्रममा नक्कली भुटानी शरणार्थी बनाउनेको सूचीमा ८०० बढीको नाम समावेश गरिएको पाइएको छ ।

उक्त गिरोहमा रहेका केही व्यक्तिहरूकै बयानका आधारमा अहिले नेकपा एमालेका सचिव तथा अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीविरूद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ । उनीसँगै उनका छोरा सन्दीप रायमाझी पनि यस प्रकरणमा मुछिएका छन् । सन्दीपविरूद्ध पनि जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरिसकेको छ ।

 एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापाविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । पक्राउ परेका व्यक्तिहरूको बयानका आधारमा उनीहरू विरुद्ध पक्राउ पुजी जारी गरिएको प्रहरी स्रोतले बताएको छ । पक्राउ परेकाहरूमाथि अहिले ठगी तथा संगठित अपराध कसुरमा अनुसन्धान भइरहेका छ ।

२०८० वैशाख २१ ०८:५१ बजे

प्रतिक्रिया